पहिचानसँगै पेसा

- मुकुन्द बोगटी

पुस २७, २०७६

 

‘हामीलाई राज्यले संरक्षण गर्नुपर्छ, हामी यस्ता व्यक्ति हौं जसको शरीरका अंग पुरुषको रहेको छ भने मन महिलाको छ,’ भारतमा तेस्रोलिंगीहरूलाई किन्नर भनिन्छ । उनीहरूलाई कुनै पनि शुभ काममा सरिक गराउने चलन छ । तर, सोही धार्मिक समाज रहेको नेपालमा भने अपमानित गरिन्छ।  

समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूप्रतिको दृष्टिकोण, उनीहरूलाई गरिने व्यवहार र व्याख्या अलग्गै छ । उनीहरूको पहिचानलाई समाजको संस्थापनले नस्विकारेका कारण उनीहरूले क्षणक्षणमा अपमान महसुस गर्नुपर्छ । आधुनिक र सभ्य भनिएको समाजले नै फरक लैंगिक परिचयकै कारण अपमान, दुव्र्यवहार र निषेध गर्छ । परिणामत: नागरिकको दर्जा पाएर पनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरू घर, परिवार, समाज, विद्यालय, कार्यस्थलमा अपहेलित अनुभव गरिरहेका छन् । 

समाजमा सम्मानित भनिएका पेशा–व्यवसायमा काम पाउन पनि लैंगिक अल्पसंख्यकहरूलाई कठिन छ । जन्मँदा एउटा परिचय हुने र हुर्कंदै जाँदा स्वभाविक रूपमा परिचय परिवर्तन हुने यथार्थलाई परिवार र समाजले स्विकार्न सकेको देखिँदैन । मेकअप आर्टिस्ट सोफी भन्छिन्, ‘हामीहरू जन्मँदै तेस्रोलिंगी हुँदैनौ । पुरुष शरीर लिएर जन्मिए पनि पछि हाम्रो आचरण महिला हाउभाउको हुन थाल्छ अनि घरबाटै पहिलो पटक अपहेलित हुन थाल्छौं ।’ 

घरबाट सुरु भएको यो अपहेलनाको शृंखला स्कुल जीवनको ८–१० वर्षमा सबैभन्दा निर्मम हुन्छ । बाल मस्तिष्कमै साथीहरूबाट अपमानित र शिक्षकबाट अपहेलित हुँदा त्यो पीडा बनेर बल्झिन्छ । ‘स्कुले जीवनमा हामीलाई ‘छक्का’ र ‘हिजडा’को संज्ञा दिइन्छ । साथीहरू लिंग परीक्षण गर्न चाहन्छन्, हिँड्दा पछि लागेर गिज्याउँछन्,’ नृत्य शिक्षक जोय तामाङ थप्छन् । यस्तो अवस्थामा हार खानेहरू स्कुले शिक्षा नै पूरा गर्न सक्दैनन् । युवा अवस्थामा प्रवेश गरेपछि उनीहरूको स्वभावलाई लिएर समाज झन गिज्याउन अघि सर्छ । यो चरण पार गरेर कथंकदाचित् उनीहरू कुनै सेवा वा नोकरीमा संलग्न भए, कार्यस्थलमा लैंगिक विभेद सुरु हुन्छ । ‘सबै क्षेत्रमा अपमानित भएरै जीवन बिताउनुपर्ने खराब नियति छ । सरसर्ति हेर्दा हामीले सबै क्षेत्रमा अपमानित जीवन नै बिताउनु परेको छ,’ सोफी भन्छिन् ।

