साप्ताहिक संवाददाता
वीरगञ्जमा सम्पन्न चलचित्र महोत्सव बलिउड अभिनेता गोविन्दामय भएको कुरा त्यहाँ पुगेका सञ्चारकर्मीहरूले बताएका छन् । महोत्सवका लागि गोविन्दा काठमाडौंमा अवतरण गरेपछि मात्र कतिपय चलचित्रकर्मीले वीरगञ्जमा महोत्सव हुन लागेको रहेछ भन्ने जानकारी पाए । गोविन्दा वीरगञ्ज पुगेपछि उनलाई स्थानीय दर्शक तथा प्रशंसकसँग साक्षात्कार गराइने अनुमान गरिएको थियो ।
यद्यपि काठमाडौंबाट वीरगञ्ज पुगेका झन्डै डेढ सय नेपाली कलाकार नै गोविन्दासँग सेल्फी खिचाउन व्यस्त रहे, जसका कारण गोविन्दाले आफ्ना वास्तविक प्रशंसकको अनुहार समेत देख्न पाएनन् । महोत्सव जारी रहँदा त्यहाँ पुगेका अधिकांश नेपाली कलाकारले गोविन्दासँगकै तस्बिर मात्र पोस्ट गरिरहे ।
रमाइलो त त्यतिबेला देखियो, जब स्टेजमा गोविन्दाले आफ्नै हिन्दी चलचित्रका गीतमा नृत्य गरे तब नेपाली चलचित्रका चर्चित अनुहारले उनलाई कोरसका रुपमा साथ दिए । महोत्सव सम्पन्न भएपछि अहिले त्यसका सकारात्मक तथा नकारात्मक पक्षमाथि टिका–टिप्पणी भैरहेको छ जसमा अधिकांशले उक्त महोत्सव गोविन्दा र नेपाली चलचित्रका कलाकारहरूका लागि मात्र भएको निष्कर्ष निकालेका छन् ।