साप्ताहिक संवाददाता
प्रदर्शन नहुँदै पटक पटक लफडा झेल्नुपरेको चलचित्र ‘घामड शेरे’ निर्माण टिमले पछिल्लो पटक भैरहेको विवादको विषयमा मुख खोलेको छ । बुधबार पत्रकार भेटघाट गरेर निर्माण कम्पनी ‘विसी मोसन पिक्चर्स’ले पछिल्लो पटक भैरहेको विवादका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा राखेको छ ।
निर्माण टिमले चलचित्रको ‘शेरे’ पात्रको साइनो कांग्रेस सभापति शेरबहादुर देउवासँग कतैपनि नजोडिएकाले अनावश्यक तर्क नगर्न सबैलाई आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सन्जालमा शेरवहादुर देउवासँग जोडेर विभिन्न ट्रोल बनेसँगै कांग्रेसको भातृ संगठनले निर्माण टिमलाई सार्वजनिक रुपमा माफी नमागे सुदुरपश्चिममा चलचित्र प्रदर्शन गर्न नदिने चेतावनी दिएको थियो ।
आज सार्वजनिक विज्ञप्तिमा चलचित्रका निर्देशक हेमराज विसीले सामाजिक संजाल दुरुपयोग भएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आफुहरुले कुनै क्षेत्र र व्यक्तीलाई जोड्न नखोजेको बताए । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो चलचित्रको नामलाई राजनीतिक क्षेत्रका अग्रज व्यक्तित्वको नामसँग जोडेर सामाजिक संजालमा गरिएका ट्रोलहरुमा हाम्रो कुनै संलग्नता र समर्थन छैन ।’
चलचित्रमा निश्चल बस्नेतले शेरेको भूमिका निर्वाह गरेका छन् । निश्चलसँगै स्वस्तिमा खड्का, सुष्मा निरौला, वादल भट्ट, लोकेन्द्र लेखक लगायतको मुख्य भूमिका देख्न सकिनेछ । चलचित्र आगामी कात्तिक २२ मा प्रदर्शन हुनेछ ।