साप्ताहिक संवाददाता
चीनबाट फर्केका व्यक्तिमा कोरोना देखिएको पुष्टि भएपछि सरकारले तत्कालै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि पहल थालेको छ ।
चीनको वुहानबाट फैलिएको प्राणघातक नोबेल कोरोना भाइरसले नजिकको छिमेकी मुलुक नेपालमा पनि त्रास उत्पन्न गराएको छ ।
१० माघमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नोबेल कोरोना भाइरस देखिएको औपचारिक पुष्टि गर्यो । चीनबाट पढेर फर्किएका एक नेपालीमा रुघाखोकी र ज्वरो देखिएपछि २८ पुसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । अस्पतालका चिकित्सकहरूले उनमा नोबेल कोरोना भाइरसका शंकास्पद लक्षणहरू देखिएपछि नमुना परीक्षण गर्न हङकङ पठाए । उक्त नमुना पोजेटिभ देखिएपछि मन्त्रालयले पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा नेपालमा चीनबाट फर्केका व्यक्तिमा कोरोना भाइरस देखिएको पुष्टि गर्यो ।
चीनको हुबे प्रान्तको वुहान ‘इपिसेन्टर’ मानिएको प्राणघातक कोरोना भाइरस यतिबेला तीव्र रूपमा फैलिरहेको छ । यो बुधबार बिहानसम्म २२ देशमा देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनमा मात्रै कोरोना भाइरसबाट १ सयभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्, उक्त प्रान्तका ३ हजारभन्दा बढी मानिस यसबाट प्रभावित भएको जनाइएको छ । श्वास–प्रश्वासबाट एकबाट अर्कोमा संक्रमण हुने यो रोग लक्षण देखिनुअघि नै अर्को मान्छेमा सर्न सक्ने जोखिमपूर्ण भएकाले भाइरस नियन्त्रण गर्न कठिन हुने ठानिएको छ ।
उत्तरी छिमेकी देश चीन नेपालमा दोस्रो बढी पर्यटक भित्र्याउने मुलुकमा पर्छ । त्यसबाहेक अध्ययन, व्यापार, भ्रमणजस्ता कुराले दुवै देशका नागरिक ओहोर–दोहोर गरिरहन्छन् । चीनमा कोरोना भाइरसको संक्रमण व्यापक बन्न थालेपछि त्यसको स्वाभाविक चिन्ता नेपालमा पनि सुरु भएको छ । नेपालमै चीनबाट फर्केका व्यक्तिमा समेत कोरोना देखिएको पुष्टि भएपछि सरकारले तत्कालै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि पहल थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनबाट नेपाल फर्केका एक नेपालीमा कोरोना भाइरसको पुष्टि भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सतर्कता अपनाइएको बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा विदेशबाट आउने सबै यात्रीको निगरानीका लागि उपकरण र चिकित्सकसहितको हेल्थ डेस्क चौबीसै घण्टा सञ्चालनमा ल्याइएको छ,’ श्रेष्ठ भन्छन्, ‘काठमाडौं उपत्यका, पोखरा, चितवन, लुम्बिनीलगायतका पर्यटकीय सहरहरूमा स्वास्थ्य डेस्कको स्थापना र आइसोलेसन बेडसहितको अस्पतालको व्यवस्था मिलाइएको छ र राजधानीका सबै अस्पताललाई एलर्ट गरिएको छ ।’
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको शरीरको तापक्रम अटोमेटिक रूपमा परीक्षण गर्ने ‘थर्मल स्क्यानर’ जडान गरेको छ । अहिले उक्त स्क्यानरबाट अमेरिका, थाइल्यान्ड, अस्ट्रेलियालगायतका कोरोना भाइरसको संक्रमण देखिएका २२ देशबाट आउने यात्रुहरूलाई निगरानी थालिएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुले सोमबारदेखि नेपालमै नोबेल कोरोना भाइरसको परीक्षणसमेत सुरु गरेको छ ।
