चाडपर्वमा दाँतको सुरक्षा 

- डा. गुन्जना रिमाल (एम.डी.एस) कान्तिपुर डेन्टल हस्पिटल

आश्विन २३, २०७६

दाँतले मानिसको सौन्दर्यमा निखार ल्याउँछ । मोतीका दानाजस्ता टम्म मिलेका र हाँस्दाखेरि चम्केका दाँतले मानिसलाई सुन्दर देखाउँछ । यति हुँदाहुँदै पनि मानिसले दाँतलाई त्यति ध्यान दिएको पाइदैन । चाडपर्वका बेला जथाभावी खाने तर उचित सरसफाई नगरेमा दाँतमा समस्या उत्पन्न हुनसक्छ । 

यति बेला आफन्तजन पनि भेटघाट हुने भएकाले मीठा–मीठा परिकार खाने गरिन्छ । दाँत स्वस्थ भएमा खानेकुरा खानुको मज्जा पनि बेग्लै हुन्छ । त्यसैले दाँतको सरसफाईमा ध्यान दिनुपर्छ ।

– खानेकुरा खानासाथ संभव भएसम्म मनतातो पानीले मुख कुल्ला गर्नुपर्छ । यसो गरेमा दाँतमा अड्केको खानेकुरा बाहिर निस्कन्छ । खानेकुरा दाँतमै अड्किरहेमा दाँत दुख्नुको साथै मुखबाट नराम्रो गन्ध आउँछ । त्यसैले पानीले कुल्ला गर्दा मुखभित्र प्रवाह हुने ¥याललाई सक्रिय बनाई मुख सुख्खा हुनबाट बचाउँछ । 

– खाना खाएपछि बिहान बेलुकी ब्रस गर्नुपर्छ । ब्रस नगर्दा खानेकुरा अड्किन गई दाँत र गिजामा बसिरहेमा किरा लाग्ने संभावना रहन्छ । 

– जथाभावी ब्रस गर्नुभन्दा तलमाथि गरेर ब्रस गर्नु प्रभावकारी हुन्छ । घोटेर जथाभावी ब्रस गरेमा दाँतको इनामेल जाने तथा दाँत सिरिंग हुनुको साथै दाँतलाई छोडेर गिजा तल झर्ने समस्या आउनसक्छ । 

– कहिलेकाही ब्रस गर्दा दाँतको बीचमा अड्केको खानेकुरा ननिस्कन पनि सक्छ । यस्तो अवस्थामा छेस्का तथा टुथपिकले घोच्नुभन्दा दन्त धागो (डेन्टल फ्लस) को प्रयोग गर्नुपर्छ । दन्त धागोलाई दाँतको बीचमा छिराएर अघिपछि तान्नाले दाँत र गिजामा कुनै हानी पु¥याउँदैन । फ्लसिङ गरिसकेपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । 

– दाँतमा अड्केको खानेकुरा बाहिर ल्याउँछ भनेर कतिपयले सुपारी खाने गर्छन् । यसैगरी कतिले रमँइलोका लागि दाँतले कोक फेन्टाको बिर्को खोल्ने, मासुको हड्डी चपाउने, आधा पाकेको मासु धेरै खाने गर्छन् । रमँइलोका लागि गरिने यस्ता क्रियाकलापले दाँत दुख्ने, भाँच्चिने र अधिक पीडा हुन सक्छ । 

–  चाडपर्वका समयमा दाँतमा समस्या भएमा चिकित्सक नभेटिन सक्छन्, यस्तो अवस्थामा दाँतमा अधिक पीडा भएमा ल्वाङको तेल प्रयोग गर्ने तथा ल्वाङ चुस्न सकिन्छ । यसले पीडामा केही राहत दिन्छ । गिजा सुन्नियो र रगत आएमा मन तातो पानीमा नुन हालेर दिनको दुई तीन पटक कुल्ला गर्नुपर्छ । यी उपाय स्थायी भने होइनन् । 

– चाडपर्व होस् या अन्य समय दाँतको बचाउ आफैं गर्नुपर्छ । धेरै गुलियो, साह्रो र कडा खानेकुरा, रंगीन पेय पदार्थहरु नखानु वेश हुन्छ । ताजा फलफूल, गाँजर, मूला, काक्रो खानुपर्छ । सुगर फ्रि चुईंगम समय–समयमा खानु पर्छ । 

प्रकाशित :आश्विन २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्