किन रोकियो शिव श्रेष्ठको फिल्म ? 

- साप्ताहिक संवाददाता

पुस २७, २०७६

डेढ वर्षअघि राम्रै तामझामसहित अभिनेता शिव श्रेष्ठले आफ्नो चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को घोषणा गरे । यो चलचित्रको शुभमुहर्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन समेत उपस्थित भए । उल्लेख्य चलचित्रकर्मी, पत्रकारको टिम उपस्थित थियो । सोहि कारण चलचित्र घोषणा भएसँगै यसले दर्शकको ध्यान तान्यो ।

चलचित्र घोषणा भयो । छायांकन थालियो । यद्यपी, छायांकन सुरु भएको केहि हप्तामै चलचित्र टिम घर फर्कियो । किन ? अहिलेसम्म खास कारण न निर्माण टिमले खुलाएको छ, न चलचित्रका कलाकारले । चलचित्रका मुख्य अभिनेता तथा शिव श्रेष्ठका छोरा त चलचित्रको छायांकन बिचमै रोकेर अस्ट्रेलिया उडे । यो चलचित्रमार्फत शिवले छोरालाई नेपाली चलचित्रमा डेब्यु गराएका थिए । अर्की अभिनेत्री करिश्मा मानन्धरकी सुपुत्री कविता समेत यो चलचित्रमार्फत डेव्यु गर्दै थिइन् । यद्यपी, चलचित्रको निर्माण कार्य बिचमै रोकेर सबै आ–आफ्नो काममा लागेका छन् ।

अहिलेसम्म प्रियंका कार्की, आयुष्मान देशराज जोशी र वर्षा राउत, संजोग कोइरालाको दृश्य रहेको लगभग आधा भागको छायांकन सकिएको छ । निर्माण टिमले चलचित्र घोषणा भएको एक महिनामै टिजरसमेत सार्वजनिक गरिसकेको थियो ।

चलचित्रको छायांकन किन सुरु भएको छैन ? अभिनेता तथा यो चलचित्रका निर्माता समेत रहेका शिव श्रेष्ठ भन्छन्, ‘केहि कारणले चलचित्रको छायांकन रोक्न बाध्य भएका हौं । तर अब छिट्टै छायांकन सुरु गर्ने तयारीमा छौं ।’ हाल ‘प्रेम गीत ३’को छायांकनमा रहेका शिवले यो चलचित्रको काम सक्ने बित्तिकै आफ्नो चलचित्र निर्माण सुरु गर्ने योजना सुनाए ।

बुझिएअनुसार यो प्रोजेक्टमा धेरैको लगानी छ । लगानीकर्ताहरुबिच कुरा मिल्न नसकेपछि चलचित्रको छायांकन बिचमै रोकिएको हो । तथापी, शिव भने सामान्य कारणले चलचित्रको छायांकन रोकिएको बताउँछन् । चलचित्रको छायांकन रोक्ने पक्षमा आफु नरहेको बताउँदै उनी थप्छन्, ‘यतिका धेरै काम सकिएको छ । दर्शकसम्म यसबारे धेरै जानकारी गइसकेको छ । थोरै झमेलाले चलचित्रको छायांकन रोकिन्न । केहि ढिला होस्, तर राम्रो होस् भन्ने मेरो चाहना हो ।’

चलचित्रका निर्देशक दिपेश सापकोटा हुन् । उनले समेत अब छिट्टै चलचित्रको छायांकन सुरु हुने आशा राखिएको बताए ।

प्रकाशित :पुस २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×