अनमोल केसी पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता हुन् । हाल ‘धुपौरे’ चलचित्रको वर्कशपमा व्यस्त अनमोलले यसअघि होम प्रोडक्सनबाट निर्माण हुने चलचित्र ‘एन्टि भाइरस’ मा काम गर्ने हल्ला थियो । तर, उक्त चलचित्रको प्राविधिक काम छिट्टै नसकिएपछि त्यसभन्दा अघि अनमोलले ‘धुपौरे’मा जोडिने निर्णय गरेका हुन् ।
सामतेन भुटियाले निर्देशन गर्ने यो चलचित्रको कथा दमदार भएका कारण अनमोलले काम गर्ने निर्णय गरेका हुन् । यो चलचित्रमा अनमोलको अपोजिटमा कुन अभिनेत्रीले स्क्रिन शेयर गर्छिन् ? त्यो अहिलेसम्म चलचित्र निर्माण टिमले घोषणा गरिसकेको छैन ।
तर, स्रोतले भने यो चलचित्रमा नयाँ अभिनेत्रीको खोजी भैरहेको जनाएको छ । निर्माण निकट स्रोत भन्छ, ‘बजारमा खासै हिरोइनहरु छैनन्, नयाँ हिरोइनलाईनै काम गराउने सोच छ ।’
अनमोललाई कहिलेकाहिँ के आरोप पनि लाग्ने गरेको छ भने, उनले आफुले काम गर्ने चलचित्रमा नयाँ अभिनेत्री माग गर्ने गरेका छन् । अभिनेत्रीको मामलामा उनी जिद्दी छन् । तर, अनमोलले भने यो कुराको खण्डन गर्दै आएका छन् । अनमोल भन्छन्, ‘मैले आजका दिनसम्म यस्तो माग राखेको छैन । यो आरोप कसले लगाउनुभएको हो, उहाँलाई सोध्नोस् ।’
त्यसो त अनमोलले यसअघि पनि सबैजसो नयाँ अभिनेत्रीहरुसँग काम गरे । होस्टेलमा प्रकृती श्रेष्ठ, जेरीमा आन्ना शर्मा, गाजलुमा श्रृष्टि श्रेष्ठ, ड्रिम्समा साम्राज्ञी राज्यलक्ष्मी शाह, कृमा अदिती बुढाथोकी, क्याप्टेनमा उपासना सिंह ठकुरी र प्रियंका एमभी र ए मेरो हजुर–३ मा सुहाना थापासँग उनले स्क्रिन शेयर गरे ।
अचम्मको कुरा यि अधिकांश अभिनेत्रीहरुको चलचित्र प्रदर्शन पश्चात पनि चर्चा भैरह्यो । प्रकृती श्रेष्ठ विवाह गरेर अस्ट्रेलिया गुमनाम भएपनि अरु भने निरन्तर चलचित्र क्षेत्रमा ब्यस्त छन् । साम्राज्ञीले कमाल गरिन् । उनी लगातार हिट चलचित्र दिएर सर्वाधिक लोकप्रिय अभिनेत्रीको सुचीमा छिन् । श्रृष्टि श्रेष्ठले पनि निरन्तर चलचित्र पाइरहेकी छिन् । उनको नयाँ चलचित्र ‘पोई प-यो काले’ प्रदर्शन हुने तयारीमा छ ।
पछिल्लो समय सँगै काम गरेका अभिनेत्री उपासना सिंह ठकुरीले ‘कबड्डी कबड्डी कबड्डी’ बाट लामो रेसको घोडा हुँ भन्ने सन्देश दिइन् । ‘ए मेरो हजुर ३’ की अभिनेत्री सुहानाले पहिलो चलचित्रबाटै चर्चा कमाइन् । अहिले उनलाई अभिनेत्री बनाएर चलचित्र निर्माण गर्न खोज्नेहरु फ्याट्टफुट्ट देखिएपनि उनी होमप्रोडक्सनकै चलचित्रमा व्यस्त हुनेछिन् । अहिलेसम्म निर्णय नभएपनि सुहाना अब ‘ए मेरो हजुर ४’ मा काम गर्नेछिन्, त्यसपछि पनि होमप्रोडक्सनकै अर्को चलचित्र भगवत गीतामा ब्यस्त हुनेछिन् ।
आन्ना शर्माको पनि निकै चर्चा हुन्छ । तर, उनले अध्ययनका लागी भन्दै चलचित्रलाई खासै समय दिएकी छैनन् । यद्यपी जेरीपछि उनले चलचित्र ‘ग्याङस्टार ब्लुज’ र ‘द म्यान फ्रम काठमाण्डौ’मा काम गरिन् । बजारमा के हल्ला चल्छ भने, अनमोल केसीसँग काम गरेपछि हिट हुन पाइन्छ भन्ने धेरै अभिनेत्रीहरुको बुझाई छ । सोहि कारण नयाँ देखि पुराना अभिनेत्रीहरु उनीसँग काम गर्न चाहन्छन् ।
सधै नयाँ अभिनेत्रीसँग काम गर्ने अनमोलले उनीहरुलाई के त्यस्तो जादु दिएका छन् जसले अभिनेत्रीहरु पनि निरन्तर हिट छन् ? धेरै अभिनेत्रीले अपोजिटमा काम गर्न खोजिरहेका छन् ?