कोरोना कहर

- कृष्ण आचार्य

फाल्गुन २३, २०७६

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नदेखिए पनि आर्थिक–सामाजिक क्षेत्रमा त्यसको ठूलो प्रभाव देखिएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोनाका कारण नेपालको पर्यटन र वैदेशिक रोजगारका क्षेत्रमा विस्तारै–विस्तारै प्रभाव पर्न थालेको छ । अधिकांश पर्यटकीय गन्तव्य सुनसान हुन थालेका छन् । होटलका कोठा खाली छन् । नेपालको अर्थतन्त्रमा रेमिट्यान्स र पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्छन् । यी दुवै क्षेत्र एकसाथ ओरालो लाग्ने भएपछि त्यसले अर्थतन्त्रमा समेत सोझो असर पार्ने देखिएको छ । 

संकटमा पर्यटन व्यवसाय

कोरोनाका कारण पर्यटन क्षेत्रमा सबैभन्दा बढी नकारात्मक असर परेको छ । पर्यटकले सधै भरिभराउ हुने काठमाडौं, पोखरा, चितवन र लुम्बिनीजस्ता पर्यटकीय सहरहरूमा यतिबेला पर्यटकको संख्या शून्यप्राय: छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी कोराना भाइरसका कारण नेपालको पर्यटकीय क्षेत्रमा २०७२ सालको विनाशकारी भूकम्पभन्दा भयावह अवस्था सिर्जना भएको बताउँछन् । 

‘भूकम्पमा भोलेन्टियरका रूपमा विदेशीहरू आएका थिए, विश्वव्यापीरूपमा आर्थिक सहायता आएको थियो तर अहिलेको अवस्था त्योभन्दा दयनीय छ,’ सुवेदी भन्छन्, ‘पर्यटकीय गतिविधि ठप्प हुँदा यसले अर्थतन्त्रमा खतरा निम्त्याउने देखिन्छ ।’ पर्यटकीय क्षेत्र धरासायी हुनु भनेको ६ देखि १० महिनासम्म नेपालको अर्थतन्त्र नै कठिन अवस्थामा पुग्नु रहेको अध्यक्ष सुवेदीको भनाइ छ । 

नेपालले विश्व पर्यटनको ०.१ र दक्षिण एसियाको ५.७ प्रतिशत पर्यटक भित्राउने विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरुमा उल्लेख छ । आर्थिक वर्ष २०७४–७५ को तथ्यांक हेर्ने हो भने पर्यटन क्षेत्रबाट देशलाई ४७ अर्ब ९ करोड रुपैयाँ आम्दानी भएको थियो । आर्थिक वर्ष ०७५–०७६ मा झन्डै ७३ अर्ब आम्दानी भएको छ । नेपालको कुृल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको ३ प्रतिशत योगदान छ । भ्रमण वर्षमार्फत आगामी १० वर्षमा १० प्रतिशत पुर्‍याउने लक्ष्य सरकारको थियो । तर कोरोना संक्रमणको विश्वव्यापी प्रभावले सरकारको लक्ष्यमा झट्का लागेको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष ध्रुव सिंखडा कोरोना संक्रमणको सबैभन्दा ठूलो असर नै पर्यटन क्षेत्रमा पुगेको बताउँछन् । अघिल्लो वर्षको पुस, माघ र फागुनको तुलनामा यो वर्ष नेपाल घुम्न आउने पर्यटकको संख्यामा झन्डै ७० प्रतिशत कमी रहेको उनी बताउँछन् । यो तीन महिना पर्यटन व्यवसायका लागि मुख्य सिजन रहेको र अहिलेकै अवस्था रहिरहे अबको एक वर्षमा नेपालको पर्यटन व्यवसायले संकट भोग्नुपर्ने उनको भनाइ छ । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर भ्रमण वर्ष सुरु हुँदा नहुँदै कोरोनाले विश्वलाई नै तरंगित पारेपछि सरकार भ्रमण वर्ष स्थगित गर्ने निर्णयमा पुगेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमै भ्रमण वर्ष २०२० स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्षका रूपमा मनाउने विषयमा छलफल गरेको छ । भ्रमण वर्षकै सन्दर्भमा चैत २० र २२ गतेलाई तय गरिएको ‘सगरमाथा संवाद’ समेत स्थगित भएको छ । विभिन्न देशका सरोकारवाला व्यक्तिलाई निम्त्याएर गर्न लागेको उक्त कार्यक्रम मन्त्रिपरिषद्को निर्णयबाट अनिश्चितकालका लागि स्थगित गरिसकिएको छ ।

