साप्ताहिक संवाददाता
बोल्ड अभिनेत्रीको छवि बनाएकी परमिता राणा एक वर्षपछि ठूलो पर्दामा देखिएकी छिन् । उनी अभिनित चलचित्र ‘दि कर्मा’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो चलचित्र नेपालका ५० हाराहारी हलमा प्रदर्शन भैरहेको निर्माण पक्षले जानकारी गराएको छ ।
परमिताले यसअघि केहि चलचित्रमा काम गरिसकेकी छिन् । तर ती चलचित्रको तुलनामा ‘दि कर्मा’ परमिताको भुमिका अलिकति फरक छ । किनभने, यो चलचित्रमा उनी नकारात्मक भुमिकामा देखिएकी छिन् ।
चलचित्र निर्माण टिमले प्रचारप्रसारमा खासै ध्यान दिएको थिएन । सोहि कारण सोलो प्रदर्शनको मौका पाउँदासमेत चलचित्रले हलमा दर्शक तान्न सकेको छैन ।
अधिकांश हलमा दर्शकको पातलो उपस्थिती रहेको बुझिएको छ । यो चलचित्रलाई मल्टिप्लेक्सले खासै स्थान दिएको छैन ।
चलचित्रमा लिड क्यारेक्टर परमिता अम्बिका दिदीको भुमिकामा छिन् । उनको नकारात्मक भुमिका चलचित्रको कथाअनुसार फिट छ । तर, समग्र चलचित्रमा नयाँपन खासै देख्न नसकिएको दर्शकको गुनासो छ ।
जय राज राय, श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह–निर्माताको रुपमा छिन् । देवकुमार श्रेष्ठ निर्देशित ‘दि कर्मा’लाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । चलचित्रको पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रमा परमितासँगै करण वर्मा, नीता ढुंगाना, बुद्धी तामाङ्ग, अनुप सक्सेनालगायतका कलाकारहरूको पनि अभिनय छ । चलचित्रले समग्र के कस्तो व्यापार गर्छ ? दर्शकले कति मन पराउँछन् ? त्यसका लागी केहि दिन पक्कै कुनुपर्नेछ ।