साप्ताहिक संवाददाता
साओमीले १०८ मेगापिक्सल क्यामेरायुक्त एमआई नोट १० प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । हेर्दा अन्य सबै स्मार्टफोनजस्तै सामान्य देखिए पनि यो स्मार्टफोनमा पाँचवटा मुख्य क्यामरा छन् । त्यसैगरी यसमा १ सय ८ मेगापिक्सेलको क्यामेरा पनि छ । १ सय ८ मेगापिक्सेलको क्यामेरा जडान गरिएको यो पहिलो स्मार्टफोन हो ।
यसका पाँचवटा क्यामेरा लेन्समा १ सय ८ मेगापिक्सलको सेन्सर एउटा, ५ मेगापिक्सेलको जुम लेन्स, १२ मेगापिक्सेलको टेलिफोटो लेन्स, २० मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स तथा २ मेगापिक्सेलको माइक्रो लेन्स छन् । यसको अगाडि पनि ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । १ सय ८ मेगापिक्सेलको उक्त सेन्सरको निर्माताचाहिँ सामसुङ हो । साओमीसँगको साझेदारीमा निर्माण गरिएको यो सेन्सरलाई केही महिनाअघि नै सार्वजनिक गरिएको थियो ।
उक्त सेन्सरको साइज र गुणस्तर निकै राम्रो भएकाले तस्बिर र भिडियो खिच्न निकै सहज हुनुका साथै गुणस्तरीय परिणामसमेत प्राप्त हुन्छ । यो स्मार्टफोनका अन्य फिचरमा ६ दशमलव ४७ इन्चको डिस्प्ले, स्नापड्रयागन ७ सय ३०जी प्रोसेसर, ६ जीबी वा ८ जीबी र्याम तथा १ सय २८ जीबी इन्टरनल स्टोरेज प्रमुख छन् ।
त्यसैगरी यसमा ५ हजार २ सय ६० एमएएचको ब्याट्री जडान गरिएको छ । ६ जीबी र्याम तथा १ सय २८ जीबी इन्टरनल स्टोरेज भएको नोट १० प्रोको अन्तर्राष्ट्रिय बजार मूल्य ५ सय ४९ युरो तथा ८ जीबी र्याम र २ सय ५६ जीबी इन्टरनल स्टोरेज भएको नोट १० प्रोको अन्तर्राष्ट्रिय बजार मूल्य ६ सय ४९ युरो छ । यो स्मार्टफोन जर्मनी, स्पेन, इटाली आदि देशमा उपलब्ध हुन थालिसकेको छ भने छिट्टै अन्य युरोपेली देशमा उपलब्ध हुने बताइएको छ । यो फोन त्यसपछि मात्र अन्य देशमा उपलब्ध गराइनेछ ।