साप्ताहिक संवाददाता
चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने पछिल्लो समय निकै चर्चामा छन् । सन् २०१३ को अप्रिलमा न्युज २४ मा निरन्तर ६० घण्टाभन्दा बढी समय अन्तरवार्ता कार्यक्रम संचालन गरेर उनले विश्व रेकर्ड कायम गरेका थिए । त्यसपछि उनी केहि समय नेपाल छाडे । पछि पुनः नेपाली टेलिभिजनमा कार्यरत भए । छोटो समयमै धेरैको मन जित्न सफल लामिछाने ‘सिधा कुरा जनतासँग’ लोकप्रिय छन् ।
खरो र कडा रुपमा हरेक विषयमा बोल्न सक्ने क्षमताका कारण लामिछानेप्रति धेरैको ध्यान तानिएको हो । उनै लामिछाने अब नयाँ कार्यक्रममा आवद्ध हुने भएका छन् । हालै ‘को बन्छ करोडपति’ नेपाल ल्याएको एसआरबिएन मिडियाले सार्वजनिक गरेको एक तस्विरमा लामिछाने छिट्टै विशेष कार्यक्रमसँगै दर्शकमाँझ आउन लागेको संकेत मिलेको छ ।
एसआरविएन मिडियाका सिइओ विपिन आचार्य, क्रियटिभ डाइरेक्टर सुरक्षा अधिकारी र रवि लामिछानेले समातेको पोस्टरमा भनिएको छ, ‘केहि फरक, केहि विशेष । छिट्टै घोषणा हुँदैछ ।’ एसआरबिए मिडियाले नेपाली इतिहासमै सबैभन्दा धेरै राशिको पुरस्कार रहेको टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’ भव्य रुपमा सम्पन्न गरिसकेको छ ।
सोहि कम्पनीले लामिछानेलाई अनुबन्धन गरेको हो । यद्यपी लामिछाने ‘को बन्छ करोडपति’कै संचालकको रुपमा देखा पर्छन् या अरु कुनै कार्यक्रमसँगै दर्शकमाँझ आउन लागेका हुन् भन्ने विषयमा खुलाइएको छैन । यस विषयमा एसआरविएन मिडियाले थप जानकारी दिएको छैन । एसआरविएन मिडियाका सिइओ विपिन आचार्यले भने, ‘हामी लामिछानेलाई लिएर केहि विशेष र फरक गर्दैछौं । यस विषयमा हामिले छिट्टै केहि घोषणा गर्नेछौं ।’