धेरै चलचित्र खेल्दा दयाहाङको घट्दो क्रेज !

- साप्ताहिक संवाददाता

माघ २३, २०७६

अभिनेता दयाहाङ राईले दर्जनौं चलचित्रमा काम गरिसके । उनी अभिनीत कतिपय चलचित्र सफल भए, कुनैले आशा अनुसार सफल हुन सकेनन् । तर, दयाहाङलाई चलचित्रमा अभिनय गर्न आउने प्रस्तावमा भने कुनै कमी भएको छैन ।

अभिनयवाट हुने उनको आम्दानी बढेको बढ्यै छ । पछिल्लो केहि महिनालाई हेर्ने हो भने दयाहाङले एक हप्ता फुर्सद मिलाएर परिवारलाई समय दिन भ्याएका छैनन् ।

दयाहाङलाई अफर आएका चलचित्रको सूची हेर्ने हो भने बर्ष २०७७ मा पनि यो बर्ष जत्तिकै व्यस्त हुने देखिन्छ । २०७६ मा पनि उनी निकै व्यस्त भए । उनले पछिल्लो पटक संझौता गरेका चलचित्रको सूचीलाई हेर्ने हो भने आधा दर्जन चलचित्रमा व्यस्त हुनेछन् ।

दयाहाङले केही हप्ताअघि साइन गरेको चलचित्र ‘२ नम्बरी’को छायांकन छिट्टै सुरु हुँदैछ । सुव्रत आचार्यको चलचित्र ‘के घर के डेरा’मा पनि उनले समय दिनुपर्नेछ । यो चलचित्र आगामी चैतबाट छायांकन सुरु हुने बुझिएको छ । एक महिनाअघि दयाहाङले अभिनेत्री तथा निर्देशक रेखा थापाको चलचित्रमा समेत काम गर्ने पक्का भएको छ, यो चलचित्रमा पनि उनले समय दिनुपर्नेछ । निश्चल बस्नेतको टिमले निर्माण गर्न लागेको एक चलचित्रमा पनि उनी काम गर्ने बताइएको छ । उनी रामबाबु गुरुङको नयाँ चलचित्रमा पनि काम गर्ने मनस्थितीमा रहेका छन् । 

दयाहाङको अभिनय रहेको यसवर्षको प्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’ आगामी फागुन ९ मा प्रदर्शन हुँदैछ । यस्तै ‘नीरफूल’ फागुन ३० गते प्रदर्शनमा आउने छ । यि दुबै चलचित्रले कस्तो किसिमको सफलता हात पार्ने हो त्यो चलचित्र क्षेत्रमा चासोको बिषय बनेको छ । 

लगातार चलचित्र आउन थालेपछि दयाहाङ अभिनयमा भन्दा पनि आम्दानीमा केन्द्रित भएको आरोप लाग्ने गरेको छ । दर्शकको आकांक्षा भन्दा धेरै चलचित्रमा काम गर्दा दयाहाङको क्रेज निरन्तर खस्किएको बताइन्छ । त्यसो त उनी केही समयअघि साथिभाइहरुका कारण निरन्तर चलचित्रमा अभिनयगर्न बाध्य भएको स्विकार गरेका थिए । छोटो समयमा धेरै चलचित्रमा काम गर्दा मिहेनत कम भएको उनको भनाई थियो । तर, पटक पटक गल्ती स्विकार गरेपनि दयाहाङले आफ्नो काममा त्यो लागू गर्न भने सकेका छैनन् ।

उस्तै धार र भूमिकाको अभिनयमा देखिने दयाहाङका फ्यानले उनको अभिनयको तारिफ गर्छन् । तर उनका आलोचक भने सधैं उही ढर्राको अभिनय गरिरहेको आरोप लगाउने गरेका छन् । धेरै चलचित्र खेल्ने तर नयाँपनः केहि नदिएका कारण दयाहाङका धेरै चलचित्र फ्लप हुने गरेको आरोप लाग्ने गरेको छ ।

प्रकाशित :माघ २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×