फ्र्यांकफर्ट मोटर शो  यी हुन् लोकप्रिय पाँच कार 

- साप्ताहिक संवाददाता

आश्विन ५, २०७६

जर्मनीको फ्रयांकफर्टमा युरोपकै सबैभन्दा ठूलो मानिने फ्रयांकफर्ट मोटर शो चलिरहेको छ । गत सेप्टेम्बर १२ मा प्रारम्भ भएको उक्त मोटर शो आगामी सोमबार अर्थात् सेप्टेम्बर २२ सम्म चल्नेछ । १२ वटा भवन तथा ४ लाख वर्गमिटरमा फैलिएको यो मोटर शो करिब ७५ वटा फुटबल ग्राउन्ड जत्तिकै ठूलो छ । मोटर शोमा प्रदर्शित नयाँ गाडीहरूमध्ये लोकप्रिय मानिएका ५ इलेक्ट्रिक गाडी : 

ल्यान्डरोभर डिफेन्डर

लक्जरी कार निर्माता कम्पनी ल्यान्डरोभरले मोटर शोमा डिफेन्डर एसयूभी सार्वजनिक गरेको छ । यसको डिजाइन पूरै परिवर्तन गरिएको छ । कम्पनीका अनुसार उक्त एसयूभीका लागि अलग–अलग ६२ हजार परीक्षण गरिएको थियो । यसमा ल्यान्डरोभरको बक्सी आकारलाई केही परिमार्जन तथा नयाँ प्रविधिका साथ प्रस्तुत गरिएको छ । यसको हाइब्रिड अप्सनले ३ सय ९५ एचपी पावर दिन्छ । 

फक्सवागन आईडी थ्री

फक्सवागनले विभिन्न तीन भेरिएन्टमा इलेक्ट्रिक कार आईडी थ्री उपलब्ध गराएको छ । यो कार अर्को वर्षदेखि मात्र युरोपका सडकमा गुडेको देख्न पाइनेछ । फक्सवागन आईडी थ्री इलेक्ट्रिक ह्याचब्याक कार हो । कम्प्याक्ट भए पनि यो कारमा पर्याप्त स्थान उपलब्ध छैन । यो कारमा एलईडी हेडलाइट्स प्रयोग गरिएको छ । यो ह्याचब्याक इलेक्ट्रिक कारमा ५ जना यात्री बस्न सक्छन् । यो कारको फुल कलर इन्स्ट्रयुमेन्ट क्याविन निकै हाई टेक छ । यसमा आईडी ३ एपको मदतले स्मार्टफोन कनेक्टिभिटीको सुविधा समेत उपलब्ध छ ।

ल्याम्बोर्गिनी सियान एफकेपी ३७

ल्याम्बोर्गिनीको यो सानदार कार निकै चर्चामा छ । यो कम्पनीको पहिलो हाइब्रिड सुपरकार हो । कम्पनीले यो कार जम्मा ६३ युनिट मात्र उत्पादन गर्ने बताएको छ । त्यसैगरी यी सबै कार पहिले नै बुकिङसमेत भैसकेका छन् । यसमा भएको भी१२ पावरट्रेनले ८ सय १९ एचपी पावर दिन्छ भने यसले २ दशमलव ८ सेकेन्डमै ६२ माइल सम्मको दूरी पार गर्छ । 

पोस्र्चे टेक्यान

पोस्र्चे कम्पनीको पहिलो इलेक्ट्रिक कार हो टेक्यान । अर्को वर्ष बजारमा आउने यो कार दुई भेरिएन्टमा उपलब्ध हुनेछ । टेक्यानको अर्थ जीवित र युवा घोडा हुन्छ । यो कार टर्बो र टर्बो एस गरी दुई मोडलमा तयार पारिएको छ । दुवैमा ९३ दशमलव ४ किलोवाट आवरको ब्याट्री प्रयोग गरिनेछ । ओभरबुस्ट फङ्सन प्रयोग गरेर यसको गति बढाउन सकिन्छ । 

होन्डा ई

होन्डाको इलेक्ट्रिक कार ई पनि निकै चर्चामा छ । यो कार दुई भेरिएन्टमा उपलब्ध हुनेछ, जसमा भर्चुअल विङ मिररका साथै ड्यासबोर्डमा ६ स्क्रिन छन् । यसको ककपिटमा १२ इन्चको एलसीडी छ । यो कारमा होन्डा पार्किङ पाइलट सफ्टवेयर प्रयोग गरिएको छ भने बेस मोडलले १ सय ३४ एचपी तथा एड्भान्स मोडलले १ सय ५२ एचपी पावर दिन्छ । 

प्रकाशित :आश्विन ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्