महिनावारी भएका बेला पाठेघरको भित्री तह टुक्रिएर रगतसँगै योनिमार्गबाट बाहिर निष्कासन हुन्छ । यस अवस्थामा निष्कासन भएको रगत लुगा र खुट्टाहरूमा लाग्न नदिन केही न केही प्रयोग गर्नैपर्छ ।
महिनावारी के हो ?
महिनावारी, रजस्वला, मासिक श्राव जे भनिए पनि यो एउटा प्राकृतिक प्रक्रिया हो । हरेक महिना (२१ देखि ३५ दिनमा), ३–४ दिन (बढीमा एक हप्ता) योनिमार्गबाट रगत बग्ने प्रक्रिया नै महिनावारी हो । किशोरीहरू परिपक्व अवस्थामा पुगेपछि महिनावारी सुरु हुन्छ । महिनावारी हुनुमा मस्तिष्कमा रहेको हाईपोथालामसले उत्पादन गर्ने गोनाडोट्रोपिन रिलिजिङ्ग हार्मोन, पिट्युटरी ग्रन्थिको एन्टेरियर लोबले उत्पादन गर्ने फोलिकुलन स्टुमुलेटिङ हार्मोन र ल्युटिनाइजिङ हार्मोन अनि अण्डाशयले उत्पादन गर्ने दुई किसिमका हार्मोन (ओस्ट्रोजन र प्रोजेस्ट्रोन) ले पाठेघरको भित्री तह (इन्डोमेट्रियम) बनाउने, भत्काउने र महिनावारी गराउने हुन्छन् । महिनावारी हुनुमा यी हार्मोनहरूबाहेक पोषण, वंशाणुगत तथा वातावरणीय पक्षको ठूलो भूमिका रहेको हुन्छ । सामान्यतया अण्डाशयले उत्पादन गरेको अण्डको निक्षेदन अर्थात् फर्टिलाइजेसन नभए पछि पाठेघरको भित्री तह (इन्डोमेट्रियम) टुक्रिने हुन्छ र महिनावारी हुन्छ । किशोर अवस्थामा कसै–कसैमा पाठेघरको परिपक्वता ढिलो हुने तथा यी हार्मोनहरूको उत्पादनमा सन्तुलन कायम नहुने हुन्छ । यसै कारणले गर्दा पाठेघरको अत्याधिक बढी सङ्कुचन (कन्ट्राक्सन) हुने तथा बढी तल्लो पेट दुख्ने पनि हुन सक्छ ।
महिलाहरूको हक र अधिकारसम्बन्धी ठूला–ठूला कुरा उठे पनि महिलाहरूमा हुने यो प्राकृतिक प्रक्रियासँग जोडिएर अनेक अन्धविश्वास अझै हाम्रो समाजमा कायमै छ । महिनावारी भएका बेला नुहाउनु हुदैन, गाईलाई छुनु हुँदैन, ऐना हेर्नु हुँदैन, रुखबिरुवा छुनु हुँदैन, भान्सामा जानु हुँदैन, पूजा गर्न मिल्दैन जस्ता कुरा मात्र होइन, यस अवस्थामा पनि अन्तिममा बचेखोचेका खानेकुरा खानुपर्ने अनि फोहर गोठमा बस्नुपर्ने बाध्यताहरू अझै पनि रहेको पाइन्छ । महिनावारीसम्बन्धी केही जानकारी स्कुलका पाठ्यपुस्तकमा समावेश गरिए पनि ती पाठ नपढिए पनि उत्तीण हुन्छन् । अधिकाशं किशोरीले महिनावारीलाई समस्याका रूपमा लिने गरेका छन् । आफूलाई महिनावारी भएको पनि कसैलाई भन्न नसक्ने हुन्छन् । विद्यालयमा महिनावारी सुरु भए ‘टाउको दुखेको वा पेट दुखेको’ भन्ने बहाना बनाउँछन् । महिनावारीसम्बन्धी स्कुल सचेतना कार्यक्रमका क्रममा विभिन्न विद्यालयहरू पुग्दा अधिकांश छात्राले महिनावारीका बारेमा राम्ररी नबुझेका र यसका कारणले शारीरिक तथा मानसिक तनावमा रहेको पाइन्छ । महिनावारीका समयमा प्याड बोक्न, किन्न र प्रयोग गर्न लजाएको तथा डराएको महसुस हामी सबैले गर्दै आएका छौं ।
महिनावारीमा प्याड नै प्रयोग गर्नुपर्छ ?
