साप्ताहिक संवाददाता
रेनशा वान्तवा राईको जन्मदिनमा अभिनेत्री रेखा थापाले एक चलचित्र निर्माणको घोषणा गरिन् । रेनशाको निर्देशनमा निर्माण भएको ‘इन्टु मिन्टु लण्डनमा’को सफलतापछि रेखा उनीप्रति आकर्षित भएकी थिइन् । र, आफ्नो नयाँ चलचित्र रेनशालाई जिम्मा दिने घोषणा गरिन् ।
यो चलचित्र कहिले निर्माण हुन्छ भन्दै समाचारहरु सार्वजनिक भैरहेका बेला एक्कासी रेखाले दयाहाङ राई र सौगात मल्ललाई मुख्य भूमिकामा लिएर नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छिन् । रेखाले हाल स्क्रिप्टको काममा रहेको भन्दै अघिल्लो चलचित्रको छायांकन केहि ढिला हुन पुगेको बताएकी थिइन् । अहिले २ अभिनेतालाई लिएर चलचित्र घोषणा गरेपछि रेखा–रेनशाको टिमअप टुंगिएको अड्कल काटिएको छ । त्यसो त उनीहरुले यस विषयमा अहिलेसम्म मुख खोलेका छैनन् ।
स्रोतका अनुसार रेनशाले पहिल्यै घोषणा गरेको चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्माण गर्दैछिन् । सोहि व्यस्तताका कारण रेखाले त्यो स्क्रिप्टको काम छोडेर नयाँ चलचित्र निर्माण गर्ने योजना गराएकी हुन् ।
हालै रेखाले घोषणा गरेको चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । सविर एकबर्षपछि नयाँ चलचित्रमा व्यस्त हुँदैछन् । केहि चलचित्रको असफलतापछि सोचमग्न हुन पुगेकी रेखाले आगामी प्रोजेक्टलाई दमदार गराउने योजनामा छिन् ।
वैशाखबाट फ्लोरमा सौगात–दयाहाङको चलचित्र एक्सनप्रधान हुने अभिनेत्री थापाले बताएकी छन् । चलचित्रको नाम र पुरा लाइनअप केही समयपछि घोषणा गर्ने रेखाको भनाई छ । रेखाले पछिल्लो समय ‘मालिका’ निर्माण गरेकी थिइन् । त्यसअघि ‘रुद्रप्रिया’ बनाएकी थिइन् । रेखाले आफ्नो नयाँ चलचित्र आफ्ना अघिल्ला चलचित्रझैं विषय प्रधान हुने बताएकी छिन् ।