साप्ताहिक संवाददाता
कोरोना संक्रमण त्रासले फागुन ३० मा प्रदर्शन हुने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति अनिश्चित कालका लागि स्थगित भएको छ । चलचित्रका निर्देशक तथा निर्माता सुदर्शन थापाले कोरोना भाइरसका कारण घोषित मितिमा यो चलचित्र प्रदर्शन गर्न नसकिएको जनाएका छन् ।
उनको टिमले आज एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘सरकारले धेरै मानिस एकै ठाउँमा भेला नहुन, भीडभाडमा नजान निर्देशन दिएको छ, त्यसमा ऐक्यबद्धता जनाउँदै हामीले चलचित्र प्रदर्शन रोकेका हौं । प्रतीक्षाको घडि लामो हुन पुगेकोमा क्षमाप्रार्थी छौं ।’
हाल नेपाली चलचित्र आमा र सेन्टी भाइरस हलमा प्रदर्शन भइरहेका छन् भने आजै बलिउड चलचित्र ‘बागी ३’ प्रदर्शन भएको छ । तर, यो चलचित्रले जे जस्तो किसिमको व्यापार गर्छ भन्ने सोच राखिएको थियो त्यो अनुसार नभएपछि म यस्तो गीत गाउँछु टिमले प्रदर्शन मिति सारेको बुझिएको छ ।
अब यो चलचित्र कहिले प्रदर्शन हुन्छ एकिन छैन । निर्माण टिमले छिट्टै कोरोनाको माहोल हेरेर नयाँ मिति घोषणा गर्ने योजनामा रहेको छ ।