महिनावारी भएका बेला पाठेघरको भित्री तह टुक्रिएर रगतसँगै योनिमार्गबाट बाहिर निष्कासन हुन्छ । यस अवस्थामा निष्कासन भएको रगत लुगा र खुट्टाहरूमा लाग्न नदिन केही न केही प्रयोग गर्नैपर्छ । यसका लागि प्याड वा कपडा प्रयोग गरिन्छ । यस अवस्थामा पाठेघरको मुख अलिकति खुकुलो हुने भएकाले सरसफाइमा ध्यान पुर्याउनुपर्छ । प्रयोग गरेका प्याड वा कपडा सफा भएन भने सोही प्याड वा कपडाबाट नि संक्रमण हुन सक्छ । बजारमा पाइने प्याडहरू वैज्ञानिक तरिकाले उत्पादन गरिएकाले स्वास्थ्यका दृष्टिकोणले उत्कृष्ट हुन्छन्, तर सधैं व्यवहारिक नहुन सक्छ । हिजोआज महिनावारीसम्बन्धी कार्यक्रम गर्ने र प्याड बाँड्ने प्रचलन बढ्दो छ । यसले महिलाहरू सचेत पनि हँुदै गएका छन् र महिनावारीप्रति सामाजिक दायित्व बढ्दै गएको देखिएको छ, तर एकपटक प्याड बाँड्दैमा सधैंका लागि पुग्दैन । हरेक महिनामा हरेक महिलालाई १–२ प्याकेट प्याड चाहिन्छ र सधैं अरूको भर परेर पनि हँुदैन ।
ग्रामीण क्षेत्रमा प्याड किन्न गार्हो हुने तथा महँगो पर्ने भएकाले धेरै महिलाले कपडा नै प्रयोग गर्न चाहन्छन् । यसरी कपडा प्रयोग गर्ने केही महिलाले प्याड किन्नभन्दा पनि राख्न र फाल्न गार्हो भएको बताए । महिनावारीका समयमा संक्रमण रोक्न घरेलु प्याड पनि बनाउन सकिन्छ । फोहोर, थोत्रा कपडालाई प्याडका रूपमा प्रयोग गरेका कारण पाठेघरमा संक्रमण हुन सक्ने सम्भावना बढी हुन्छ, तर सफा, सुती वा फलाटिनको कपडाको रुमाललाई प्याड बनाउन सके संक्रमण हुने सम्भावना धेरै कम हुन्छ । यस्ता रुमाल प्रयोग गरिसकेपछि साबुन पानीले धोएर, घाममा राम्ररी सुकाएर पुन: प्रयोग गर्न सकिन्छ । यसरी घरेलु प्याड प्रयोग गर्दा कम खर्चिलो हुनुका साथै राख्न र फाल्न झन्झटिलो हुँदैन । यस्ता घरेलु प्याड हामीले प्रयोग गर्ने रुमालबाट पनि बनाउन सकिन्छ । विद्यालय, क्याम्पस, कार्यालय जहाँ पनि सजिलै प्रयोग गर्न सकिने भएकाले पछिल्लो समयमा रुमाल वा घरेलु प्याड प्रचलित छ, तर अझै पनि धेरैले यस्ता रुमाल सफा गरेर घाममा नसुकाएर ओसिलो ठाउँ (बाथरुम) मा मात्र सुकाउँछन्, जुन राम्रो होइन ।