०६७ साल । असोज महिनाको एक दिन । सप्तरीकी किशोरी नेहा झाका लागि सुनौलो दिन थियो त्यो । उनले त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम)को एमबीबीएस इन्ट्रान्स टप गरेकी थिइन् । हतार–हतार आफ्नो सफलता आमालाई सुनाइन्, ‘ममी मैले एक नम्बरमा नाम निकाले ।’ रानी झा अर्थात् उनकी आमा पेसाले अंग्रेजी शिक्षिका हुन् ।
छोरीले एमबीबीएस प्रवेश परीक्षा टप गर्नुको मूल्य उनलाई थाहा नहुने कुरै थिएन । यद्यपि छोरीको यति ठूलो उपलब्धिमा पनि उनी मौन रहिन् । नेहालाई लागेको थियो— आमा खुसीले गद्गद हुनुहोला । आफूलाई अँगालो मारेर चिच्चाउँदै बधाई दिनुहोला, तर आमाले भने केही नभएजस्तै गरिन् ।
नेहाले आफ्नो कौतूहलता धेरै बेर बाँधेर राख्न सकिनन् । सोधिहालिन्, ‘तपाईंको कुनै रियाक्सन नै छैन त, किन ममी ?’ रानीले छोरीको त्यो प्रश्न पनि नबोलेरै टारिदिइन् । छोरीले त्यति काम गर्न सक्छे भन्ने उनलाई थाहा थियो । ‘द्याट वाज भेरी अबियस, यु वील डु इट,’ उनले अलिबेरपछि यति मात्र भनिन्, ‘म धेरै खुसी छु छोरी ।’
त्यसको अर्को वर्ष अर्की छोरी श्रेयाले त्यस्तै सफलता दोहोर्याइन् । उनले पनि आइओएममै एमबीबीएस इन्ट्रान्समा छैटौं नम्बरमा नाम निकालिन् । दुवै छोरीले आफ्नै परिश्रमको बलमा छात्रवृत्तिमा डाक्टर बन्ने बाटो निश्चित गरे । नेहाले सन् २०१६ तथा श्रेया २०१७ मा चिकित्साशास्त्र अध्ययन संस्थानबाट छात्रवृत्तिमा एमबीबीएस पूरा गरेर सफल छोरीको उदाहरण प्रस्तुत गरेका छन् । लाखौं रकम खर्च गर्नुपर्ने एमबीबीएस दुवैले छात्रवृत्तिमा पूरा गर्दा झन्डै ५ लाख मात्र खर्चिए । ‘नत्र त पढ्नै सकिँदैनथ्यो होला,’ श्रेया भन्छिन् ।
एमबीबीएस सकेपछि डा. नेहा र डा. श्रेया दुवैले एक वर्ष शिक्षण अस्पतालमै इन्टर्न गरे । त्यसपछि डा. नेहाले काभ्रेको सुनथान तथा ललितपुरको लुभुमा काम गरिन् । डा. श्रेया भने इन्टर्नपछि काभ्रेको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा झन्डै डेढ वर्षदेखि सेवारत छिन् । अहिले रानी र उनका सरकारी जागिरे श्रीमान् लक्ष्मण झाका दुवै छोरी इन्टर्न सकेर विशेषज्ञताको तयारीमा छन् ।
दुवै दिदीबहिनीको लक्ष्य सर्जन बन्ने छ । चिकित्सा विज्ञानमा महिलाहरूको कम रोजाइमा पर्ने च्यालेन्जिङ क्षेत्र मानिन्छ— सर्जरी । चुनौतीसँग खेल्ने र नयाँ काम गर्न चाहने स्वभावकै कारण दुवै दिदीबहिनीले सर्जन बन्ने निधो गरेका हुन् । ‘सर्जन बन्न कसै–कसैले मात्र सक्छन् भन्ने थियो,’ डा. श्रेया भन्छिन् । उनलाई बीचमै रोक्दै छोरीको कुरा सुनिरहेकी आमा रानीले कारण खुलाइन्, ‘यिनीहरूमा पनि मजस्तै केही फरक, नौलो र चुनौतीपूर्ण काम गरौं भन्ने भावना छ । सबैले नगरेको गर्नुपर्छ, सबैले गरेको त के मतलब भयो र ?’
