साप्ताहिक संवाददाता
निर्देशक अमरदीप सापकोटाको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रेम पुजा’को फस्ट लुक सार्वजनिक गरिएको छ । शिवरात्रीको अवसरमा सार्वजनिक उक्त पोस्टरमा देखाइएका अभिनेताको निधारमा त्रिपुण्ड लगाएको छ भने धार्मिक बस्त्रमा देखिएका छन् ।
पोस्टरमा देखाइएका अभिनेताको अनुहार पुर्ण रुपमा देखाइएको छैन ।
यो चलचित्र आगामी विजया दशमीमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ । चलचित्र प्रेमकथामा आधारित हुने यसको शिर्षकबाट अनुमान गर्न सकिन्छ ।
बैशाख पहिलो साताबाट छायांकनमा जान लागिएको यो चलचित्र काठमाडौं, चितवन र भारतको बनारसमा छायांकन गरिने निर्देशक सापकोटाले बताए । निर्देशक सापकोटाले चलचित्रको औपचारिक घोषणा कार्यक्रममा मात्र अभिनेता सहित अन्य कलाकारहरु खुलाउने बताए ।
यो चलचित्रलाई ईन्टरटेन्मेन्ट वल्र्डवाईड प्रा.लि.ले निर्माण गर्दैछ । कथा, पटकथा तथा संवाद अभिमन्यु निरबीको रहेको छ ।