स्वर्गकी अप्सरा उपमाले चिनिने मुगुको रारा होस् कि देशको सबैभन्दा गहिरो डोल्पाको फोक्सुन्डो, दुइटै तालले कर्णालीको पहिचान उचो बनाएका छन् ।
मानव विकासका प्राय: सबै सूचकाङ्कमा पछाडि रहेको कर्णाली प्रदेश पर्यटकीय सम्भावनाका दृष्टिले भने निकै अगाडि छ । कर्णालीमा स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउने थुप्रै पर्यटकीय स्थल छन् । पछिल्लो समय पूर्वाधार विकासले गति लिएसँगै ओझेलमा रहेका यी पर्यटकीय स्थलसँग पर्यटकको पहुँच जोडिन थालेको छ ।
कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी कर्णाली प्रदेशमा ६ लाख ६४ हजार ८ सय ६४ पर्यटकले भ्रमण गरेका छन् । प्रदेश सरकारले घुम्नैपर्ने प्रदेशका राष्ट्रिय महत्त्वका २० र अन्तर्राष्ट्रिय महत्त्वका २० पर्यटकीय स्थलको सूची बनाएको छ । भिजिट नेपाल–२०२० प्रचारप्रसार समितिका कर्णाली प्रदेश समिति सदस्य देवराज जैशी यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सके यसले राष्ट्रिय रूपमै पर्यटन वर्षलाई सफल बनाउन सघाउने बताउँछन् ।
पर्यटन वर्षका साथै कर्णाली प्रदेश सरकारले पर्यटनसम्बन्धी दीर्घकालीन गुरुयोजनासमेत बनाएको छ । गुरुयोजनामा सन् २०२९ सम्म वार्षिक १५ लाख पर्यटक कर्णाली भित्र्याउने लक्ष्य राखिएको छ । प्रदेश सरकारको लक्ष्य पूरा गराउने महत्त्वपूर्ण साधनका रूपमा यहाँका पर्यटकीय स्थल रहेका छन्, जसलाई तीन क्षेत्रमा विभाजन गर्न सकिन्छ ।
मनोरम ताल
स्वर्गकी अप्सरा उपमाले चिनिने मुगुको रारा होस् कि देशको सबैभन्दा गहिरो डोल्पाको फोक्सुन्डो, दुइटै तालले कर्णालीको पहिचान उचो बनाएका छन् । यीबाहेक कर्णालीमा अन्य ताल पनि उत्तिकै चर्चित छन् । सुर्खेतको बुलबुले ताल, सल्यानको कुभिन्डे ताल, रुकुमपश्चिमको स्यार्पु ताल पर्यटकीय दृष्टिले निकै आकर्षक छन् । कर्णाली घुम्नका लागि यी ताल पर्यटकका लागि राम्रो बहाना बन्ने गरेका छन् । कर्णाली राजमार्ग खुलेपछि रारामा बाह्रैमास पर्यटक पुग्ने गरेका छन् । समुद्री सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा अवस्थित रारा १ सय ६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यहाँ विश्वमा कतै नपाइने असला जातको माछा पाइन्छन् । रारा पुग्नका लागि सुर्खेत वा नेपालगन्जबाट जहाजमा वा सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै पुग्न सकिन्छ । अहिले रारामा सुविधासम्पन्न रिसोर्ट बन्दैछ । यसले पर्यटकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।
भरपर्दो सडक नभएको कारण फोक्सुन्डो पुग्न भने पर्यटकलाई सास्ती छ । सुर्खेत वा नेपालगन्जबाट जहाजमा वा जाजरकोट–डोल्पा सडकमा दुनै भएर फोक्सुन्डोको यात्रा गर्नुपर्ने बाध्यता पर्यटकलाई छ । त्यहाँ पुगेपछि भने पर्यटकले बाटोको सबै दु:ख बिर्सेर आनन्द लिने गर्छन् । समुद्री सतहदेखि ३ हजार ९ सय मिटर उचाइमा अवस्थित यो ताल ६ सय ५० मिटर गहिरो छ । सुर्खेत उपत्यकाको बीच भागमा अवस्थित बुलबुले तालको महिमा त नेपाली सांगीतिक क्षेत्रमा समेत उत्तिकै छाएको छ । जमिनबाट बुलबुले गरेर पानी आउने भएकैले यसको नाम बुलबुले राखिएको स्थानीयको भनाइ छ । सल्यानको कुभिण्डे ताल ‘मिनी रारा’का रूपमा परिचित छ । कुभिन्डोजस्तो आकारको भएकैले यो तालको नाम कुभिन्डे ताल रहन गएको स्थानीयको भनाइ छ ।
धार्मिक आस्था केन्द्र
