साप्ताहिक संवाददाता
नेपाली सिने उद्योगमा आफूले अभिनय गरेको चलचित्रले सोचेजस्तो व्यापार गर्न नसक्दा पनि लोकप्रिय बन्न सफल अभिनेत्री हुन् – केकी अधिकारी । उनले जति पनि चलचित्रमा अभिनय गरिन व्यापारिक हिसावले खासै आर्थिक उपार्जन गर्न सफल देखिएनन् । भलै उनको कामको प्रसंशा भने हरेक कोणबाट हुने गरेकै हो ।
केहि चलचित्र औसत रहेपनि अभिनेत्री अधिकारीद्धारा अभिनित चलचित्रहरु अधिकांश चलचित्र फ्लप चलचित्रको सूचीमा दर्ज भैरहे । तर, चलचित्रले गरेको व्यापारले केकीको करियरमा भने खासै असर गरेको देखिएन् । अभिनय मार्फत निर्माता निर्देशकको लगानी उठाउन नसकेपछि केकी आफैंले निर्माणमा हात हालिन । उनले चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा लगानी गरिन । उनले यो चलचित्रबाट लगानी उठाउने त परको कुरा भयो ‘कोहलपुर एक्सप्रेस’लाई हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’बाट कपी गरेको आरोप खेप्नु पर्यो ।
चलचित्र क्षेत्रका यि विविध असपलताको स्वाद चाखेकी केकीलाई चलचित्र फ्लप हुन्छ भन्ने डर लाग्ननै छाडिसकेको थियो । प्रदर्शनको पहिलो सातामा चलचिरहेको चलचित्र ‘छ माया छपक्कै’मा अभिनयका लागि अफर पुग्दा पनि केकीलाई सुपरहिटको स्वाद चाख्न पाईएला भन्ने लागेको थिएन । तर, उनले आफ्नो काम धेरै दर्शकले हेर्न पाउने भए भन्ने विश्वास थियो रे । उनको यो विश्वासले यतिबेला सार्थकता पाएको छ । चलचित्र उद्योगमा चलचित्र ‘छ माया छपक्कै’ले अभिनेत्री केकी अधिकारीलाई सफलताको स्वाद चखाएको छ ।