साप्ताहिक संवाददाता
चलचित्र क्षेत्रमा यतिबेला एउटा जोडीको निकै खोजीनीति गर्न थालिएको छ । हुन त उनीहरू चलचित्रका जोडी हुन्, यद्यपि चलचित्र क्षेत्रमा भने उनीहरूलाई रियल जोडीकै नजरले पनि हेर्न थालिएको छ । उनीहरू हुन् अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री पूजा शर्मा । चलचित्र ‘रामकहानी’ देखि बाँधिएको आकाश र पूजाको जोडी आजका मितिसम्म उत्तिकै रोमान्टिक देखिएको छ ।
सुदर्शन थापा र पूजाले नै निर्माण गरेको रामकहानीमा आकाश एउटा तस्बिरका कारण छनोट भएका थिए । पहिलो चलचित्रमै दुवैको जोडीलाई दर्शकले रुचाए । त्यसपछि निर्माता–निर्देशकहरूलाई के चाहियो र ! सार्वजनिक समारोहदेखि छायांकनस्थलसम्म प्राय: सँग–सँगै देखिने उनीहरूको जोडी केही म्युजिक भिडियोहरूमा समेत देखियो ।
उनीहरूको जोडीलाई मन पराउने प्रशंसकहरूले फेसबुकमा उनीहरूकै नाममा पेज नै बनाइदिए । उनीहरूको जोडीले अभिनय गरेको दोस्रो चलचित्र ‘सम्हालिन्छ कहिले यो मन’ प्रदर्शन हुन बाँकी नै छ, तर तेस्रो चलचित्र ‘पोई पर्यो काले’ मा पुन: उनीहरूको जोडीलाई दर्शकले मन पराए । ‘सम्हालिन्छ कहिले यो मन’को बेलायतको छायांकनकै क्रममा उनीहरूको नाम जोडेर गसिपहरू समेत नबनेका होइनन्, यद्यपि दुवैले उक्त गसिपमा सत्यता नरहेको स्पष्ट पारे ।
उनीहरूको जोडीले भरखरै मात्र चलचित्र ‘सम्झना बिर्सना’ मा चौथो पटक अनस्क्रिन रोमान्स गरिसकेको छ भने निकट भविष्यमै यही जोडीले ‘मन परेसी’ तथा ‘पर्खी बसें–२’ मा जोडीकै रूपमा काम गर्ने सम्भावना छ । भन्नेहरू त आकाशले पूजाबाहेक अन्य अभिनेत्रीसंग काम नै नगर्ने अडान नै लिएका छन् पनि भन्छन् ।