सुर्खेतको देउतीबज्यै, जुम्लाको चन्दननाथ र मुगुको छायाँनाथ कर्णालीका प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रूपमा रहेका छन् । कर्णाली घुम्न आएका हिन्दू धर्ममा विश्वास गर्ने पर्यटकहरू देउतीबज्यै र चन्दननाथ दर्शन गरेरै फर्कन्छन् । छायाँनाथ भने पूर्वाधार अभावले जान त्यति सजिलो छैन । यद्यपि, पछिल्लो समय हेलिकप्टर कम्पनीले रारा, छायाँनाथ, फोक्सुन्डोको हवाई प्याकेजको तयारी गरिरहेका छन् । यो मन्दिर सुर्खेत उपत्यकाको दक्षिणपूर्वमा अवस्थित देउतीबज्यै राजी समुदायका पुजारी भएको एकमात्र शक्तिपीठ हो ।
जुम्लाको चन्दननाथ मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ । दसौं शताब्दीतिर भारतको कस्मिरबाट चन्दननाथ घुम्न आएका चन्दननाथ महात्मालाई जुम्लाका तत्कालीन खस राजा कल्याल वंशील ठकुरीले गुरु मानेका थिए । चन्दननाथ दत्तात्रय भगवानका भक्त थिए । चन्दननाथले स्थापना गरेको मन्दिर भएकाले यसलाई चन्दननाथ मन्दिर भनिएको जुम्लाका संस्कृतिविद् रमानन्द आचार्य बताउँछन् । हुम्लाको लिमी उपत्यकामा अवस्थित हल्जी गुम्बा पनि पर्यटकीय रोजाइको आकर्षक गन्तव्य हो ।
१ हजार वर्ष पुरानो यो गुम्बा हेर्नकै लागि स्वदेशी तथा विदेशी पर्यटक लिमी उपत्यका पुग्ने गर्छन् । गुम्बामात्र होइन, समुद्रीय सतहदेखि करिब ४ हजार मिटर उचाइमा अवस्थित लिमी उपत्यका आफैंमा पर्यटकीय गन्तव्य हो । कर्णालीका अगुवा पर्यटन व्यवसायी निर्मल केसी यहाँका पर्यटकीय स्थलसम्म पुग्नका लागि सरकारले पूर्वाधार निर्माण गर्नुपर्ने बताउँछन् । ‘कर्णालीमा पर्यटनको अथाह सम्भावना छ, यसलाई उजार गरेर पर्यटकलाई तान्नको लागि सरकारले पहुँचमार्गको विस्तारमा जोड दिनुपर्छ ।’
पुरातात्त्विक धरोहर
‘मिनी लुम्बिनी’ भनेर चिनिने सुर्खेतको काँक्रेबिहार होस् कि पाण्डवको पालामा बनेका दैलेखका पञ्चदेवल अथवा बाइसे–चौबीसे कालमा बनेको जाजरकोट दरबार होस् कि जुम्लाका पाण्डव गुफा, यी पुरातात्त्विक धरोहर कर्णालीको गलामा गहना बनेर सजिएका छन् । १३ औं शताब्दीमा बनेको विश्वास गरिने काँक्रेविहार हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र पनि हो ।
भग्नावशेषमा रहेको काँक्रेविहारलाई करिब दुई दकअघि उत्खनन सुरु गरी अहिले मन्दिर निर्माण गरिएको छ । काँक्रेविहार धार्मिक रूपमा मात्र होइन, पुरातात्विक तथा ऐतिहासिक खोज–अनुसन्धानको दृष्टिले समेत उत्तिकै महत्वपूर्ण छ । दुल्लुमा अवस्थित २२ खम्बे पञ्चदेवल इतिहास झल्काउने सम्पदा हुन् । कीर्ति–खम्बा विशेष मानिन्छ । यो वि.सं. १४१४ मा निर्माण भएको त्यहाँ लेखिएको शिलालेखबाट प्रस्ट हुन्छ । नजिकै रहेको अर्को सानो खम्बा, जो वि.सं. ९१२ तिरको हो ।
खस भाषाको उद्गमथलो सिँजाको कनकासुन्दरीमा अवस्थित पाण्डव गुफा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पाँच भाइ पाण्डवहरू १४ वर्षसम्म त्यही गुफामा गुप्तबास बसेको किंवदन्ती रहेको छ । गुफाभित्र चारवटा गद्दी रहेका छन् । प्रत्येक गद्दीमा पाँच भाइका एक–एकवटा ऐतिहासिक मूर्ति रहेका छन् । गुफाको बीच भागमा अग्निकुण्ड रहेको छ । गुफाभित्र पस्दा नदी बगेको जस्तो आवाज सुनिन्छ । गुफाभित्र पानी भने छैन । इतिहास तथा भाषा–संस्कृतिविज्ञ रमानन्द आचार्य पाण्डवगुफाको प्रचारप्रचार गर्न सकिएमा अध्येताका लागि महत्वपूर्ण अध्ययन केन्द्र बन्न सक्ने बताउँछन् ।