साप्ताहिक संवाददाता
अभिनेता भुवन केसी पछिल्लो समयमा चलचित्र निर्माणमै व्यस्त छन् । छोरा अनमोल पनि बाबुकै पथमा बढिरहँदा भुवन छोरालाई नै ‘हिरो’ बनाएर होम प्रोडक्सनका चलचित्र धमाधम बनाइरहेका छन् । पुन: नयाँ चलचित्र ‘एन्टी हिरो’को तयारी गरिरहँदा भुवन अभिनीत चलचित्र ‘मिस्टर नेपाली’ गत साता प्रदर्शनमा आयो । कुनै समय अभिनय गरेरै सफल चलचित्र दिइसकेका भुवनले यस पटक अभिनयमा पुनरागमन गर्दा आफ्नो पुरानो स्टारडमलाई निरन्तरता दिन सकेनन् ।
यो चलचित्रमा अभिनेता भुवन पहिलो पटक खलपात्रको भूमिकामा देखिएका थिए । चलचित्रमा भुवन दोहोरो भूमिकामा देखिए पनि उनको अभिनयले दर्शकलाई तान्न सकेन । खास गरी भुवनको गेटअपका कारण पनि दर्शकले चलचित्र हेर्न आउने आशमा निर्माण पक्ष रहे पनि त्यो आशा निराशामै परिणत भइदियो । चलचित्रमा भुवन मुखियाको चरित्रमा देखिएका छन् ।
चलचित्रमार्फत नव–कलाकारका रूपमा साहिल श्रेष्ठ र कुसुम राउतले अभिनयमा ‘डेब्यु’ गरेका छन् । यो चलचित्रमा साहिलले भने अभिनयमा केही सम्भावना देखाएका छन् । पुराना कलाकारको अभिनय रहे पनि चलचित्रमा नयाँ कलाकार हाबी छन् । अभिनेत्री कुसुमको अभिनय पनि औसत छ ।
चलचित्रमा भुवन र साहिलबीचको द्वन्द्वलाई देखाइएको छ । साहिलका बाबुको भूमिकामा अभिनय गरेका निर्देशक देव भुसाल अमेरिका गएर पढी गाउँ नै फर्कने लक्ष्य लिएर अमेरिका उडे पनि उनको अमेरिकामै निधन हुन्छ । अमेरिका पुगेका साहिलको बाबु नफर्किएपछि गाउँको घरजग्गा भुवनले कब्जामा लिन्छन् । उनले गाउँको घरमा भूत छ भनेर आतंकित बनाउँदै प्रहरी परिचालन गरेर त्यो घरमा कसैलाई जान दिँदैनन् । अमेरिकाबाट गाउँ फर्किएपछि साहिल त्यही जग्गा फिर्ता गर्नका लागि भुवनसँग लड्छन् ।
हँसाउने चरित्रमा देखिएका विष्णु सापकोटा र रवि डंगोलले दर्शकलाई केही हदसम्म मनोरन्जन दिएका छन् । कथाअनुसार दर्शक हँसाउन दुवैको ट्युनिङ मिलेको छ । चलचित्रले विदेशमा बसे पनि नेपालीपन हराउँदैन भन्ने मूल सन्देश दिएको छ । चलचित्रमा जुनसुकै देशमा बसे पनि आफ्नो देशको भाषा र संस्कृति बिर्सनु हुँदैन भन्ने सन्देश पनि दिइएको छ ।