साप्ताहिक संवाददाता
यो साता तीन चलचित्र ‘सरौतो’, ‘लभ यू हमेशा’ र ‘मखमली मखमली’ सार्वजनिक प्रदर्शनमा आउँदैछन् । प्रेमकथासँगै एक्सन समेटिएको चलचित्र ‘सरौतो’मा छायांकार हरि हुमागाईंको ‘डेब्यु’ निर्देशन छ । निर्देशक हुमागाईंका अनुसार चलचित्रमा दर्शकले प्रेमकथासँग भरपुर एक्सन हेर्न पाउनेछन् । उनी चलचित्रकी अभिनेत्री सुमी मोक्तानको एक्सनलाई दर्शकले मन पराउने दाबी गर्छन् ।
अभिनेत्री सुमीले यसै चलचित्रमार्फत अभिनयमा ‘डेब्यु’ गरेकी हुन् । चलचित्रमा सुमीले बोल्न नसक्ने चरित्रमा अभिनय गरेकी छन् । चलचित्रकै लागि उनले द्वन्द्व पनि सिकेकी छन् । चलचित्रमा सुमीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवांगम शाह, लियो ट्यांक, मनीषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको अभिनय छ ।
वीराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एन्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा राघवकृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको द्वन्द्व छ । चलचित्रमा लक्ष्मीकुमारी तामाङले लगानी गरेकी छन् ।
यस्तै प्रेम कथानक चलचित्र लभ यु हमेशामा दर्शकले अभिनेता यशराज गराच, अभिनेत्रीद्वय ऋचा थापा र फिजा योन्जनको त्रिकोणात्मक प्रेमकथा हेर्न पाउनेछन् । भाष्कर प्रधानकै लेखन तथा निर्देशन रहेको चलचित्रमा गोपाल ढकाल (छन्दे), शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमिला राईलगायतका कलाकारको अभिनय छ । भारतको कालेबुङ, सिलुगुढीसँगै फिलिपिन्सका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा शिव ढकालको छायांकन, भासुको संगीत, कमल राई, रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा यवन तामाङ निर्माता छन् ।
त्यस्तै राजु गिरी निर्देशित ‘मखमली मखमली’मा जयकिशन बस्नेत, शुभेच्छा थापा, सबिन बास्तोला, शारदा गिरी, सुदर्शन आचार्य, सम्राट पोखरेल र परी तामाङको अभिनय छ । सावित्रा चिलुवाल निर्माता रहेको चलचित्रमा वसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य, विनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईंको छायांकन छ ।