म २९ वर्षीय अविवाहित पुरुष हुँ । अहिलेसम्म मेरो दुई–तीनचोटि उपवास भयो । मेरो स्खलन करिब तीन मिनेटमै हुन्छ । के भएर त्यस्तो भएको हो ? र समाधान के हुन सक्छ ।
बी.
उपवासको कुरा
उपवास भनेको दिनभर वा अहोरात्र भोजन नगर्ने अर्थात् खाना नखाने भन्ने अर्थ लाग्छ । हामीले बोलीचालीको भाषामा हामीले व्रत बस्ने भन्छौं । तपाईंले यहाँ उपवासको प्रसङ्ग किन जोड्नुभएको थाहा पाइएन । सायद तपार्इंले सहवास भन्न खोज्नुभएको हो कि ? सहवासको अर्थ एकसाथ बस्ने भन्ने अर्थ लाग्छ, तर सामान्य बोलीचालीको भाषामा हामीले यौनसम्पर्कका लागि पनि सहवास शब्दको प्रयोग भएको पाउँछौं ।
यौनसम्पर्कको अवधि
पुरुषले योनिमा लिङ्ग प्रवेश गराएदेखि वीर्यस्खलन सम्मको समय (Intravaginal Ejaculation Latency Time) व्यक्ति–व्यक्तिअनुसार फरक हुन्छ र एक व्यक्तिको पनि फरक समयमा फरक हुन सक्छ । एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट रहेको देखाएको छ ।
सामान्यत: यो उमेर बढ्दे जाँदा केही घट्ने देखिएको छ । त्यसैगरी, किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशतले चरमसुख पाएको कुरा देखिएको थियो । कम्तीमा दुईवर्ष विवाहित जीवन बिताइसकेका पुरुषहरू सम्मिलित एक अध्ययनमा स्वस्थ व्यक्तिहरूको सालाखाला यस्तै ३ दशमलव शून्य १ मिनेटमा वीर्य स्खलन भएको थियो ।
शीघ्र वीर्य स्खलन
प्राय: सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । योनिमा घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भएमा त्यसलाई शीघ्रस्खलन मान्न थालिएको छ । यस्तो स्थितिमा यौनसम्पर्कबाट प्राप्त गर्ने सुख नपाइने कुरा सत्य नै हो ।
यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एक गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या झनै बढाउँछ । आक्कल–झुक्कल यस्तो शीघ्र स्लखन हनु अस्वाभाविक होइन, त्यसैले यस्तो स्थितिमा खासै अनावश्यक रूपमा चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या झनै बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय पनि छन् ।
यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रीडा सुरु गर्ने ।
पुरुष माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे पनि शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ ।
यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भए पछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा यौन उत्तेजना केही कम भए पछि पुन: यौनक्रीडा सुरु गर्ने ।
कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्रस्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाईदा पुर्याउँछ ।
पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।
अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन्, जसले शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ । अभ्यस्त हुन निकै लामो समय लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणको अभ्यास पनि अर्को राम्रो उपाय हो ।