नृत्य प्रशिक्षक जोयको अनुभव त्योभन्दा फरक कहिल्यै रहेन । सिन्धुपाल्चोकबाट आएका जोयले आफ्नो क्षमताअनुसारको पेसा अंगाल्न पाएका छैनन् । आफूमा नृत्य सिकाउने खुबी भए पनि लैंगिक विभेदका कारण नृत्यको क्षेत्रमा काम गर्न नपाएको उनको तीतो अनुभव छ । ‘हामीमा पनि क्षमता रहेको छ, तर हाम्रो क्षमतालाई भन्दा हाम्रो लैंगिक विषयलाई पहिला प्राथमिकतामा राख्छन्, अनि हुँदैन भन्छन् ।’ जोयले आफूमा रहेको नृत्य निर्देशनको क्षमतालाई व्यावसायिकतामा परिवर्तन गर्न कपनमा केही साथीहरूसँग मिलेर नृत्य प्रशिक्षण केन्द्र खोले । केही समय उक्त केन्द्र चल्यो जब बिस्तारै जोय तेस्रो लिंगी रहेको कुरा सार्वजनिक हँुदै आयो उनका सहकर्मीहरूले अलग हुन दबाब दिए । र, अन्तत: उनी अलग्गिए ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्यरत ब्लू डाइमण्ड सोसाइटी (नील हिरा समाज) की अध्यक्ष पिंकी गुरुङका लागि पनि समाजमा फरक र प्रोत्साहित गर्ने अनुभव संगाल्न पाउनु मृगतृष्णाजस्तै बनेको छ । ‘संविधानको केही धारामा समानता भनेर हामी जस्ता अल्पसंख्यकहरूको व्याख्या गरिएको छ । तर, व्यवहारमा ती कुराहरू लागू हुन सकेको छैन । जसको कारण तेस्रोलिंगी मात्र नभएर यौनिक तथा लैंगिक अल्पसंख्यकहरू सबै कुरामा पछाडि परेका छौं,’ उनी भन्छिन्, ‘संविधानमा रहेको समानताको हकलाई समाजमा समान व्यवहार भएको देखिँदैन ।’ उनको अनुभवमा समाजमा कुनै पनि स्कुलमा यौनिक अल्पसंख्यक विद्यार्थीमैत्री वातावरण छैन । भौतिक संरचनाहरू उनीहरूको अनुकूल बनेका छैनन् । समकक्षी विद्यार्थीहरू उपहास र लान्छना लगाउने गर्छन् भने शिक्षक–शिक्षिकामा पनि कस्तो किसिमको व्यवहार गरिनुपर्छ भन्ने ज्ञानको कमी छ । ‘हाम्रो समाजका सदस्यहरूलाई उकास्न शिक्षा नै बलियो पाटो हो तर उनीहरू यही अपमानले गर्दा शिक्षाबाट बञ्चित छन्,’ पिंकी दुखेसो पोख्छिन् ।  

सम्भ्रान्त वर्गका छोराछोरीको तुलनामा मध्यमवर्गीय र निम्नवर्गीय समाजबाट आउने यौनिक र लैंगिक अल्पसंख्यकहरूको स्थितिमा सुधार नआउनुमा आर्थिक पाटो कारकका रूपमा छ । राज्यले विभेद नगर्नु भनेको छ । तर, सबैभन्दा बढी विभेद समुदायकै मानिसहरूमा हुने गरेको पिंकी बताउँछिन् । सरकारले जातजातिको आरक्षण गरेको छ तर यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि आरक्षण त परको कुरा अल्पसंख्यक भएको थाहा पाएमा जागिरबाटै हात धुनुपर्छ । त्यसको कारण विशिष्ट स्वभाव र भावना भएका तेस्रो लिंगी समुदायका व्यक्तिहरू धेरै उच्च पदमा विभिन्न क्षेत्रमा रहे पनि आफ्नो पहिचान बताउन चाहिरहेका छैनन् । 

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई सहरी समाजमा मुख्यत: पेशेवर यौनकर्मीका रूपमा हेर्ने गरेको देखिन्छ । कतिपयले यो पेसा अँगालेको भए पनि त्यसमा सामाजिक–आर्थिक बाध्यता रहेको उनीहरू स्विकार गर्छन् । उनीहरूलाई स्कुल शिक्षामा अपहेलना गरेर निष्कासन हुने वातावरण बनाइन्छ जसको कारण उनीहरूले राम्ररी पढ्न पाउँदैनन् । ठूलो भएपछि हातमा सीप सिक्ने शिक्षा हुँदैन । समाजबाट तिरस्कार हुनु परिरहेको हुन्छ । बाँच्नका लागि केही काम त गर्नै पर्ने हुन्छ । यस्तो अवस्थामा यौन पेसा सजिलोसमेत हुन्छ । नील हिरा समाजकी अध्यक्ष पिंकी यसलाई सामाजिक समस्याका रूपमा अथ्र्याउँछिन् । 

