झमकको जीवन काँडा कि फूल आजबाट पर्दामा

- साप्ताहिक संवाददाता

कार्तिक २२, २०७६

 

धनकुटाकी साहित्यकार झमककुमारी घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ यसै साता प्रदर्शनमा आएको छ  । विनोद विष्टको निर्माण तथा निर्देशनमा बनेको यो चलचित्रले साहित्यकार घिमिरेको जीवनकथा प्रस्तुत गर्नेछ । चलचित्रको अधिकांश दृश्य धनकुटास्थित झमककुमारीको घरमा छायांकन गरिएको छ ।

विनोद विष्ट, निर्माता तथा निर्देशक 

भारतको सिलिगुडीबाट प्रकाशित हुने पत्रिका हिमालय दर्पणमा दार्जीलिङकी साहित्यकार विन्दिया सुब्बाले झमककुमारी घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’ पढेर उनलाई भेट्न धनकुटा गएको विषयमा लेख लेख्नुभएको थियो । उक्त लेख पढेपछि पुस्तकमा त्यस्तो के रहेछ र उहाँ धनकुटा जानुभयो भन्ने लागेर मैले पुस्तक किनेर दुई–तीन पटक पढेपछि झमककुमारीको संघर्ष थाहा पाएँ । पुस्तक दोहोर्‍याएर पढ्दा पनि विश्वास नलागेपछि म आफैं झमकजीलाई भेट्न धनकुटा पुगें । उक्त पुस्तक पढेपछि त्यसको कथामा फिल्म बनाउने इच्छा जागेको थियो ।  

उमा बेबी, अभिनेत्री

चलचित्रमा म झमककी आमाको भूमिकामा छु । एउटी स्रष्टाको बायोपिकमा उनकी आमाको भूमिकामा अभिनय गर्न पाउँदा खुसी लागेको छ । यो चलचित्रमा काम गर्दा झन्डै ३५ वर्षअघिको गेटअपमा प्रस्तुत हुन निकै गाह्रो भएको थियो । चलचित्रमा तीनवटा उमेरको भूमिकामा प्रस्तुत हुनुपर्ने भएकाले त्यो काम चुनौतीपूर्ण नै थियो । झमककी आमाले कति दु:ख पाएकी थिइन् भन्ने कुरा दर्शकले मेरो चरित्रबाट थाहा पाउनुहुनेछ ।  

सारिका घिमिरे, अभिनेत्री

चलचित्रमा मैले झमककी बहिनीको भूमिकामा अभिनय गरेकी छु । झमककुमारीका बारेमा मैले सानै उमेरमा वृत्तचित्रमार्फत जानकारी पाएकी थिएँ । त्यतिबेला उनी केटा होलान् जस्तो लागेको थियो । आफू ठूलो भएपछि मात्र मैले उनी केटी हुन् भन्ने कुरा थाहा पाएँ । मैले झमकको घरमै बसेर उनकी बहिनीले के के काम गरेकी थिइन् भन्ने जानकारी लिएँ । अहिलेसम्म मैले अभिनय गरेका चलचित्रको तुलनामा यो चलचित्रमा दर्शकले केही फरकपन पाउनुहुनेछ ।

प्रकाशित :कार्तिक २२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्