भारतपछि नेपाल चिनियाँ पर्यटकको वर्चस्व हुने गन्तव्य हो । बर्सेनि यहाँ ३० प्रतिशत चिनियाँ नागरिक आउने गरेका छन् । सन् २०१९ मा १ लाख ६९ हजार चिनियाँ नेपाल भ्रमणमा आएका थिए । यस वर्ष चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमण भएको र पर्यटन प्रवद्र्धनका लागि चीन लक्षित विभिन्न कार्यक्रम गर्ने योजना रहेका कारण सो संख्या बढ्ने धेरैको अनुमान थियो । तर चीन नै कोरोनाको सबैभन्दा ठूलो संकट बेहोर्ने मुलुक बनेको छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण एक देश, दुई देश हुँदै विश्वव्यापीरूपमा फैलिइरहेको छ । यसले नेपालको पर्यटन क्षेत्रमा नराम्रो धक्का लाग्यो । कोरोनाले नेपालमा धेरै पर्यटक आउने अस्ट्रेलिया, अमेरिका, युरोप, भारत, थाइल्यान्ड, सिंगापुर, दक्षिण कोरियाजस्ता देशमा प्रभाव पारेपछि त्यसको असर पनि नेपालमा देखिएको हो । अर्को पाटोबाट हेर्दा नेपाल पनि कोरोनाको उच्च जोखिमको सूचीमा परेपछि पर्यटको आकर्षण कम भएको देखिन्छ ।

होटल व्यवसाय सुनसान हुन थाले 

पर्यटन क्षेत्रमा परेको संक्रमणको सबैभन्दा ठूलो असर होटल व्यवसायमा देखिएको छ । अंग्रेजी नयाँ वर्षपछि पर्यटकले खचाखच भरिने होटलहरू यही समयमा पर्यटक नपाएर संकटमा परेका छन् । प्रि–बुकिङ भएका होटलका कोठाहरू पनि धमाधम रद्द भइरहेका छन् । मम्स् होम र फ्रेन्डस् होमका संचालक राजेन्द्र सापकोटा कोरोना भाइरसको प्रभावले नेपालको होटल व्यवसाय धराशायी हुने अवस्था सिर्जना भएको बताउँछन् । उनका दुई होटलमा ४० कोठा छन् । विगतका वर्षमा विदेशी नयाँ वर्षको सुरुवाती दुई महिनामा ७० प्रतिशत र त्यसपछिको तीन महिनामा ९० प्रतिशतभन्दा धेरै कोठा पर्यटकले भरिभराउ हुन्थे । तर अहिले सोही समयमा उनका दुई होटलका ४० मध्ये ६ वटा कोठा मात्र बुक छन् । 

होटल व्यवसायी सापकोटा अहिलेको अवस्था माओवादी जनयुद्ध र २०७२ सालको भूकम्पभन्दा जटिल बनेको अनुभव सुनाउँछन् । ‘म भाडामा घर लिएर होटल चलाउँछु । व्यवसायका लागि बैंकबाट लिएको ऋणको किस्ता तिर्नुपर्छ । यस्तो अवस्थाले न भाडा तिर्न सकिन्छ, न किस्ता नै,’ उनको दु:खेसो छ । आफूहरूको अहिले कर्मचारीलाई तलब खुवाउनसमेत हम्मेहम्मे पर्ने अवस्था रहेको उनले बताए । यो समयलाई संक्रमणकाल घोषणा गरेर भाडा तिर्ने अवधि ३ महिना र बैंकको किस्ता तिर्ने समय ६ महिनासम्म पर सार्ने व्यवस्था सरकारले गर्नुपर्ने राजेन्द्रको माग छ । 

