मस्तिष्कघातबाट पीडित व्यक्तिको उपचारमा फिजियोथेरापीको ठूलो भूमिका हुन्छ । रक्त नली फुटेर हुने मस्तिष्कघातलाई ब्रेन हेमरेज भनिन्छ भने रक्तनली सुकेर हुने मस्तिष्कघातलाई इस्चेमिक स्ट्रोक भनिन्छ । सामान्य रूपमा हेर्दा मस्तिष्कघात भएका मानिसको मुख बांगिएको तथा हातखुट्टा लुलो भएको पाइन्छ । यसको उपचारका लागि चिकित्सकका साथै फिजियोको पनि आवश्यकता हुन्छ ।
लक्षण देखिनासाथ बिरामीलाई तुरुन्त अस्पताल लानुपर्छ । कतिपय जटिल अवस्थामा बिरामीलाई चिकित्सक, मनोचिकित्सक, फिजियो लगायतका पूरै टिमको आवश्यकता पर्न सक्छ । बिरामीको नचलेका अंग चलायमान बनाउन फिजियोको महत्वपूर्ण भूमिका हुन्छ ।
मस्तिष्कघातपछि कतिपय बिरामीको हात तथा खुट्टा नचल्ने तथा मुख बांगिने हुन्छ । यस्ता बिरामीलाई आवश्यकताअनुसार फिजियो सेवा दिनुपर्ने हुन्छ । कतिपय बिरामीको एक भाग मात्र चल्छ । यस्तो अवस्थामा उसको अर्कातिरको भाग कसरी सक्रिय बनाउने भनेर त्यो भागमा मात्र केन्द्रित रहेर फिजियो गरिन्छ । देब्रे भाग चलेको छैन भने देब्रतिरमात्र बोलाउने र उसलाई त्यो साइडमा फर्कन बाध्य बनाइन्छ ।
आईसियुमा राखिएका बिरामीलाई अवस्था हेरेर दिनमा २–३ पटक फिजियोको आवश्यकता पर्न सक्छ भने वार्डमा सारेपछि वा घर लगेपछि दिनको १ घन्टा फिजियो गराउनुपर्छ । बिरामी उसको अवस्थाअनुसार उपचारपछि ६ महिनामा हिँड्डुल गर्न सक्ने हुनसक्छ ।