‘प्रत्येक पेसामा यस्ता किसिमका व्यक्ति हुन्छन् तर हाम्रो समाजका व्यक्तिहरू फरक लिंगी भएको कारण बढी फोकस भएका हुन्, हामी अल्पमतमा छौं,’ उनी कारण खोल्छिन्, ‘कुनै पुरुष र महिलाले यौन पेसा अँगालेमा सबै पुरुष र महिलालाई यौनकर्मीका रूपमा हेरिँदैन किनकी उनीहरूको संख्या बढी छ ।’ तर लैंगिक अल्पसंख्यकको संख्या समाजमा कम छ र उनीहरूको आवाजलाई दबाउने प्रयास हुन्छ । जसको कारण २–४ जनाले गर्दा सबैलाई एउटै दर्जामा हेरिने गरेको गुनासो यो समुदायको छ । यसरी यौन पेसामा रहेकाहरूमा एचआईभी एड्सको जोखिम पनि बढेको छ । जो यो पेसामा लागेका छन् उनीहरूलाई पनि जनचेतनाको खाँचो देखिन्छ । सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक रूपमा रहेका समुदायका व्यक्तिलाई सम्मानित सार्वजनिक जीवन बाँच्ने वातावरण बनाउन सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउनेतर्फ पहल गर्नु पनि उत्तिकै जरुरी देखिन्छ । ‘हामीलाई राज्यले संरक्षण गर्नुपर्छ, हामी यस्ता व्यक्ति हौं जसको शरीरका अंग पुरुषको रहेको छ भने मन महिलाको छ,’ पिंकी भन्छिन्, ‘भारतको हिन्दु विश्वास भएको समाजमा तेस्रोलिंगीहरूलाई किन्नर भनिन्छ । उनीहरूलाई कुनै पनि शुभ काममा सरिक गराउने चलन छ ।’ तर, नेपालमा भने हिन्दू धार्मिक विश्वास भए पनि उनीहरूलाई अपमानित गरिने पिंकीको भनाइ छ ।  

यौनिक तथा लैंगिक अल्पसंख्यक, जसको छोटो रूपमा एलजिविटीआईप्लस पनि भन्ने गरिएको छ । योअनुसार ‘एल’ को अर्थ लेस्वियन (समलिंगी महिला), ‘जी’ को अर्थ गे (पुरुष समलिंगी), ‘बी’ को अर्थ वाइसेक्सुअल (उभयलिंगी), ‘टी’ को अर्थ ट्रान्सजेन्डर (तेस्रो लिंगी) र ‘आई’ को अर्थ इन्टरसेक्सुअल (अन्तरलिंगी) भन्ने हुन्छ । प्लस भन्नाले यसबाहेक अरु पनि यस प्रकारका अल्पसंख्यक हुन्छन् भन्ने मान्यता छ । यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या नेपालमा बढिरहेको छ । एक अनुमानअनुसार नेपालमा ९ लाखको हाराहारीमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरू रहेको अनुमान गरिएको छ । एचआईभी रोकथामले गरेको गणनाअनुसार यो संख्या ५–६ लाख रहेको बताएको छ । पछिल्लो जनगणनाअनुसार यो संख्याको वास्तविक संख्या खुल्न सकेन तर विश्वमै एलजिविटीआईमा रहेका सदस्यहरूको एकिन जनसंख्या कुनै पनि देशमा रहेको छैन । जसको कारण उनीहरूले सर्वव्यापी एउटा मान्यता के बनाएका छन् भने कुनै पनि देशको कुल जनसंख्याको ८ देखि १० प्रतिशत जनसंख्या एलजिबिटीआई हुने गरेका छन् ।

तर, जनसंख्याको ठूलो हिस्सा हुँदाहुँदै पनि समाजले भने अझै अपहेलना गरिरहेको छ । मिस पिंक उपाधि विजेता एन्जेल लामा अनुवभ सुनाउँछिन्, ‘मैले उपाधि नजितेसम्म घर परिवारको विश्वास जित्न सकिन । यो उपाधि मेरो लाइफको टर्निङ प्वाइन्ट पनि हो ।’ यस्तै, मेकअप आर्टिस्ट सोफी आफूले घर, समाज, स्कुल सबैतिरबाट लैंगिक विभेद मात्र होइन लान्छना र अपमान सहेर आएको दाबी गर्छिन् । यो घटनाले उनलाई अरूकोमा गएर काम गर्नुपर्छ भन्नेभन्दा पनि आफैं केही गरेर देखाउनुपर्छ भन्ने भावनाको विकास गरायो । ‘त्यही कारण मैले आफैंले मेकअप स्टुडियो खोलेर मेकअप आर्टिस्ट बने,’ उनी भन्छिन् । 

सोफीजस्तै लैंगिक विभेदको शिकार भएर पनि संघर्षसहित आफ्नो फरक पहिचान बनाउन सफल भएका पाँच जना यौनिक तथा लैंगिक अल्पसंख्यकको संघर्षको कथा प्रस्तुत गरेका छौं, जसमा गायन र नृत्यमा आफ्नो नाम कमाएकी जेसिका खड्का, पशुपालनमा लागेकी शान्ता राई, रेस्टुराँ व्यवसायमा लागेकी मेगना लामा, मोडलिङमा लागेकी ज्योति थापा र मेकअप आर्टिस्ट सोफी रहेकी छिन् ।

प्रकाशित :पुस २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×