समयमै सरकारले पर्यटन व्यवसायीसँग सम्बन्धित क्षेत्रमा कुनै पहल कदम नचाले धेरै यो क्षेत्रबाट विस्थापित हुने र समग्र क्षेत्र धराशायी हुने सम्भावना रहेको टानका अध्यक्ष सुवेदीले औंल्याए । यो अवस्थालाई ध्यानमा राखेर सरकारले आन्तरिक पर्यटन प्रबद्र्धन गर्नुपर्ने उनको भनाइ छ । अवस्था सामान्य हुनासाथ विदेशी पर्यटक भित्र्याउनेतर्फ अहिल्यैदेखि गृहकार्य गर्न नसके देशले पर्यटनसँगै अर्थतन्त्रमा नै उथलपुथल ल्याइदिने सुवेदीको भनाइ छ ।

सधै पर्यटनले भरिभराउ हुने लुम्बिनी यतिबेला सुनसान रहेको शाक्य गेस्ट हाउसका म्यानेजर रमेश उपाध्याय बताउँछन् । आफ्नो होटलमा २५ कोठा रहेको र प्राय: ती कोठा भरिने गरेको बताउँदै उनले हाल दुईभन्दा धेरै कोठा भरिन मुस्किल रहेको गुनासो पोखे । भन्छन्, ‘बुकिङ भएका कोठाहरु पनि सबै क्यान्सिल भइसके । लुम्बिनी क्षेत्रमा न बजारमा चहलपहल छ, न होटलहरूमा नै पर्यटक छन् ।’ कोरोना त्रासका कारण होटलहरूमा हुने पार्टी तथा जमघटका कार्यक्रम भएका छैनन् । आन्तरिक पर्यटक पनि घरबाहिर निस्किएका छैनन् ।

चितवनको पर्यटकीय नगरी सौरहासमेत यतिबेला सुनसान छ । सौरहास्थित होटल रेन फरेस्टका निर्देशक राजेन्द्रकुमार विष्ट कोरोनाका कारण सौरहा सुनसान भएको बताउँछन् । उनले संचालन गरेको होटलमा २४ वटा कोठा छन् । जसमध्ये हाल २ वटा कोठामात्र बुक छन् । निर्देशक विष्ट साप्ताहिकसँग दु:खेसो पोख्छन्, ‘बैंकबाट ऋण लिएर होटल संचालन गरिरहेका छौँ । अहिलेको अवस्था हेर्दा अब होटल चलाएर बाँच्न सकिएलाजस्तो छैन ।’ काठमाडौंको ठमेल र पोखराको लेक साइडको अवस्था पनि यस्तै छ । यी ठाउँका होटल हरेक दिनजसो पर्यटकले भरिभराउ हुन्थे । धेरै होटलले कामदारलाई बिदा दिएर होटल बन्द गरिसकेका छन् ।

 

वैदेशिक रोजगार प्रभावित

कूल ग्रार्हस्थ उत्पादन (जीडीपी) का आधारमा रेमिट्यान्सले योगदान पुर्‍याएका मुलुकमध्ये नेपाल छैठौं नम्बरमा पर्ने गत वर्षको रेमिट्यान्ससम्बन्धी तथ्यांकले देखाएको छ । नेपाली अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारीको विप्रेषणले धानेको अवस्थामा वैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा आउने गिरावटले त्यसमा नकारात्मक प्रभाव पार्ने देखिन्छ । विभिन्न देशमा रोजगारीका लागि जाने नेपालीको श्रम स्वीकृति रद्द गर्ने विषयमा सम्बन्धित सरकारी निकायबीच छलफल भइरहेको छ । अन्तर्राष्ट्रिय उडान रोक्ने विषयमा भने बुधबार साँझसम्म सरकारले कुनै कदम चालेको छैन । 

कोरोना संक्रमणको त्रासका कारण विदेश जाने नेपाली कामदारको संख्यामा अघिल्लो महिनादेखि नै प्रभाव देखिएको छ । रोजगारीका लागि नेपालको मुख्य गन्तव्यका रूपमा रहेका राष्ट्रमा कोरोनाको संक्रमणसँगै विदेश जाने कामदारको संख्या घटेको हो ।

