जीवनमा सधैं दोस्रो हुने ‘जिंक’ तोडेर यस पटक वीरबहादुर महराले सागमा तेक्वान्दोमा स्वर्ण जिते । कञ्चनपुरका महराले निरन्तरको प्रयासपछि यो सफलता पाएका हुन्, एक पटकको असफलतामा हरेश खानेहरूका लागि उनको संघर्ष प्रेरणा हो ।
दोस्रो सधैं दोस्रो हुन्छ, किनभने उसको अगाडि सधैं पहिलो हुन्छ । चन्द्रमामा पहिलोपल्ट पाइला टेक्ने त निल आर्मस्ट्रङ नै भए । दोस्रो को त ? कमैले मात्र उनको नाम सम्झने गर्छन् । वीरबहादुर महरालाई जत्तिको यो तथ्य कसलाई थाहा होला र ? उनले त भोगेका पनि छन् । त्यही भोगाइले उनलाई पहिलो हुने लोभ जगायो । वीरबहादुरको कथा हो, टाढाको एउटा सुदूर गाउँबाट कसरी उत्तिकै सोझो ठिटो सहर पस्छ, त्यो पनि ठूलो सपना लिएर ।
अनि कसरी सफल पनि हुन्छ त ? सबैभन्दा पहिले सन् २०१६ मा फर्कौं, जति बेला भारतले आयोजना गरेको थियो, १२ औं दक्षिण एसियाली खेलकुद (साग) । वीरबहादुरले पनि तेक्वान्दोमा आफ्नो चुनौती पेस गरे, तर स्वर्ण हात पार्न सकेनन् । पहिलो हुने भिडन्तमा उनी पछाडि परे र भए, दोस्रो । त्यो भनेको रजत पदक । उनको त्यो रजत पदकको उपलब्धि कता कसरी हरायो, उनले पनि राम्रोसँग हेक्का राख्न सकेनन् । नेपालले त्यो सागमा ३ स्वर्ण जितेको थियो ।
ती स्वर्णअगाडि वीरबहादुरको रजत कसैले देख्नै सकेनन् । त्यो वीरबहादुरको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । उनी जितको नजिक त पुगे, तर झिनो अन्तरले पराजित भए । एक प्रकारले पहिलो प्रयासमै रजत जित्नु पनि कम ठूलो उपलब्धि थिएन, तर यसले वीरबहादुरलाई खुसीभन्दा पनि बढी पीडा दियो । नेपाल टिममा परेपछि गुवाहटी पुगेका वीरबहादुरले सबैभन्दा पहिला श्रीलंकाली खेलाडीको सामना गरे, त्यो उनको पहिलो भिडन्त थियो ।
जितिहाले । त्यसपछि भुटानी खेलाडीको पालो थियो, तिनलाई पनि वीरबहादुरले सजिलै हराए । फाइनल भने अफगानी खेलाडी अहमद बाखसीसँग थियो, त्यसमा भने उनी पराजित रहे, हारको अन्तर पनि धेरै थिएन, खालि तीन अंक मात्र । त्यही बेला वीरबहादुरले वाचा गरेका थिए, अबको सागमा पक्कै स्वर्ण जित्छु भनेर मात्र भयो र ? त्यसका लागि उत्तिकै मेहनत चाहियो, अनि सबैभन्दा ठूलो भाग्य पनि । अब १३ औं साग । आफ्नै भूमिमा भएको दक्षिण एसियाली खेलकुदको सर्वोच्च खेल महोत्सव ।
भर्खरै सकिएको सागमा उनलाई सबै थोकले साथ दियो, उनले पुरुष ६८ केजीमुनिको तौल समूहमा स्वर्ण जिते । फाइनलमा उनले पाकिस्तानका मोहम्मद फहिमलाई ४१–३६ ले हराए । पहिलो राउन्डमा उनी १५–१३ ले अगाडि रहे । दोस्रो राउन्ड निर्णायक रह्यो, उनी त्यसमा १३–८ ले विजयी रहे । तेस्रो राउन्डमा उनी केही रक्षात्मक देखिए, तर उनकै पक्षमा रह्यो । यसअघि अगाडि वीरबहादुरले सेमिफाइनलमा भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले हराएका थिए ।
स्वर्ण के जिते, उनको भनाइ उही थियो । भने, ‘भारतमा पराजित रहेको थिएँ, त्यसैले यसपल्टको फाइनलमा जित्छु भने सोच बनाएको थिएँ । यसपल्ट साग नेपालमै भइरहेको थियो, त्यसैले पनि यो पदक जित्नको खास अर्थ र महत्त्व थियो ।’ यसपल्ट उनको उपलब्धि भने ओझेलमा परेन, सबैले उनलाई सम्झे र बुझे । कसैले बिर्सेनन् । गुवाहटीको तुलनामा वीरबहादुर यसपल्ट बढी अनुभवी खेलाडी भइसकेका थिए, उनको आत्मविश्वासले पनि आकाश छोएको थियो ।
