सुदूरको स्वाद

- - मोहन बुढाऐर

फाल्गुन २५, २०७६

 

कला, संस्कृति र प्राकृतिक सम्पदाले भरिपूर्ण सुदूरपश्चिम प्रदेश मौलिक स्वादका दृष्टिले पनि भिन्न छ । डुप्का, बटुकदेखि झरसम्मका खानेकुराहरूले सुदूरपश्चिमको खानपिन शैली झल्काउँछन् । माडा, मोही, निस्सासे रोटीदेखि मास, कोदो र सिस्नोको फाँडोसम्मका परिकारहरू यहाँका पहाडी भेगका चुलोमा पाक्छन् । 

तराईको समथल भूभागमा बसोबास गर्ने राना थारु र चौधरी समुदायका अलग्गै खानपिन मेनु छ । ढिक्री, अन्डीको भात, घोंघी, गङ्गटा, माछा, कचरी बरिया, बंगुरको सुकुटी र लोकल कुखुराको मासु यो समुदायको अलग स्वाद झल्काउन काफी छ । राना थारुको कतरा, पतौरा, फटा ढिक्रीजस्ता खानेकुरा विशेष मानिन्छन् । 

फागुन १४ देखि २० सम्म धनगढीको पुरानो एयरपोर्टको खुलामञ्चमा आयोजित सुदूरपश्चिम खाना महोत्सवमा यस्तै मौलिक स्वादका खानाका स्टल थिए । महोत्सव अवलोकन गर्न आउने अधिकांशले सुदूरको मौलिक खानाको नयाँ स्वाद चाख्न पाए । कतिले आफ्नै भान्सामा सुदूरको मौलिक खाना पकाउन यहाँबाट खाद्यवस्तु किनेर लैजाने मौका समेत पाए । 

‘आफ्नो मौलिक खाना पनि आफ्नै भान्सामा पाक्ने रहेनछ,’ धनगढी–५ की शर्मिला भट्टले भनिन्, ‘महोत्सवमा मौलिक परिकारको स्वाद चाख्ने अवसर त पाइयो नै, पकाउने तरिकासमेत सिकेर फर्कंदैछु ।’ उनले सजिलै पकाउन सकिने खाद्यवस्तु किनेर समेत लगिन् । नास्ता वा खानाका रूपमा प्रयोग गर्दा स्वास्थ्यका लागिसमेत लाभदायक हुने र पाहुना आउँदा नयाँ स्वाद दिन सकिने भएकाले उनले तरकारी र खाद्यवस्तु लिएकी हुन् । त्यसका लागि उनले कोदाको आँटो, सिस्नो, चिनो, हिमाली सिमीलगायत किनिन् । 

हरिना जोशीले पनि महोत्सवमा आफ्ना मौलिक परिकार चिन्न पाइन् । ‘हाम्रो पिंढीले मौलिक परिकार त्यागिसकेका रहेछौं,’ उनले चिन्ता जाहेर गरिन्, ‘त्यसको जगेर्ना गर्न पनि यस्ता मौलिक खाना भान्सामा पाक्न आवश्यक छ ।’ यसका लागि यस्ता महोत्सव भइरहनुपर्ने र बजारमा मौलिक परिकारका लागि अर्गानिक खाद्यवस्तु पनि पाइनुपर्ने उनको भनाइ थियो । 

‘सुदूरपश्चिमकै बासिन्दा भए पनि मौलिक खानाको स्वाद नपाएका धेरै भेटिए,’ बाजुरेली सेवा समाजका सुरेन्द्र थापाले भने, ‘महोत्सवमा उनीहरूले मौलिक खानाको स्वाद पनि चाखे, पकाउने तरिका सिकेर खाद्यवस्तुसमेत किने ।’ खाना महोत्सवमा प्रौढका साथै नयाँ पिंढी पनि उपस्थित भएकोमा उनी खुसी देखिए । ‘कोदाको र सिस्नोको फाँडो नयाँ पिंढीका केटाकेटीले मीठो मानी–मानी खाए,’ उनले भने, ‘यस्तो स्वास्थ्यलाई लाभदायक मौलिक खाना भान्साका साथै स्कुलको टिफिनमा पनि राख्न हामीले उत्प्रेरित गर्‍यौंं ।’ 

