साप्ताहिक संवाददाता
गायक तथा संगीतकार राजनराज शिवाकोटीले चलचित्रको संगीत तथा पाश्र्व गायनमा आफूलाई प्रमाणित गरिसकेका छन् । उनले संगीतबद्ध तथा पाश्र्व गायन गरेका विभिन्न चलचित्रका गीत युट्युबमा करोडौं पटक हेरिएका छन् । चलचित्रको सांगीतिक पक्षमा उत्कृष्ट भैसकेका राजनराज पछिल्लो समय भने पुन: आफ्नो पुरानो धारमा फर्किएका छन् अर्थात् अचेल उनी आधुनिक शैलीका यूगल गीतमा समेत छाउन थालेका छन् ।
केही साताअघि उनकै संगीतमा गायिका स्मिता दाहालसंगको युगल गीतलाई दर्शक–श्रोताले अत्यन्त रुचाए । मायालु तिमी कता छौ...शीर्षकको उक्त गीतको म्युजिक भिडियो अघिल्लो साता नै १ करोडभन्दा बढि पटक (१ करोड ३० लाख) हेरिसकिएको छ । गायक तथा संगीतकार शिवाकोटी यो साता पुन: अर्को युगल गीतमार्फत श्रोतामाझ आएका छन् । ‘बाटोमा रै’छ घर तिम्रो...’ शीर्षकको उक्त गीतमा राजनराजलाई गायिका रेखा शाहले साथ दिएकी छिन् ।
नितिन चन्दद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री अञ्जली अधिकारी तथा अभिनेता महेश खड्काले अभिनय गरेका छन् । यो गीतले पनि कम समयमै दर्शकको मन जितेपछि राजनराजलाई अचेल चलचित्रसंग–संगै आधुनिक शैलीका यूगल गीत बनाउने प्रस्ताव राख्नेहरू ह्वात्तै बढेका छन् ।