साप्ताहिक संवाददाता
अभिनेता अनमोल केसी अनुबन्ध गरिसकेको चलचित्र हत्तपत्त छाड्दैनन् । विगतमा उनले एक पटक मात्र चलचित्रबाट हात झिकेका थिए । उक्त चलचित्र थियो— ब्याचलर बन्टि । अहिले आएर अनमोलले त्यस्तै कदम चालेका छन् । यसपटक उनले छाडेको चलचित्र हो— धुपौरे । करिब ५० लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्ध गरिएका अनमोलले उक्त चलचित्रमा अभिनय गर्न ३० लाख रुपैयाँ साइनिङ अमाउन्ट लिएका थिए ।
यही चलचित्रका लागि वर्कसपदेखि जीमखानासम्म पसिना बगाएका अनमोलले अन्त्यमा आएर उक्त चलचित्रबाट पछि हट्न निर्णय किन गरे त ? अनमोल स्वयंले यस विषयमा कुनै जानकारी गराएका छैनन् । यद्यपि, चलचित्रको युनिटबाट प्राप्त जानकारीअनुसार अनमोलले करिब ७ महिनाको प्रशिक्षणपछि मात्रै छायांकनमा जाने शर्त राखेका थिए, तर निर्माण पक्षले दुई महिनाको प्रशिक्षणपछि नै फ्लोरमा जान दबाब दिन थालेपछि उनले चलचित्रबाट हात झिकेका हुन् ।
त्यसबाहेक अनमोललाई चलचित्रको स्क्रिप्टमा समेत चित्त बुझिरहेको थिएन । साम्देन भुटियाले निर्देशन गर्ने उक्त चलचित्रबाट अलग भएसँगै अनमोलले केही दिनमै साइनिङ अमाउन्ट फिर्ता गर्ने बताइएको छ । चलचित्रबाट अनमोल बाहिरिएसंगै उक्त चलचित्रको निर्माण कार्य अघि बढ्छ कि बढ्दैन भन्ने अन्यौल समेत बढेको छ ।