श्वास–प्रश्वासबाट सजिलै फैलिने भएकाले संक्रमितबाट हुने जोखिम न्यूनीकरण गर्न र उनीहरूलाई उपचार गर्न उपयुक्त प्रबन्ध गर्न मन्त्रालयले उपत्यकाका वीर अस्पताल, शिक्षण अस्पताल, सिभिल सर्भिस अस्पताल, पाटन अस्पताल र टेकु अस्पताललाई तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको छ । वुहानको सी मार्केटबाट फैलिएको आशंका गरिएको कोरोना भाइरस महामारीकै रूपमा देखिएको छ । चिनियाँ राष्ट्रपति सी जिनफिङले घातक कोरोना भाइरस तीव्र गतिमा फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बेला–बेला फैलने महामारीहरूले आममानिसमा त्रास पैदा गरिरहेका हुन्छन् । हैजा, दादुरा, स्वाइनफ्लु, मलेरिया, डेंगु, स्क्रब टाइफस, हेपाटाइटिसजस्ता महामारीले बर्सेनि कैयौं मानिसको ज्यान लिन्छ । यस्ता महामारीहरू रोक्नका लागि सरकारले विभिन्न पहल गरे पनि मौसमअनुसार फैलिने विभिन्न भाइरसले नेपालीहरूमा आतंकित गराउँदै आइरहेको छ । आखिर महामारी कसरी फैलिन्छ ? महामारी फैलिनुमा एउटा मात्र कारण नहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । ‘कुनै पनि भाइरस फैलिनका लागि एउटै मात्र आधार हुँदैन,’ डा. पाण्डे भन्छन्, ‘मानिसहरूको बदलिँदो जीवनशैली, नयाँ–नयाँ प्रविधि, दूषित खानेपानी, जलवायु परिवर्तनजस्ता कुराले नयाँ–नयाँ महामारी फैलिरहेको हुन्छ ।’
त्यसो भए कोरोना भाइरस रोकथाम र जोखिम न्यूनीकरण उपायहरू के हुन त ? डा. पाण्डे त्यसका लागि संक्रमितहरूको सम्पर्कबाट बच्नु नै पहिलो जोखिम न्यूनीकरणको उपाय मान्छन् । भन्छन्, ‘फ्लुजस्तो लक्षण देखाउने जो–कोहीको सम्पर्कबाट टाढा रहने, फ्लुको लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ ।’ त्यसबाहेक सरसफाइलगायतका कुरामा ध्यान दिनुपर्ने उनले सल्लाह दिए ।
नेपालमा संक्रमण फैलिनुपूर्व सरकारले तयारी गरे पनि महामारीको त्रास अझै छ । त्यसका लागि सरकारले नेपालका अस्पतालमा आइसुलेसनयुक्त उपचार कक्षहरूको निर्माण, चिकित्सक, स्वास्थ्यकर्मी
र उपचारमा खटिनेहरूका लागि उपयुक्त मास्क तथा पोसाकहरूको व्यवस्था गर्नुपर्ने ठूलो चुनौती देखिएको छ । जसका लागि सरकारले तत्कालै पहल थाल्नुपर्ने सरोकारवालाहरूको बताउँछन् । ‘पर्सनल प्रोटेक्टिङ इक्युपमेन्टको राम्रो व्यवस्था गर्न सक्नुपर्छ,’ जनस्वास्थ्यविद् खेम कार्की भन्छन्, ‘कुनै भाइरसबाट संक्रमित भएको मान्छे आयो भने अस्पतालमा खटिने कर्मचारी, डाक्टर/नर्सहरूलाई पन्जा, गाउन, चस्मा, टोपी सबै सामानको प्रबन्ध गर्ने र त्यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे पनि सिकाउनुपर्छ ।’ साथै, संक्रामक रोगका लागि आइसोलेसन गर्ने क्षमता विकास गर्नुपर्ने, प्राकृतिक प्रकोपको पूर्वतयारी गरिएजस्तै नयाँ खालका महामारी नियन्त्रणको बृहत् पूर्वतयारी गर्नुपर्ने र त्यस्तै खाले संरचनाको विकासमा पर्याप्त लगानी गर्नुपर्ने उनको मत छ ।
के हो नोबेल कोरोना भाइरस ?
नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो, जुन मानवजातिमा पहिलो पटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो । यो भाइरस जीवजन्तुबाट मानिसमा प्रसार भई मानिसबाट मानिसमा संक्रमण हुँदै फैलिँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो भाइरसले सामान्य रुघाखोकी, ज्वरो, श्वास–प्रश्वासमा समस्याजस्ता लक्षणहरू देखा पर्ने डा. पाण्डे बताउँछन् ।
कोरोना भाइरस रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो । यसले मानिसको श्वास–प्रश्वास प्रणालीमा गम्भीर खालको संक्रमण गराउने गर्छ । ज्वरो आउनु, सुक्खा खोकी लाग्नु र केही सातापछि सास फेर्न गाह्रो हुनु यो रोगका प्रमुख लक्षण हुन् । कोरोना भाइरसका लागि छुट्टै खोप र औषधि छैन, तर यस्तो भाइरसको संक्रमण देखिएमा अस्पतालमै लगेर उपचार गर्नुपर्छ ।
तर, अहिले फैलिएको कोरोना भाइरस यसअघि देखिएको थिएन । त्यसैले यो नयाँ भाइरसलाई द्दण्ज्ञढ(लऋयख नाम दिइएको छ । चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वास–प्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो । सार्स र मार्सपछि श्वास–प्रश्वासमा समस्या निम्त्याउने कोरोना भाइरस हो । यो भाइरस संक्रमण धेरैजसो बालबालिका, वृद्ध, गर्भवती महिला तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरूमा हुन्छ ।
‘राज्यले पूर्वतयारी गर्नुपर्छ’
अहिले कोरोना भाइरस देखियो, तर यस्तो प्रकृतिका (चिकुनगुनिया, सार्स) जस्ता महामारी रोगहरू पहिला नै फैलिएका थिए । राज्यले यस्ता खाले संक्रामक रोगको महामारी फैलिएका बेला सातै प्रदेशमा सधैं खुला हुने अस्पताल बनाउनुपर्छ । साथै मेडिकल डाक्टर/नर्सको एउटा बलियो टिम बनाएर उनीहरूलाई नियमित तालिम गराएर तयारी अवस्थामा राख्नुपर्छ । साथै उनीहरूलाई पर्सनल प्रोटेक्टिङ इक्युपमेन्टको व्यवस्था राम्रो गर्नुपर्छ । जस्तै, कुनै भाइरसबाट संक्रमित भएको मान्छे अस्पताल आयो भने त्यहाँ काम गर्ने डाक्टर नर्सहरूलाई पञ्जा, गाउन, चस्मा, टोपी सबै सामानको प्रबन्ध गर्ने र त्यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे पनि सिकाउनुपर्छ ।
नेपालमा नयाँ खालको भाइरस वा रोग आयो भने त्यसको अनुसन्धान गर्ने गतिलो ल्याब छैन । बायोसेफ्टी लेबल थर्डसम्मको ल्याब हामीसँग सुविधा छ । यो पनि कोरोना भाइरसले गर्दा केही दिन अघिबाट मात्र चलेको छ । तर, यस्ता खाले भाइरस आउन थालेपछि हामीलाई चौथो तहको ल्याबको आवश्यकता पर्छ । त्यसैले राज्यको ध्यान यतातिर जानु जरुरी छ ।
हाम्रा विश्वविद्यालयहरूलाई नेपालमा कुनै नयाँ रोग अथवा भाइरस आयो र यसको अनुसन्धान गर्नुपर्यो भन्ने हो भने उनीहरूमा त्यो खालको क्षमता छैन । त्यसैले विश्वविद्यालयहरूलाई विभिन्न खाले रोगको अनुसन्धान गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ । अरू देशमा लगातार अनुसन्धान गरिरहेका हुन्छन्, त्यसो त उनीहरूसँग त्यस्तै खाले क्षमता हुन्छ । त्यसैले राज्य पूर्वतयारीमा चुकेको छ । यतातर्फ राज्यको खासै ध्यान पुगेको देखिँदैन । कोरोना आइसकेपछि पनि कसैमा भाइरस देखा पर्यो भने हतार–हतार अस्पताल लाने, एम्बुलेन्सको व्यवस्था गर्ने भन्ने मात्र भइरहेको छ । तर, चाइनाको जस्तै नेपालमा पनि कोरोना भाइरस आउटब्रेक भइदियो भने यहाँ भागाभाग हुन्छ । त्यसैले यसको पूर्वतयारीमा राज्यको ध्यान जानु जरुरी छ ।
यस्तै, हाम्रो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अवस्था जीर्ण छ । त्यसको क्षमता विकास गर्नुपर्यो । अहिले हामीसँग आइसोलेसन गर्नुपर्यो भने आइसोलेसन वार्ड भएका अस्पताल नै छैन । त्यसैले यस्ता खाले संक्रामक रोगका लागि आइसोलेसन गर्ने क्षमता हामीकहाँ विकास गरिनुपर्छ । साथै सधैंभरि एक खालको एलर्ट टिम बनाउनुपर्छ । जसरी प्राकृतिक प्रकोपको पूर्वतयारी गरिन्छ, त्यसैगरी नयाँ खालका महामारी नियन्त्रणको बृहत् पूर्वतयारी गर्नुपर्छ र त्यस्तै खाले संरचनाको विकास गर्नुपर्छ । संरचना निर्माण र पूर्वतयारीका लागि यतिबेला राज्यले जति लगानी गरेको छ, त्यो पर्याप्त छैन ।
(डा. कार्की जनस्वास्थ्यविद् हुन्)
कस्तो छ रोकथामको तयारी ?