दक्षिण कोरिया रोजगारीका लागि नेपालीहरूको मुख्य गन्तव्यमध्येको एक हो । तर चीनपछि कोरोनाको सबैभन्दा धेरै प्रभाव दक्षिण कोरियामा नै परेको छ, जसकारण फागुन ११ गतेफ्लाइट रहेका ४५ जना नेपाली दक्षिण कोरिया जानबाट रोकिएका छन् । सन् २०१७–१८ मा इपीएस परीक्षा पास गरेका नेपाली कामदार लिन कोरियाले समय सारेपछि उनीहरुको उडानबारे अन्यौलता छाएको हो । उनीहरूको फ्लाइट फागुन १९ का लागि सारिएको भए पनि सो समयमा पनि उडान हुन नसकेको रोजगारी अनुमति प्रणाली (इपिएस) शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । अब उनीहरूको कोरिया उडान अन्योलमा छ । कोरियामा कोरोना संक्रमणको संख्या बढ्दै गएसँगै अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । बुधबार साँझसम्म कोरियामा रहेका नेपालीमा अहिलेसम्म संक्रमण नदेखिए पनि उनीहरू त्रासमा छन् । राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७६–७७ को पहिलो चार महिनामा दक्षिण कोरियाबाट ६ अर्ब १५ करोड रेमिट्यान्स भित्रिएको छ ।

दक्षिण कोरियासँगै नेपालको रोजगारदाता अन्य मुलुकमा पनि कोरोनाको संक्रमण देखिएको छ । नेपालीको रोजगारीको अर्को मुख्य गन्तव्य जापान हो । जापानमा पनि बुधबार साँझसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ । मलेसिया, कतार, युएई, ओमान, बहराइन, मकाउ, लेबनान थाइल्यान्ड, हङकङ, इरान, भारत, क्यानडा, बेलायत, अस्ट्रेलिया, अमेरिकालगायतका देशमा कोरोनाको संक्रमण देखिइसकेको छ । यी देशको दिनप्रतिदिन संक्रमण हुनेको संख्या बढ्दै गएको छ भने केही देशको भाइरसका कारण नागरिकको मृत्युसमेत भइसकेको छ । यी देशमा रोजगारी तथा अध्ययनका लागि लाखौं नेपाली पुगेका छन् । विश्वभरि झन्डै ५० लाख नेपाली छरिएका छन् । उनीहरूका बीचमा पनि कोरोना त्रास बढिरहेको छ । दक्षिण कोरियामा रहेका गणेश पौडेल आफूहरू त्रासमा बाँचिरहेको बताउँछन् । भन्छन्, ‘अवस्था जटिल बन्दैछ । नेपालीले आफ्नो काम गरिरहेका छन् । हामी ठूलो त्रासमा छौँ ।’

खाडी मुलुक विशेषगरी मध्यपूर्वी एसिया नेपाली कामदारको बर्चस्व रहेको क्षेत्र हो । यस क्षेत्रमा झन्डै १० लाख नेपाली रहेको तथ्यांक सरकारसँग छ । विश्व स्वास्थ्य संगठनले यो क्षेत्रलाई उच्च जोखिममा राखेको छ । स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोनाको उच्च जोखिममा राखेका कारण रोजगारीमा नेपालीलाई लिने देशहरू संयमित भएका छन् । यसको उदाहरण गत साता बहराइनका लागि हिँडेका नेपाली कामदार हुन् ।

बहराइन हिँडेका ३० नेपालीलाई दुबईबाट फिर्ता पठाइएको थियो । नेपाललाई विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखिमयुक्त क्षेत्रमा राखेका कारण उनीहरुलाई इमिग्रेसनले प्रवेशमा रोक लगाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बहराईनले कोराना प्रभावित मुलकबाट हुने सबै उडानमा रोक लगाएको छ । 

वैदेशिक राजगार विभाग महानिर्देशक कुमारप्रसाद दाहाल कोरोनाका उच्च जोखिममा रहेका मुलुकमा श्रम स्वीकृति नदिनेबारे छलफल भइरहेको बताउँछन् । कोरोनाका संक्रमणका कारण म्यानपावरहरुले कामदारको अन्तर्वार्ता लिन बन्द गरेको र कामदार आफै पनि विदेश उड्न नचाहेको आफूले पाएको उनको भनाई छ । 

