अर्की मिस नेपाल पनि अभिनेत्री बनिन्

- साप्ताहिक संवाददाता

माघ २०, २०७६

मिस नेपालका उपाधि विजेताहरू चलचित्रमा अभिनेत्रीका रूपमा आउने क्रम जारी छ । पछिल्लो पटक निकिता चाण्डक एउटा नयाँ चलचित्रमार्फत दर्शकमाझ आउँदैछिन् । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ मार्फत निकिता रजतपटमा कदम राख्दैछिन् ।

हुन त यसअघि पनि उनले एउटा चलचित्र पाएकी थिइन्, यद्यपि उक्त चलचित्र छायांकन प्रारम्भ भएको केही दिनमै रोकियो । भोजपुरी चलचित्रमा समेत राम्रो पकड बनाएका अभिनेता भट्टले आफ्नै मुख्य भूमिकासमेत रहेको चलचित्रमा निकितालाई कसरी छनोट गरे त ? अभिनेता भट्टले उनलाई छनोट गरेको रोचक प्रसंग शेयर गरेका छन् ।

चलचित्रको अभिनेत्रीका लागि भट्टले २७ जना अभिनेत्रीको सूची तयार पारेका थिए । चलचित्रको कथा तथा चरित्रलाई सुहाउने अभिनेत्रीको खोजी गर्दै जाँदा उक्त सूचीमा पाँच जनामात्र बाँकी रहे । त्यसरी छनोट गरिएका पाँच जना अभिनेत्रीहरूको अभिनय गर्ने क्षमता, व्यक्तित्व तथा हाउभाउको समेत परिक्षण भएपछि मात्र मिस नेपाल २०१७ निकिता चाण्डकले ‘साङ्लो’ मार्फत डेब्यू गर्ने मौका पाएकी रहिछन् ।

आफ्नो पहिलो चलचित्रमा निकिताले कस्तो अभिनय गरेकी छिन् भने कुरा अर्को साता चलचित्र प्रदर्शन भएपछि नै भन्न सकिने छ । 

प्रकाशित :माघ २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×