साप्ताहिक संवाददाता
नेपाली चलचित्र क्षेत्र र अभिनेता राजेश हमालको नाम एक अर्कासँग जोडिएर परिपुरकका रुपमा आउने गरेको छ । ३ दशक लामो समय उनले नेपाली चलचित्रका क्षेत्रमा व्यतित गरेका छन् । एउटै क्षेत्रमा निरन्तर रुपमा गुजारेको यो समयाअधिले उनका जीवनमा कति ठक्कर दिए होलान्, कति खुशी दिए होलान् सार्वजनिक रुपमा हमालले भनेका छैनन् ।
अब भने हमालले चलचित्र यात्रासँग गाँसिएका आफ्ना जीवनका अनुभवहरु सुनाउने भएका छन् । आगामी फागुन ४ गते नेपाल पर्यटन बोर्डको सभाहलमा उनले २९ वर्षे फिल्मी करिअरको उतारचढावका घटनाक्रम आफ्ना दर्शक तथा शुभचिन्तकसँग साट्ने भएका हुन् ।
यो संयोग जुराएको हो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलले । आगामी फागुन १ गतेदेखि ५ (फेबु्रअरी १३ देखि १७) गतेसम्म हुने कार्यक्रममा हमाल चलचित्र क्षेत्रका संघर्ष र सफलता सुनाउन तयार भएका हुन् । ५ दिनसम्म हुने उक्त फेस्टिभल काठमाडौंको सभागृह, सर्वनाम थिएटर तथा पर्यटन बोर्डको हलमा सञ्चालन हुने छ । फेस्टिभलमा नीर शाहले निर्देशन गरेको चलचित्र ‘बासुदेव’ स्क्रिनिङ गरिने छ । फेस्टिभलमा चलचित्र ‘बासुदेव’का बारेमा निर्देशक नीर शाहसँगै लेखक धुब्रचन्द्र गौतम, हरिहर शर्मा र सोफिया उपाध्यायसँग छलफल गरिने आयोजकले जनाएको छ ।
फेस्टिभलमा ८० फिल्म प्रदर्शन हुनेछन् । जसमा १० अन्र्तराष्ट्रिय फिचर फिल्म, ३५ सर्ट फिल्म, ५ नेपाली फिचर फिल्म, १५ नेपाली सर्ट फिल्म, ८ डकुमेन्ट्री र ६ एनिमेटेड फिल्म रहेका छन् ।