साप्ताहिक संवाददाता
माघ २४ गते प्रदर्शन हुने चलचित्र ‘साङ्लो’ दर्शक माँझ प्रतिक्षित छ । विराज भट्ट स्टारर चलचित्रको ट्रेलर, पोस्टर, गीतले दर्शकको ध्यान केन्द्रित गरिरहेको छ ।
चलचित्रको हालै अर्को गीतको छायांकन गरिएको छ । यो गीतलाई ३ दिनको हाराहारीको समय खर्चिएर खिचिएको हो । सुरेश अधिकारीको संगीतमा तयार गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चाण्डक देखिनेछन् । यसअघि ‘चरीले काफल टिप्यो’ बोलमा परम्परागत पहिरनमा देखिएको यो जोडी नयाँ गीतमा मोर्डन पहिरनमा देखिनेछ ।
अन्जु पन्त र निशान भट्टराईले आवाज दिएको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् । डान्सिङ नम्बरको यस गीतबाट निर्माण पक्षले आशा बोकेको छ ।
विराज भट्ट आफैले निर्माण तथा निर्देशन गरेको चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको पनि अभिनय छ ।
शिवम अधिकारीको लेखनमा निर्मित चलचित्रमा सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।