साप्ताहिक संवाददाता
केही साताअघि अभिनेत्री बेनिशा हमाल प्रेममा परेको हल्ला चलेको थियो । सामाजिक सञ्जालमा बेनिशालाई उनका प्रेमीसँग देखिएको थियो । यतिबेला अभिनेत्री वर्षा शिवाकोटीको प्रेम प्रसंग चर्चामा छ ।
अभिनेत्रीका रूपमा खासै चल्न नसके पनि म्युजिक भिडियोमा जमेकी वर्षा यतिबेला अमेरिकामा बसोबास गर्ने सविनजंग थापाको प्रेममा परेको चर्चा छ । आफ्ना प्रेमीलाई भेट्न उनी हालै अमेरिका पुगेको बताइन्छ ।
यो प्रसंगमा वर्षाले हालसम्म मुख नखोले पनि उनका प्रेमी सविनले भने फेसबुकको स्टोरीमा वर्षासँगका केही रोमान्टिक तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा दुवै निकै खुसी तथा उत्साहित देखिन्छन् । सविनले उक्त तस्बिरमा वर्षाको नामसँगै प्रेमको आकार समेत पोस्ट गरेका छन् ।
तस्बिरबाट उनीहरूको प्रेमको गहिराइ मापन गर्न सकिन्छ । एउटा अपुष्ट जानकारी अनुसार दुवैले आगामी वर्ष लगनगाँठो कस्ने निर्णय गरिसकेका छन् । त्यसो त केही अघि वर्षाकी आमाले समेत एक वर्ष भित्र छोरीको विवाह भैसक्ने संकेत दिएकी थिइन् ।