साप्ताहिक संवाददाता
अभिनेत्री नीता ढुंगाना छिट्टै आफ्नै ब्यानरबाट निर्माण हुने चलचित्र लिएर दर्शकमाँझ आउँदैछिन् । हाल उनी यो चलचित्रको स्क्रिप्टलाई अन्तिम रुप दिने तयारीमा छिन् ।
स्क्रिप्ट लेखनको काम सकिएको छ, हाम्रो टिमले यसलाई फाइनल गर्दैछ, नीता भन्छिन्, ‘कुनै ठाउँमा सच्याउने ठाउँ छ भने त्यसका सुधार गर्नेछौं । सायद केहि दिनमै यो काम सकिनेछ ।’ छायांकनमा गइसकेपछि स्क्रिप्ट सच्याउन नमिल्ने भएकाले सुरुमै पटक पटक स्क्रिप्टमा काम गरिएको उनको भनाई छ ।
नीताका अनुसार कलाकारहरु लगभग फाइनल भइसकेको छ । यद्यपी कथाले खोजेजस्तो अभिनेता भने उनले फाइनल गर्न सकेकी छैनन् । केहि अभिनेताहरुसँग कुरा भएको छ, नीता थप्छिन्, ‘सायद दुई–चार दिनमै अभिनेतासँग साइन हुनेछ ।’ अभिनेता फाइनल भएसँगै नीताको टिम छायांकनमा जाने बुझिएको छ ।
दर्जन भन्दा धेरै चलचित्रमा अभिनेत्रीको रुपमा उनले काम गरिन् । अहिले उनी आफै चलचित्र निर्माण गर्न थालेकी हुन् । चलचित्रमा मुख्य अभिनेत्री उनी आफै हुन् । यो चलचित्रमा उनको मात्रै लगानी हुन्छ या अरु कोहि निर्माता पनि जोडिनेछन् भन्ने कुरा खुलिसकेको छैन ।
तथापी चलचित्र सरल र मिठासपुर्ण हुर्न नीताको भनाई छ । यो चलचित्रको कथा के हो ? हाँस्दै नीताले भनिन्, ‘हाहा.., केहि दिनमै सम्पुर्ण कुरा खुलाउन मिल्छ, अहिले नभन्ने कि ?’ तर, उनको चलचित्र पुर्ण लभस्टोरी जनरामा निर्माण हुने उनले खुलाइन् । अन्तिममा उनले थपिन्, ‘मेरो चलचित्रमा छुट्टै लभ स्टोरी हुनेछ ।’ उनका अनुसार फागुनको अन्तिमसम्म चलचित्रको छायांकन प्रारम्भ हुनेछ ।