साप्ताहिक संवाददाता
एभ एन्सलरको नाटक ‘भजाइना मोनोलग्स्’को नेपाली संस्करण ‘योनीका कथाहरू’ तीन पटकसम्म मञ्चन गर्ने क्रममा हामीले धेरै रंगकर्मीबाट रिहर्सलका क्रममा भोगेका यौन दुव्र्यवहारका अनुभव सुन्यौं । सुन्दै जाँदा लाग्यो– यो गफको विषयमात्रै होइन, यसविरुद्ध आवाज उठाउनु आवश्यक छ । त्यही समयमा संसारभरि मिटू अभियान चलिरहेको थियो । मानिसहरूले आवाज उठाइरहेका थिए । हामीलाई पनि त्यस अभियानले केही उर्जा र शक्ति प्रदान गर्यो । त्यसका लागि नाटकमार्फत नै आवाज उठाउँछौं भनेर ‘प्राइभेट इज पोलिटिकल’ नाटकको तयारीमा थियौं ।
त्यति नै बेला रंगमञ्चमा सक्रिय केही महिला कलाकारले आफूमाथि भइरहेको यौन दुव्र्यवहारबारे बोलेको कुरा मिडियामा आयो । जसले मिटू अभियानलाई ह्वात्तै चर्चामा ल्यायो । धेरै पुरुष र केही महिला प्रतिरक्षात्मक बने । यौन हिंसाको ज्ञान लगभग शून्य भएको हाम्रो समाजमा यस विषयमा प्रतिक्रियाको ज्ञान पनि कमी नै छ ।
पितृसत्तात्मक समाजमा पुरुषहरूलाई शक्तिशाली करार गरेर हुर्काइन्छ । त्यसैले गल्ती नगर्ने कमै हुन्छन् । गल्ती जानेर पनि हुन्छ, नजानेर पनि । स्वाभाविक हो, नजानेर हुने गल्ती धेरै छ । तर, हाम्रो सन्दर्भमा यौन दुव्र्यवहार भन्ने बित्तिकै बलात्कार नै हो भन्ने सोच हावी छ । कतिपयसँग त बलात्कार नै हुँदैन, यो सम्भव नै छैन भन्ने सम्मको सोच छ । तर यौनजन्य कुराहरू हाम्रो समाजमा इज्जतसँग जोड्ने संस्कारले गर्दा यो विषय उठ्दा धेरैले आफ्नो घोर बेइज्जत हुन्छ भन्ने ठान्छन् र प्रतिरक्षाको ठाने र प्रतिरक्षाको ढाल उठाइ हाल्छन् ।
फर्केर हेर्दा, प्रतिरक्षा पनि दुई तरिकाको देखियो । एकथरिले, यसलाई पूरै हाँसोको विषय बनाए । पीडितहरूले उठाएका दुव्र्यवहारका विषयलाई नै यौनिक ठट्टा बनाएर उडाए । प्रतिक्रिया दिन नजान्दा मान्छेहरू आफ्नो असहजतालाई हाँसेर व्यक्त गर्छन् । सायद यस्तै भयो । सार्वजनिक स्थलहरूमा ‘हाहाहा मिटू...’ भनेर असजिलो पार्ने काम पनि भयो । तर संवाद गरेर सिक्ने र सुधार्ने काम भएन । कतिपय पीडितलाई त फोन या म्यासेज गरेर नै हतोत्साहित बनाइयो ।
अर्काथरिले चाहिँ पीडितहरूकै चरित्रबारे प्रश्न उठाउन थाले । सहमतिको यौन र सहमतिविनाको यौन व्यवहारमा फरक छुट्याउनेसम्म कोशिस भएन । पीडितहरूको व्यक्तिगत सम्बन्धलाई चरित्रसँग जोडेर सार्वजनिक गरिदिने भन्ने धम्की आउन थाल्यो । मैले पीडितहरूको पक्षमा बोलेको हुनाले त्यस्तो धम्की मलाईसमेत आयो ।
हुन त मिडियामा मलाई उद्ध्रित गरिएको त थिएन । तर, यो विषय उठेपछि मलाई पनि तनाव दिन्छन् भन्ने थाहा थियो । किनकि ‘योनीका कथाहरू’ नाटक गर्दादेखि नै हामीले यस्ता कुरामा कस्तो प्रतिक्रिया आउँछ भन्ने अनुभूति गरेका थियौं । मुख्य कुरा त जति पनि पीडितहरू हुनुहुन्थ्यो, उहाँहरू सार्वजनिक रूपमा बोल्न पूर्ण रूपमा तयार भइसक्नु भएको थिएन भन्ने मलाई लागेको थियो । किनकि, यसबाट आउने परिणाम सामना गर्न बलियो सामाजिक बल थिएन, सामूहिक बल पनि तयार भइसकेको थिएन । त्यसै बेला मिडियाले ‘उहाँले त बोलिसक्नुभयो, तपाईं चाहिँ नबोल्ने’ भनेर उत्प्रेरित गरेको पाएँ । यस सन्दर्भमा मिडियाको भूमिका संवेदनशील भएन कि भन्ने लागिरह्यो ।
मिडियाले प्राय: यौन सम्बन्धि समाचारलाई कुन्ठित समाजको फाइदा उठाउँदै व्यापारको तत्व बनाएको हामीले देख्दै र भोग्दै आएका छौं । तर पीडितहरूले के भोगिरहेका छन् भन्ने विषयमा मिडियाले चासो राखेको पाइँदैन । यद्यपि, जति पनि घटना सार्वजनिक भए, ती सत्य थिए । लेखिने क्रममा केही बढाइ चढाइ भए होलान्, त्यतिमात्रै हो । कति घटना मलाई पनि पत्याउन गाह्रो पर्यो, पीडितसँग नै भेटेपछि बल्ल पत्याएँ ।
