साप्ताहिक संवाददाता
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ले प्रदर्शनको पहिलो दिन नै १ करोड १२ लाखको व्यापार गरेको यसको निर्माण पक्षले जानकारी दिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रले भ्याली भित्र ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार गरेको छ ।
यद्यपी आज के कति व्यापार गरेको छ खुलाइएको छैन । चलचित्रलाई दर्शक र समिक्षकले मिश्रित प्रतिक्रया दिइरहेका छन् । कतिपयले राम्रो भनेका छन् भने कतिपयले कमजोर चलचित्र भनेका छन् ।
धुर्मुस–सुन्तलीले निर्माण गरेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायत कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्रका निर्देशक रामबाबु गुरुङले देशभरका हलमा दर्शकको राम्रो उपस्थिती रहेको बताए ।
शुक्रबारबाट नै रिलिज भएको चलचित्र ‘आमा’ले पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यस चलचित्रले उत्कृष्ट भएको समिक्षा पाइरहेको छ । यद्यपी यो चलचित्रको निर्माण पक्षले भने के कति व्यापार गरेको छ आधिकारिक जानकारी दिएको छैन ।चलचित्रका निर्देशक दिपेन्द्र के. खनालले पहिलो दिनको आम्दानी ५५ लाख भन्दा माथिको अनुमान गरिएको बताएका छन् । उनले भने, ‘हामीले वितरकसँग आधिकारिक जानकारी लिइसकेका छैनौं । सम्पुर्ण जानकारी केहि दिनमै सार्वजनिक गर्ने योजना गराएका छौं ।’ उनले शुक्रवारको तुलनामा शनिवार दर्शकको संख्या बढेको बताए ।