साप्ताहिक संवाददाता
वर्तमान विश्वमा प्रसारणको भरपर्दो माध्यम युट्युब भएको छ । आफ्नै युट्युब च्यानल खोलेर त्यसको सब्स्क्राइबर बढाएर राम्रा–नराम्रा जस्तासुकै सामग्री अपलोड गर्ने चलन बढ्दै गएको छ । युट्युबको बढ्दो लोकप्रियताले विशेषत: दृश्य प्रसारण माध्यम टेलिभिजनको लोकप्रियता घट्न थालेको चर्चा पनि नचलेको होइन । नेपालमा पनि पछिल्ला दुई वर्षयता युट्युब आतंक व्याप्त छ । पछिल्लो समयमा वेब सिरिजअन्तर्गत विभिन्न कार्यक्रम निर्माण गरेर युट्युबमार्फत प्रसारण भैरहेका छन्, यद्यपि लोकप्रियता भने टेलिभिजनका कार्यक्रमकै बढी छ ।
टेलिशृंखला ‘जीरे खुर्सानी’का निर्माता, निर्देशक तथा कलाकार जितु नेपाल यतिबेला नेपाल टेलिभिजनमा कमेडी शो ‘मुन्द्रे कमेडी क्लब’ चलाइरहेका छन् । उनको कार्यक्रम युट्युबमा पनि आउँछ । ‘मेरो शो युट्युबमा भन्दा टेलिभिजनमा हेर्ने दर्शकको संख्या बढी छ । युट्युबमा पनि दर्शक राम्रै छन् । कार्यक्रमका लागि नेपालबाहिर जाँदा पनि धेरैजसोले टेलिभिजनमै कार्यक्रम हेरेको बताउनुहुन्छ’, जितु भन्छन्, ‘नेपालमा टेलिभिजनमा हेर्न छुटेकाले मात्र युट्युबमा हेर्छन्, धेरैले टेलिभिजनमै हेर्ने गरेका छन् ।’
नेपाल टेलिभिजनमै प्रसारण हुने टेलिशृंखला ‘भाग्य आ–आफ्नो’ को दोस्रो संस्करण ‘भाग्य आ–आफ्नो–२’ अहिले डिस होमअन्तर्गतको रमाइलो टिभीमा नियमित प्रसारण भैरहेको छ । टेलिशृंखलाका निर्देशक रमेश कोइरालाका अनुसार यो शृंखला हेर्ने दर्शक युट्युबमा भन्दा टेलिभिजनमै बढी छन् । ‘डिस होमका दर्शक सहरमा भन्दा बढी गाउँमा छन् । इन्टरनेट सेवा पुगेर पनि युट्युब चलाउन नजान्ने दर्शकको संख्या हाम्रो श्रृंखलामा उच्च छ’, रमेश भन्छन्, ‘डिस होमले गरेको सर्वेक्षणमा अमेरिकामा ३२ प्रतिशत नेपालीले हेरेको पायौं । नेपालभन्दा बाहिरका दर्शकको संख्या उल्लेख्य छ । नेपाली भाषा तथा नेपालीपन देखाइने भएकाले पनि टिभीमा दर्शकको संख्या राम्रो पाएका छौं ।’ निर्देशक कोइरालाले युट्युबमा पनि ‘भाग्य आफ्नो’को दर्शक संख्या राम्रो रहेको दाबी गरे ।
टेलिभिजनमा दर्शकको सख्ंया राम्रो पाउनेमा जितु र रमेश त उदाहरण मात्र हुन् । सरकारी होस् वा निजी टेलिभिजनमा प्रसारण भएका शृंखलाका दर्शकको संख्या ठूलै छ । टेलिशृंखलाहरूले गाउँको परिवेश तथा सामाजिक विषयवस्तुलाई हास्यपरकसँगै गम्भीर भावले उठाउन थालेपछि टेलिभिजनका दर्शकहरू बढिरहेका छन् । खास गरी इन्टरनेटको सुविधा नपुगेका स्थानमा टेलिभिजनको लोकप्रियता निकै छ ।
वातावरण मन्त्रालयले निर्माण गरेको टेलिशृंखला ‘स्वच्छ वातावरण, स्वस्थ्य जीवन’ केही समयअघि नेपाल टेलिभिजनबाट ६ भाग प्रसारण भएको थियो । अहिले यो शृंखला टेलिभिजनमा पुन: प्रसारण भैरहेको छ । शृंखलाका निर्देशक पवन केसीका अनुसार अहिले टेलिभिजनको तुलनामा युट्युबमा शृंखला हेर्ने दर्शकको संख्या बढ्दो छ । ‘टेलिभिजनमा समय पर्खिनुपर्छ, तर युट्युबचाहिँ सजिलै र तुरुन्तै हेर्न सकिन्छ । मलाई लाग्छ, अबको दिनमा दर्शकलाई टेलिभिजन पनि चाहिँदैन,’ –पवन भन्छन् ।
यता कान्तिपुर टेलिभिजनमा झन्डै ६ वर्षसम्म कमेडी हास्यशृंखला ‘डिट्ठा साब’ को निर्देशन गरेका किशोर भण्डारी यतिबेला नयाँ शृंखलाको तयारीमा छन् । कान्तिपुर टेलिभिजनसँगको सहकार्यको अनुभवमा किशोर टेलिभिजनका दर्शक राम्रो भएको बताउँछन् । ‘अनुसन्धानमा पनि युट्युबमा भन्दा टेलिभिजनमै दर्शक संख्या बढी पायौं । नेपालका गाउँमा, इन्टरनेट नभएको ठाउँमा डिस होम र केबल च्यानलले गर्दा पनि टेलिशृंखलाका दर्शकको संख्या राम्रो छ । ग्रामीण भेगमा कार्यक्रम गर्न जाँदा पनि तपाईं डिट्ठा सा’ब हो है भनेर ‘अहिले मारिदिन्छु नि’ भन्छन् ।’ किशोरको बुझाइमा नेपालमा युट्युब सर्च गरेर शृंखला हेर्ने दर्शक अत्यन्त कम छन् । प्राय:ले टेलिभिजनमै कार्यक्रम हेरेर प्रतिक्रिया दिन्छन् । केहीले मात्र युट्युबमा हेरेको बताउँछन् ।