कोरोना भाइरस नेपालमा भेटिएको पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो । मन्त्रालयले विशेष गरी वीर अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल, शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायतलाई एलर्ट रहन निर्देशन दिएको हो । यसका लागि आइसोलेटेड वार्डको आवश्यकता पर्छ । त्यसका लागि अस्पतालहरू कत्तिको तयारी अवस्थामा छन् त ?
पाटन अस्पतालमा एउटा कोठालाई आइसोलेसन गरिएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताए । उनका अनुसार उक्त कोठामा पाँचवटा बेड राखिएका छन् । ‘हामी तयारी अवस्थामा छौं,’ शर्मा भन्छन्, ‘बिरामी आइहालेमा तत्काल इमर्जेन्सीमा राखेर उपचार गर्छौं, त्यसपछि तत्कालै आइसोलेटेडेट रुममा लैजाने व्यवस्था मिलाएका छौं ।’
सिभिल अस्पतालमा वार्डअन्तर्गत दुईवटा र आकस्मिक कक्षमा तीनवटा बेडको व्यवस्था गरिएको अस्पतालका निर्देशक दीर्घराज आरसीले जानकारी दिए । ‘हाम्रो क्षमताअनुसार तयारी अवस्थामा छौं,’ आरसी भन्छन्, ‘मन्त्रालयले दिएको प्रोटोकलअनुसार तयारी गरिएको छ ।’ कोरोना भाइरस संक्रमित बिरामी जाँच गर्ने डाक्टर/नर्सको टिम बनाइएको छ, साथै उनीहरूलाई आवश्यक पर्ने सामान र एक चरणको तालिम दिइसकिएको उनले बताए ।
शिक्षण अस्पताल, महाराजगन्जले मन्त्रालयले दिएको निर्देशनअनुसार तयारी गरिरहेको निर्देशक प्रेम खड्गा बताउँछन् । ‘आइसोलेसन वार्ड नै भन्ने छैन,’ खड्का भन्छन्, ‘कोरोना भाइरस आएपछि मन्त्रालयको निर्देशनअनुसार रेस्क्यु वार्डका ६ वटा बेड छुट्याइएका छौं ।’ डाक्टर नर्सहरूलाई पनि एलर्ट गरिएको उनले बताए ।
देशकै पुरानो अस्पताल वीर अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीको अनुसन्धानका लागि ४ वटा, आइसियुमा २ वटा र आइसोलेसन ५ वटा बेड तयारी अवस्थामा राखेको छ । यदि संक्रमित बिरामीको चाप बढेमा त्यसलाई बढाउन सकिने अस्पतालका निर्देशक केदार सेन्चुरी बताउँछन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना भाइरस देखा परेपछि छुट्टै ६ वटा आइसोलेसन बेड बनाइएको छ ।
संक्रमणबाट कसरी बच्ने ?
सरसफाइमा ध्यान दिने ।
बाहिरबाट आएपछि साबुनपानीले हात धुने ।
बाहिर निस्कँदा माक्स लगाउने ।
अत्यधिक ज्वरो आएमा भने सिटामोल खाने ।
माछामासु राम्रोसँग पकाएर खाने ।
वैदेशिक यात्रा गर्दा सम्बन्धित देशका बारेमा अग्रिम जानकार हुने ।
खानेकुरामा ध्यान दिने । झोलिलो खानेकुरा बढी मात्रामा खाने
धूमपान–मद्यपान नगर्ने ।
फ्लुजस्तो लक्षण देखाउने जो–कोहीको सम्पर्कबाट टाढा रहने ।
फ्लुको लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने ।
जंगली तथा घरेलु पशुपन्छीहरूसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।