श्रेयाले आफूहरूले रोजेको यात्राका सम्बन्धमा थपिन्, ‘पहिलेदेखि नै केही ठूलो र फरक गरौ भन्ने थियो । अरुमा बिरामीलाई औषधि दिएपछि ठीक हुने नहुने ग्यारेन्टी हुँदैन, तर सर्जनले आन्द्रामा प्वाल छ भने सिलाएकै हुन्छ । त्यो काम आफैंले देखिन्छ । त्यसको एउटा बेग्लै र अर्कै लेभलको सन्तुष्टि हुँदो रहेछ ।’
२७ वर्षीया डा. नेहा त विशेषज्ञता हासिल गर्ने लक्ष्य लिएर मास्टर्स इन सर्जरी (एमएस) गर्न केही साताअघि मात्र जर्मनी उडिसकेकी छिन् । २६ वर्षीया डा. श्रेया अहिले काभ्रेको खोपासीमै काम गरिरहेकी छिन् । उनको पनि सर्जरीमा विशेषज्ञता हासिल गर्ने लक्ष्य छ ।
सयौं युवाले पछयाउने सफलताको सूत्र के हो त ? ‘पहिलेदेखि नै एम्बीसन र गोल के हो निश्चित गर्नुपर्छ अनि त्यसैमा लागिपर्नुपर्छ, गोल एचिभ गर्नुछ भने त्यसमा शतप्रतिशत दिनुपर्छ,’ जर्मनीबाट इमेल कुराकानी गर्दै डा. नेहाले भनिन् । ‘सफलताको मुख्य सुत्र इच्छा हुनुपर्छ, इच्छापछि त्यसलाई प्राप्त गर्ने साधन हुनुपर्छ,’ डा. श्रेयाले भनिन्, ‘पढेर मात्र हुँदैन, बुझेर पढ्ने बानीको पनि विकास गर्नुपर्छ ।’ डा. नेहाले परिवारमा आमा र बुवाले जसरी हुर्काए त्यसले नै आफूहरूलाई सदैव सफलताका लागि मोटिभेट गर्ने र प्रेरणा भर्ने काम गरेको बताइन् ।
दुवै छोरीको उत्कृष्ट नतिजाले अभिभावकहरूलाई पनि उत्तिकै खुसी तुल्याएको छ । इन्ट्रान्सको त्यो दिन छोरीको खुसी मनभित्रै समेटेकी ४९ वर्षीया आमाले साप्ताहिकसँगको कुराकानीका क्रममा त्यो क्षणको भाव लुकाउन सकिनन् । ‘मसँग त ब्यक्त गर्ने कुनै शब्द नै छैन,’ छोरीहरूको सफलताले कस्तो अनुभूति भैरहेको छ भन्ने प्रश्नमा उनले भनिन्, ‘ठूली छोरीले नम्बर एकमा नाम निस्किएको कुरा सुनाउँदा मैले कुनै रियाक्सन नै गर्न सकिनँ । मैले जसरी उनीहरूलाई हुर्काएँ, सदैव उनीहरूले गर्न सक्छन् भन्ने लाग्थ्यो । छोरीहरूको लगनशीलता, मेहनत अनि समर्पण पनि देखिरहेकी थिएँ, यस्ता विद्यार्थीले निकालेनन् भने कसले निकाल्छ भन्ने लाग्थ्यो ।’ आफूले सिकाएको हरेक कुरा छोरीहरूले जस्ताको तस्तै फलो गरेको उनले बताइन् ।
एउटी आमाका लागि सबैभन्दा खुशीको क्षण के हो ? ‘मलाई त बच्चाहरूले जे खोजीरहेका छन् त्यो कुरा उनीहरूले प्राप्त गरे भने त्यो भन्दा ठूलो कुरा केही होला जस्तो लाग्दैन,’ रानीले भनिन् ‘त्यो ठूलो, सानो जेसुकै होस् ।’ डा. नेहा आमाबुवाको सपना पूरा गर्नुसँग सन्ततिको खुसी पनि जोडिएको जिकिर गर्छिन् । ‘सानैदेखि ममी ड्याडीलाई खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । हामी डाक्टर भयौं भने ममी–
ड्याडीका लागि सबैभन्दा ठूलो खुसी हुनेछ भन्ने सोच्थे, यही कुराले सधैं मोटिभेट गरिरहन्थ्यो,’ डा. नेहाले भनिन्, ‘हामी दुवै जना स्कलरसीपमा पढेर डाक्टर बन्न सफल भयौं । आमाबुवाको सपना पूरा गर्न सकेकोमा एकदमै खुसी लागिरहेको छ ।’
हुन त सन्तानको खुसीका लागि रानी झाको संघर्ष पनि कम छैन । उनले छोराछोरीकै पठनपाठनमा सहयोगी होस् भनेर लामो समय आफ्नै स्कुल चलाइन् । त्यसपछि उनी सेन्ट जेभियर्स स्कुलमा अंग्रेजी शिक्षिका रुपमा काम गरिरहेकी छिन् । आमाले नै चलाएको द इम्पेरियल एकेडेमी (जसबाट उनी केहीवर्षअघि अलग भैसकेकी छन्) मै नेहाले ७ कक्षासम्म पढिन् भने श्रेयाले त्यही स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी हुन् ।
भनिन्छ, घर बलियो हुन जग बलियो बनाउनुपर्छ । रानीले पनि आमा भएर छोरीहरूको भविष्य बलियो बनाउन सानैदेखि उचित लालनपालन एवं शिक्षादीक्षामा विशेष जोड दिइन् । परिणाम, उनका दुवै छोरीले लगातार एकपछि अर्को राम्रो गर्दै गए । दुवैले गोल्डनगेट कलेजबाट पूर्ण छात्रवृत्तिमै प्लस टु सके भने एमबीबीएसको तयारीका लागि पनि सबै शुल्क कलेजले नै बेहोरिदिएको डा. श्रेया बताउँछिन् । संघर्षशील आमा र सफल छोरीहरूको यो कथा साप्ताहिकले दुर्गाका नौरूपमध्ये स्कन्दमाता अर्थात् करुणामयी आमाका रुपमा रानी तथा कात्यायनी अर्थात् सफल छोरीका रुपमा डा. नेहा र डा. श्रेयालाई समेटेको हो ।