साप्ताहिक संवाददाता
ठूलो बजेटका हिन्दी चलचित्र प्रदर्शन हुने भएपछि नेपालका अधिकांश सिनेमा हलले नेपाली चलचित्रलाई हेंला गर्छन् । त्यसको पछिल्लो सिकार भएका छन् निर्माता तथा अभिनेता निश्चल बस्नेत । निश्चल आफैंले लगानी गरेको चलचित्र ‘घामड शेरे’ लाई गत शुक्रवार प्रदर्शन गर्ने सम्पूर्ण तयारी पूरा गरेका थिए । यद्यपि दर्शकहरूको आकर्षणमा रहेको चलचित्र प्रदर्शन हुने चेन क्यूएफएक्सले घामड शेरेलाई जम्मा चारवटा मात्र शो दिएपछि निश्चलले चलचित्रको प्रदर्शन मिति दुई सातापछि सार्ने निर्णय गरे ।
त्यसअघि उनले फेसबुकमा एउटा स्टाटस लेख्दै चलचित्र प्रदर्शन प्रणालीका विरुद्ध आक्रोश समेत व्यक्त गरे । बुधवार राति उनले लेखेको स्टाटसमा भनिएको छ— ‘कृपया मेरो अगाडिचाहिँ नेपाली फिल्मको प्रगतिका लागि काम गरिरहेका छौं भन्ने शब्द अहिलेका डिस्ट्रिब्युटर, हलवाला साहूहरू तथा मसँग राम्रो चिनजान भएका केही चलचित्रकर्मीले मसँग नगर्नुहोला ।
हुनसक्छ, हामी चलचित्र प्रदर्शनअघि नै असफल भयौं होला, तर उहाँहरूको नजरमा यो फिल्म के रैछ, स्पष्ट भयो । अहिले आएर म गम्भीर भएर सोच्दैछु, भविष्यमा म आफ्नो फिल्मलाई कसरी प्रदर्शन गर्नेछु ? भनेर’ अक्षय कुमारको ‘हाउसफुल–४’ पनि शुक्रबार नै प्रदर्शन हुने भएपछि क्यूएफएक्सले घामड शेरे तथा पोइ पर्यो कालेलाई निकै कम शो उपलब्ध गराएका थिए ।