यस्तो किन भयो त ? यसको पनि ठोस कारण छ । एक वर्षअगाडि उनी इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागी हुन जाकार्ता पुगे र त्यहाँ उनको फेरि भेट भयो, तिनै अफगानी खेलाडी बाखसीसँग । त्यसमा भने उनी विजयी रहे, लिए बदला पनि । खेलाडीको जीवनमा यस्तो अवसर पनि आउने गर्छ नै । यो निर्णायक मोड पनि हुने गर्छ । अफगानी खेलाडीलाई हराउने क्रममा उनमा अहिलेको जत्तिकै आत्मविश्वास थियो ।
वीरबहादुरलाई अब्बल दर्जाका खेलाडी बन्न अर्को एउटा भिडन्तले पनि मद्दत गरेको थियो र त्यो थियो— सन् २०१९ को विश्व च्याम्पियनसिपमा दक्षिण कोरियाली च्याम्पियन खेलाडीविरुद्धका भिडन्तले । त्यसमा उनको दोस्रो भिडन्त परेको थियो, ली डे हुनविरुद्ध । उनी त्यस प्रतियोगिताका पुराना स्वर्ण पदक विजेता खेलाडी थिए । वीरबहादुरले सामना गरेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो चुनौती थियो, उनी नराम्रोसँग पराजित रहे ।
हारको अन्तर थियो, २५–५ । खेलअगाडि उनी आत्तिएका पनि थिए । खेलपछि उनले त्यसको भिडियो हेर्न पनि बिर्सेनन् र यसै क्रममा थाहा पाए, आफ्ना कमजोरीहरू । उनलाई लाग्यो, ‘आफ्नो त प्राविधिक पक्षमै कमजोरी छ ।’ त्यसले उनलाई अझ राम्रो खेल्न प्रेरित गरेको थियो । संयोगले ती कोरियाली च्याम्पियन खेलाडी उनीविरुद्धको खेलपछि पराजित पनि भए । वीरबहादुरलाई फेरि के लाग्यो भने जस्तै प्रतिद्वन्द्वी भएपछि राम्रो खेल्यो भने त जित्दो रहेछ ।
अब त्योभन्दा पनि अगाडिको समयमा फर्कौं न । कञ्चनपुरको एउटा सामान्य परिवारका कान्छो छोरा हुन्, उनी । भनिरहनु पर्दैन, उनी गाउँले परिवेशमा हुर्के । बढे । कुनै एक राम्रो दिन उनको परिचय भयो, तेक्वान्दो खेलसँग । उनी भर्खर १२ वर्ष जत्तिका मात्र थिए, तेक्वान्दो खेल्न सुरु गरे । त्यो त खालि रमाइलोका लागि मात्र थिए । उनकै गाउँका हुन्, दीपक विष्ट । त्यति बेलासम्म दीपक नाम चलेका खेलाडी भइसकेका थिए, ओलम्पिकमा भर्खर छनोट भएका थिए ।
सानो उमेरका वीरबहादुरले उनलाई प्रेरणा मानिहाले । त्यसयता भने वीरबहादुर तेक्वान्दोप्रति गम्भीर हुन थाले । यसैक्रममा पहिलो ठूलो प्रतियोगिताका रूपमा पाँचौं राष्ट्रिय खेलकुद खेले । पछि छैटौं पनि । यसैक्रममा उनी ०७० सालमा नेपाली प्रहरीसँग जोडिए । खेलाडी भएको हुनाले सजिलो थियो, पुलिसको जागिर पनि । यसैक्रममा उनले कोरियाली राजदूतकप खेले र स्वर्ण जिते । यहींबाट सुरु भयो, उनको अन्तर्राष्ट्रिय खेलयात्रा, त्यो भनेको १२ औं साग ।
यी सबै यात्राको गन्तव्य बनेको छ, अहिलेको १३ औं साग र उनले जितेको त्यो स्वर्ण पदक पनि । प्रतियोगिता सुरु हुनुअगाडि नेपाली टिमले वैदेशिक प्रशिक्षणका लागि चीन रोजेको थियो । चीनको सियान सहरमा बस्ने क्रममा उनले तेक्वान्दोलाई अझ राम्रोसँग बुझे, तेक्वान्दो अझ कसरी राम्रो खेल्ने हो, त्यो पनि सम्झे । विष्टसँग उनको नजिकको सम्बन्ध त हुने नै भयो, यी प्रशिक्षक पनि प्राय: भन्ने गर्छन, ‘यो केटो मेरै गाउँको हो, यसले पनि नाम राख्नेछ, हामी सबैको ।’
अब के त ? वीरबहादुरको सपना हो, ओलम्पिक्स खेल्ने । सन् २०२० मा जापानको टोकियोमा हुँदैछ, ओलम्पिक्स । उनी यसमा छनोट हुन चाहन्छन् । उनलाई पनि थाहा छ, यो काम सजिलो छैन । सागमा जत्ति उनले खेले, त्यत्तिले पनि पुग्दैन । अझ धेरै चाहिन्छ । त्यसैले उनी उत्तिकै कडा मेहनत गर्न पनि तयार छन् । वास्तवमै उनलाई सफलताको भोक छ । यसपल्ट स्वर्ण जितेर उनले एउटा खुड्किलो त पार गरेका छन्, यसै क्रममा थप चुनौती पनि त थपिएका छन् ।