त्यसपछि हामीले आफ्नो तर्फबाट कसरी हुन्छ पीडित र पीडकको कुरा सुन्न थाल्यौं । पीडितहरूको माग थियो– गल्ती स्वीकार गरेर सुध्रिने प्रतिबद्धता जारी गर्नुपर्छ । त्यसमा पीडकहरू सम्बन्धित संस्थाले पनि सघाउनु पर्ने उनीहरूको माग थियो । त्यहीअनुसार पीडक र पीडितका साथै अन्य सामाजिक सरोकारवालाहरू पनि सँगै राखेर छलफल गरियो । र, पीडितहरूको मागअनुसारकै सहमति पनि भयो । हामी पनि यतिसम्म गर्न सक्नु पनि उपलब्धि नै हो भन्नेमा ढुक्क भयौं । किनभने यस्तो परिस्थितिमा कस्तो उपाय खोज्ने भन्नेबारे संसारभरि अन्योल नै छ ।
यस बिषयमा कानून पनि बोलेको छैन । र, धेरैजसो सहमति कार्यान्वयन भएन । उनीहरू सम्बन्धित संस्थामा कुनै न कुनै रूपमा सक्रिय रहे । रंगमञ्चमा पनि सक्रियतापूर्वक स्थापित भइरहे । काम नै छोड्नुपर्छ, अवसर नै दिनु हुँदैन भन्ने माग पनि होइन । पुन:स्थापित हुन पाउनुपर्छ । तर गल्तीबोध गर्नेसम्म समय नलिनु र तुरुन्त केही भएकै छैनजस्तो गरेर पुन: तुरुन्त काममा फर्कंदा पीडितलाई न्याय नभएको देखियो ।
त्यतिमात्रै होइन, जो पीडक हो, उसैको पक्षमा विभिन्न माध्यमबाट सहानुभूति व्यक्त गर्ने प्रक्रिया सुरु भयो । ‘करियर बनाइदिने मान्छेलाई बलात्कारी सावित गर्न खोजेको’ भन्ने आरोप लगाउन थालियो । ‘मिटू’ अभियानमा सक्रिय भएकाहरूलाई कुनै पनि काम नदिने भन्ने निर्णय गरिएको खबर सुन्न थालियो । हुँदा–हुँदा यो अभियानलाई उडाउने प्रकृतिको नाटक नै मञ्चन भयो । तर कसैले केही बोलेन । नाटकको समीक्षामा पनि यससम्बन्धि कुरा आएन ।
पीडकहरूले नै आफू महान बनेर माफी मागिदिएको अभिव्यक्ति विभिन्न स्रोतबाट आउन थाल्यो । नाटकलाई समाजको ऐना भनिन्छ, तर ऐनामा आफ्नो असली अनुहार देख्दा मानिसहरूलाई गाह्रो भयो । र, त्यसबाट मुक्ति पाउन आवेशमा अर्को पक्षलाई गलत सावित गर्ने कदमहरू उठाइयो । अहिले पनि नितान्त व्यक्तिगत कुरालाई उठाएर हामीले उठाइरहेको मुद्दालाई कमजोर बनाउन अनेकन प्रयत्न भइरहेको पाउँछु ।
यस्ता कुराले म निकै नै बिथोलिएँ, आफ्नो काम गर्ने कि यस्ता कुरा सुनेर बस्ने भन्ने तनावले सताइरह्यो । शुभचिन्तकहरूले समेत ‘तिमीहरू चुप लागिदेऊ’, अब काम गर्न धेरै नै गाह्रो हुन्छ भन्ने सुझाव दिन थाले । कतिले– किन यसलाई व्यक्तिगत रूपमा लिएको, अरूका लागि तिमीहरू लड्नु के आवश्यक छ भन्नेजस्ता कुरा गरे । कतिले– तिमीहरूलाई कसैले प्रयोग गरिरहेको छ, यसले तिमीहरूको काम असुरक्षित हुन्छ भने ।
तर, मलाईचाहिँ हामीले सही नै गर्यौंजस्तो लाग्यो र अहिले पनि लाग्छ । त्यसैले हामीले पीडकहरू संलग्न नाटकहरू बहिस्कार गर्यौं । अहिले पनि गरिरहेकै छौं । यसो गर्दा, कति साथीहरूले कलालाई राजनीतिक रूपमा लिनुहुँदैन भनेर भन्नुहुन्छ । तर, राजनीतिक–सामाजिक चेतनाबिना नाटक हुन्छ भन्ने कुरामा हामी विश्वास गर्दैनौं । उत्पीडन र दुव्र्यवहार आर्थिक रूपमा कमजोर र कथित तल्लो जातका कलाकारमाथि बढी भएको पाइएको छ । वर्ग र जातको कुरासमेत स्पष्ट रूपमा देखिने मुद्दालाई विशुद्ध कलाको कुराले ढाकछोप गर्न त सकिँदैन । हामी यसरी संघर्ष गरिरहेका छौं ।
रंगमञ्च प्रतिभाको क्षेत्र भएकाले काम नै समस्या त परेको छैन । तर, पनि कति साथीहरूको केही न केही काम यही कारणले गुमेको छ । अनावश्यक टिकाटिप्पणी र पीडकको उल्लासमय अभिव्यक्ति देख्दा झन् पीडा महसुस भएका कारण कतिपयले सामाजिक सञ्जाल नै चलाउनु हुन्न । अहिले यस्तो अभिघातका बीच हामी छौं ।