साप्ताहिक संवाददाता
फाल्गुन १६, २०७६
नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिएको छ । काठमाडौंको कार्यविनायक मन्दिरमा पूजा गरेसँगै शुक्रबारबाट चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा, कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको साथमा चलचित्रको सिंगो यूनिट चलचित्रको मुहुर्त सर्टमा उपस्थित थिए ।
काठमाण्डौंमा चलचित्रको केहि दृष्य खिचेर पोखरा जाने निर्देशक झरना थापाले बताएकी छिन् । पोखरामा १० दिन, काठमाण्डौं र ललितपुरमा करिब ३० दिन छायांकन गरिने चलचित्रको छायांकन सकिने निर्माता सुनिल कुमार थापाले बताएका छन् । चलचित्रको केहि अंश यूरोप र ओमानमा छायांकन गरिने छ ।
प्रेमकथामा बन्न लागेको चलचित्रका लागि आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना रहेको निर्माण पक्षले बताएको छ ।