साप्ताहिक संवाददाता
दसैंअघि काठमाडौंमा आयोजित एउटा कार्यक्रममा अभिनेता राजेश हमालले सञ्चारकर्मीसँग कुराकानी गर्ने मौका पाए । दसैंको रमझम प्रारम्भ भएकाले सञ्चारकर्मीहरूले हमालसँग दसैं योजनाकै बारेमा जिज्ञासा राखे । उनले यसपटकको दसैं धनकुटामा मनाउने तय भए पनि अन्तिम समयमा धनकुटाको कार्यक्रम स्थगित भएपछि काठमाडौंमै दसैं मनाउने बताए ।
दसैंको काठमाडौं शान्त हुने भएकाले आफूलाई रमाइलो लाग्ने हमालको भनाइ थियो । कुराकानीकै क्रममा दसैंमा ससुराली कहिले जाने भन्ने प्रसंग चल्यो । हमालको जवाफले सञ्चारकर्मी नै आश्चर्यमा परे । उनले विवाहपछि अहिलेसम्म दसैंकै लागि भनेर ससुराली नगएको बताए ।
ठट्यौली पारामा हमालले स्पष्ट पारे— ‘ससुरालीको सदस्य नै मेरो घरमा आएको छ । धनकुटातिर गएको भए यो पटक दसैंमा ससुराली जाने योजना थियो, तर मिलेन । विवाह गरेको धेरै भएको छैन, त्यसैले अहिलेसम्म दसैं–तिहारमा ससुराली गएको छैन ।’ हमालले ससुराली जाँदा रमाइलो लाग्ने कुरा स्विकारे ।
चाडपर्वमा नगए पनि अन्य समयमा भने ससुराली पुगेको हमाल बताउँछन् । ससुरालीमा हुने ज्वाइँको स्वागत–सत्कार पनि आफूलाई रमाइलो लाग्ने उनी बताउँछन् ।