साप्ताहिक संवाददाता
अभिनेता अनमोल केसी हालसम्म कायम रहेको एउटा कीर्तिमानलाई आफैंले तोड्न सफल भएका छन् । अनमोलले चलचित्र होस्टेलदेखि क्याप्टेनसम्म आफ्नै प्रकारको रेकर्ड बनाएका थिए । उनले हालसम्म कुनै पनि अभिनेत्रीसँग दोहोर्याएर काम गरेका थिएनन् ।
चलचित्र होस्टेलमा उनी अभिनेत्री प्रकृति श्रेष्ठसँग देखिएका थिए भने चलचित्र जेरीमा आना शर्मासँग काम गरेका थिए । चलचित्र ड्रिम्समा उनलाई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले साथ दिइन् । चलचित्र गाजलुमा पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ अनमोलको जोडीका रूपमा प्रस्तुत भइन् । चलचित्र कृमा उनलाई अभिनेत्री अदिती बुढाथोकीले साथ दिइन् भने चलचित्र क्याप्टेनमा उनी अभिनेती उपासनासिंह ठकुरीसँग प्रस्तुत भए ।
हालसम्मको पछिल्लो चलचित्र ए मेरो हजुर–३ मा भने उनी अभिनेत्री सुहाना थापासँग प्रस्तुत भए । अहिले आएर उनी निर्देशक झरना थापाकै अघिल्लो चलचित्र ‘ए मेरो हजुर–४’ मा अनुबन्ध भएका छन्, जसमा उनलाई अभिनेत्री सुहानाले नै साथ दिने भएकी छिन् । यस हिसाबले अनमोलले पहिलो पटक सुहानासँग दोहोरिएर अभिनय गर्दै हालसम्मको अनौठो रेकर्डलाई आफैंले भंग गर्न लागेका हुन् ।