बैदेशिक रोजगार विभागको तथ्यांक हेर्ने हो भने गत पुसमा बैदेशिक राजगारीका लागि विभिन्न देशमा जाने नेपालीको संख्या ५२ हजार थियो । तर, माघमा सो संख्या ४८ हजारमा झरेको छ । विभिन्न देशले विदेशी नागरिक आगमनमा रोक लगाएपछि श्रम स्वीकृति लिए पनि नेपाली कामदारले उडान भर्न पाएका छैनन् । नेपाली कामदारको आकर्षण रहेका देशहरुमा कोरना संक्रमण देखिएपछि ती देशले अन्तर्राष्ट्रिय फ्लाइट रोकेका कारण त्यसको प्रभाव नेपाली कामदारमा पनि देखिएको हो ।

फागुन महिनाको १७ दिनमा झन्डै २७ हजार नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । तर श्रम स्वीकृति लिएका सबै नेपाली सम्बन्धित देशमा उड्न भने पाएका छैनन् । फागुन महिनाको सुरुवाती १५ दिनमा कुवेत जानका लागि १२ सयभन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएका थिए । तर कुवेत सरकारले कोरोना संक्रमणपछि कुनै पनि देशबाट कामदार नभित्र्याउने निर्णय गरेको छ, जसकारण नेपाली कामदारको कुवेत यात्रा अनिश्चित कालका लागि रोकिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे वैदेशिक रोजगारीमा जानेको संख्या दिनप्रतिदिन घट्दै जानुले नेपाल भित्रने रेमिट्यान्समा कमी हुने र बेरोजगारको संख्या बढ्ने देखिएको बताउँछन् । भन्छन्, ‘यो बैदेशिक रोजगारको सिजन हो । यसबेला अन्य वर्षहरूमा १२ सयसम्म नेपाली कामका लागि दैनिक विभिन्न देश जाने गर्थे तर अहिले दिनमा बल्लतल्ल सय जना उडिरहेका छन् । तर अहिले अवस्था निकै दयनीय बन्दै गएको छ ।’ 

वैदेशिक रोजगारका लागि जाने मेन पावरहरूमा जानेको संख्यासमेत घटेको छ । काठमाडौंका विभिन्न म्यान पावरमा बुझ्दा रोजगारीका लागि बुझ्न आउनेहरूको संख्या ६० प्रतिशतभन्दा धेरैले घटेको पाइएको छ । यसरी कोरोना संक्रमणले म्यान पावर व्यवसायलाई पनि संकटमा पारेको छ । अध्यक्ष गैरे यो अवस्थाको सामना गर्दै धैर्य अपनाउनुबाहेक अब अर्को विकल्प नरहेको बताउँछन् । 

पूर्व अर्थसचिव रामेश्वर खनाल भने बजारमा हल्ला भएजस्तो रेमिट्यान्सका कारण नेपालको आर्थिक क्षेत्र ध्वस्त नहुने दाबी गर्छन् । वैदेशिक रोजगारीमा नेपाली कामदारको तथ्यांक हेर्ने हो भने आउने र जानेको संख्यामा खासै फरक नहुने भएकाले त्यसले त्यतिधेरै प्रभाव नपार्ने उनको भनाइ छ । ‘कोरोनाका कारण नेपाली रोजगारीका लागि जान नपाउने मात्र होइन, त्यहाँ रहेकाहरू पनि आउन पाउँदैछन्,’ भन्छन्, ‘हाम्रो तथ्यांकमा फर्किएर नेपाल आउने र जानेको संख्यामा त्यति धेरै अन्तर छैन । त्यसैले यसले अर्थतन्त्रामा सामान्य असरमात्र पार्छ ।’ कोरोनाका कारण अन्य क्षेत्रमा भने प्रभाव पर्ने र नेपालको समग्र अर्थतन्त्र प्रभावित हुने उनको भनाइ छ ।

प्रकाशित :फाल्गुन २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×