साप्ताहिक संवाददाता
३१ डिसेम्बरमा चीनको वुहान सहरमा पहिचान भएको कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण यतिबेला विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टमा विश्वका ७३ देशमा संक्रमण फैलिएको पुष्टि गरेको छ । जसमा ९० हजार ८ सय ७० जना कोरोनाबाट संक्रमित छन् भने ३ हजार १ सय १२ ले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।
कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या चीनमा सबैभन्दा बढी छ । जहाँ मंगलबारसम्म २ हजार ९ सय ४६ ले ज्यान गुमाइसकेका छन् भने ८० हजार ३ सय ४ कोरोनाबाट संक्रमित भएको डब्लुएचओले पुष्टि गरेको छ । त्यसमध्ये पनि चीनको हुवेई प्रान्तमा सबैभन्दा धेरै मानिस संक्रमित छन् । उक्त प्रान्तमा कोरोनाबाट २ हजार ८ सय ३४ ले ज्यान गुमाएका छन् भने ६७ हजार २ सय १७ संक्रमित छन् । यस्तै चीनपछि दक्षिण कोरियामा ४ हजार ८ सय १२ मा कोरोना भाइरस संक्रमण देखिएको छ भने २८ को मृत्यु भएको छ । इरानमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६ छ, भने १ हजार ५ सय १ मानिस कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।
इटलीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५२ छ भने २ हजार ३६ जना संक्रमित भएको पाइएको छ । यस्तै, जापानमा कोरोनाबाट ६ ले ज्यान गुमाएका छन् भने २ सय ६८ कोरोना संक्रमित छन् । त्यसपछि फ्रान्समा ३ र अमेरिकामा २ ले ज्यान गुमाएका छन् । यस्तै अस्ट्रेलिया, फिलिपिन्स, थाइल्यान्डमा १/१ जनाको मृत्यु भएको छ भने फ्रान्समा १ सय ९१, अमेरिकामा ६४, अस्ट्रेलियामा ३३, फिलिपिन्समा ३ र थाइल्यान्डमा ४३ संक्रमित छन् ।
यस्तै जापानको योकोहा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेकामध्ये ६ ले कोरोना भाइरसबाट ज्यान गुमाए । ‘डाइमन्ड प्रिन्सेस’ नामक उक्त जहाजमा सवार ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको डब्लुएचओले जनाएको छ । त्यसैगरी सिंगापुरमा १ सय ८ मा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै मलेसियामा २९, भियतनाममा १६, न्यूजिल्यान्डमा २, कम्बोडियामा १, जर्मनीमा १ सय ५७, स्पेनमा १ सय १४ मा कोरोना संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । यस्तै बेलायतमा ३९, स्विजरल्यान्डमा ३०, नर्वेमा २५, अस्ट्रियामा १८, स्विडेनमा १५, इजरायलमा १०, क्रोएसिया र आइसल्यान्डमा ९/९ जना कोरोना संक्रमित छन् ।
सान मारियो र बेल्जियममा ८/८, फिनल्यान्ड र ग्रिसमा ७/७, डेनमार्क ५, अजरबैजान, चेचिया, जर्जिया, रोमानियाँ, रुसलगायतका देशमा ३/३ र पोर्चुगलमा २ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी एन्डोरा, अर्मानिया, बेलारुस, एस्टोनिया, आएरल्यान्ड, लाटभिया, लिथ्वानिया, लक्जमबर्ग, मोनाको, नर्थ म्यासेडेनियालगायतका देशमा १/१ संक्रमित छन् ।
यस्तै भारतमा ५, इन्डोनेसियामा २, नेपाल र श्रीलंकामा १/१ जनामा कोरोना संक्रमण देखिएको छ । कुवेतमा ५६, बहराइनमा ४९, इराकमा २६, दुबईमा २१, लेबनानमा १३, कतारमा ७, ओमनमा ६, पाकिस्तानमा ५, इजिप्टमा २, अफगानिस्तान, जोर्डन, मोरक्को, साउदी अरेबिया, ट्युनिसियालगायतका देशमा १/१ जनामा भाइरस देखिएको डब्लुएचओले पुष्टि गरेको छ ।
यसैगरी क्यानडामा २७, इक्वेडरमा ६, मेक्सिकोमा ५, ब्राजिलमा २ र अल्जेरियामा ५, डोमिनिकन रिपब्लिक, नाइजेरिया, सेनगललगायतका देशमा १/१ जना कोरोना भाइरस संक्रमित रहेको डब्लुएचओले जनाएको छ ।