खाना महोत्सव आयोजक समितिका संयोजक तथा होटल व्यवसायी संघका अध्यक्ष कमल बमले सुदूरका नौ जिल्लाका २८ भन्दा बढी परिकार महोत्सवमा पाकेको बताए । सुदूरपश्चिमकै रैथानेले पनि अन्तरजिल्ला, जाति–समुदायको चुलोमा पाक्ने खानाका परिकारको स्वाद चाख्न पाएको उल्लेख गरे । महोत्सवमा डँडेलधुरा, बैतडी, अछाम, बाजुरा, बझाङ, दार्चुला र डोटी गरी सातवटै पहाडी जिल्लाको खानाका स्टल थिए । बैतडी समाजले स्टलमा मकैको रोटी, ताले माडा, डोटीले फाउने माडा, सेल, बाबर, गहतानी डुब्कालगायतका परिकारहरू पस्केको थियो । अछाम सेवा समितिले राखेको स्टलमा अछामी कोदोको सेल, सिस्नाको तरकारी र सुकटी, बेथेको साग र मासको बटुक राखेको थियो । ‘बनानज किङ’ भनिएर चिनिएका कालु हमालले केराबाट बनेका खाद्यका विभिन्न परिकार स्टलमा राखेका थिए । त्यस्तै, कैलाली र कञ्चनपुरका आदिवासी थारु राना र मगरलगायत जातिका मौलिक परिकारका स्टलहरू रहेका थिए । 

हजार लिटरको भाँडामा फाँडो 

महोत्सवमा १ हजार लिटरको भाँडोमा चार जनाले पकाउँदै गरेको फाँडो प्रमुख आकर्षण बनेको थियो । सुदूरपश्चिमका पहाडमा पाइने विभिन्न खाले गेडागुडीबाट बनाइने एक प्रकारको बाक्लो सुप हो— फाँडो । यो मासको बनाइन्छ । 

विश्व नेपाली साहित्य महोत्सवमा भाग लिन आएका भारत, अमेरिका, अस्ट्रेलिया, बर्मालगायतका नेपाली भाषा–साहित्यका साथै महोत्सव अवलोकन गर्न आउने अघिकांशले फाँडोको स्वाद चाखे । 

फाउने र ताले माडा

महोत्सवमा बाडुली स्टलले ‘फाउने माडा’ र बैतडी समाज सेवा समितिबाट सञ्चालित स्टलमा ‘ताले माडा’ अवलोकनकर्ताको रुचिमा पर्‍यो । यो चामलको पीठोबाट बनाइने एक प्रकारको रोटी हो, जुन सुदूरपश्चिमेलीको विशेष खानामा पर्छ । 

फाउने माडा चामलको पीठो, दही, मह र चिनी मुछेर तावामा रोटी आकारमा पकाइन्छ । मीठो खानेहरू यसमा चिनी पनि मिसाउन सक्छन् । पाकेको माडामा घिउ लगाएर रोटीको तह थप्दै पकाइने परिकारलाई ताले माडा भनिन्छ । यो २ देखि ४ इन्चसम्मको मोटो आकारमा पकाइन्छ । तह–तहमा घिउ लेप लगाएर पकाइने ताले माडा एक्लैले खान हम्मे पर्छ । अछाम, बैतडी, डँडेलधुरातिर ताले माडा र डोटी जिल्लातिर फाउने माडा पकाउने चलन छ । ताले माडाको तुलनामा फाउने माडा पकाउन सजिलो र खान बढी मीठो हुने भएकाले यसको प्रचलन अचेल बढी छ । फाउने माडा डोटीतिर बढी पकाइने भए पनि अचेल सबैतिर पाउन सकिन्छ । 

गहतानी डुप्का 

गहतानी डुप्का डोटीतिरको दालविशेष परिकार हो । यो बैतडी र डँडेलधुरामा पनि पकाउने चलन छ । अचेल सुदूरका सबै जिल्लामा यस प्रकारको दाल पकाउने प्रचलन बढ्दै गएको छ । भिजाएको मासको दाल पिसेर त्यसको गोलो अथवा लामो आकारको रोटीजस्तो बनाई गहत र मासको दालमा पकाई यो परिकार बनाइन्छ । दालको रोटीभित्र बोसो हालेर पनि बनाउन सकिन्छ । यसलाई बोसे डुप्का भनिन्छ । 

निसासे

चाडबाडका बेला सुदूरपश्चिमका पहाडी जिल्लामा पकाइने विशेष मौलिक परिकारमा निसासे पनि पर्छ । विशेष गरी डोटी, डँडेलधुरा, बैतडी र अछाममा यो परिकार पाक्छ । 

केरा, घिउ, दही र चामलको पीठो एकै ठाउँमा मिसाई केराकै पातले हावा नछिर्ने गरी बाँधेर मन्द आगोमा सेकेर निसासे तयार गरिन्छ । यसमा वनतरुल पनि मिसाउने चलन छ । कतिपय ठाउँमा मासको पीठोमा घिउ मुछेर केराको पातले बन्द गरेर पनि निसासे पकाइन्छ । 

बटुक 

यो मासको दालबाट बनाइने परिकार हो । भिजाएको मासको दाललाई सिलौटामा पिसेर गोलो आकार दिई तेल वा घिउमा तारेर बटुक तयार पारिन्छ ।

प्रकाशित :फाल्गुन २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×