महिलाको भर्जिनिटी पुन: प्राप्त गर्न सकिन्छ

- डा. राजेन्द्र भद्रा

चैत्र ५, २०७६

 

  के महिलामा भर्जिनिटी प्राकृतिक रूपमा पुन: प्राप्त गर्न सकिने स्थिति छ ? 

                                                                                     –३७८

कौमार्यताको कुरा 

विशेष गरेर महिला अर्थात् केटीको कौमार्य विकसित मानव सभ्यताको मात्र नभई पहिलेदेखि नै मानव यौनिकताको एक महत्त्वपूर्ण पक्ष रहेको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि समाजमा रहेको पाइन्छ । विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए/नभएको कुराले निकै महत्त्व राख्ने गरेको पाइन्छ । यस्तो स्थितिको कन्या कुमारीलाई अक्षत योनि भन्ने गरिन्छ र अंग्रेजी शब्द भर्जिन (Virgin) यसका लागि प्रयोग गरिन्छ ।

कुनै व्यक्तिसँग पनि यौनसम्पर्क राख्नु नै कौमार्य भङ्ग हुनु हो । अहिले कस्तो किसिमको यौन क्रियाकलापलाई यौनसम्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । केटी (महिला) का लागि कुमारीत्व र केटा (पुरुष) का लागि कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक पनि हो । लिङ्ग प्रवेश नभई यौन उत्तेजक रूपमा यौनाङ्गमा हात, औंलाको भरपुर प्रयोग गरेर यौन क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जस्ता प्रश्न बाँकी नै रहन्छ । जैविक रूपमा यौनसम्पर्कको अनुभवहीनता नै कौमार्य भङ्ग नहुन अर्थात् कुमार वा कुमारी हुनु हो । धेरैजसो स्थितिमा कौमार्य (Virginity) भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिने गरिन्छ । त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीक्षण गर्ने अनेक उपाय गरिएको भेटिए पनि विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ वा छैन भन्ने कुरामा भर पर्ने गरेको देखिन्छ । 

कौमार्यताको परीक्षण

योनि महिलाको नली आकारको प्रजनन अङ्ग हो र बाहिरबाट देखिने प्वाललाई योनिद्वार भनिन्छ । यही योनिद्वारको ठीक भित्रपट्टि गुजमुज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ, यसलाई योनिच्छद (Hymen) भनिन्छ । पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छेद यौनसम्पर्क गर्दा च्यातिन गई रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए वा नभएको आधार बनाइन्थ्यो, तर वास्तविक कुरा के हो भने यो आधारलाई वैज्ञानिक मान्न सकिन्न । कुनै–कुनै केटीहरूको योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्ररी विकास नै नभएको हुनसक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ । महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा त अहिले आएर पक्का शारीरिक सम्बन्ध राखेका वा नराखेको भन्न सकिने स्थिति छैन । पुरुषमा त यो झन् अप्ठयारो हुन्छ भन्ने कुरा त स्पष्ट नै छ ।

कौमार्य पुन: प्राप्त गर्न सकिएला ? 

यौन सम्पर्कको अनुभवहीनता नै कौमार्य कायम भएको स्थिति हो । यौन सम्पर्कको अनुभव एकपल्ट भएपछि यसलाई अनुभवहीनताको अवस्थामा प्राकृतिक होस् वा कृत्रिम तरिकाले लान वा जान सकिन्न । कतिपय सम्प्रदायमा यौनसम्पर्क राखिए पनि कौमार्य नवीकरण गरिने प्रचलन रहेको सुन्न पाइन्छ, तर अहिले कुरा फरक भएका छन् । तपाईंले एकपटक यौनसम्पर्कको अनुभव लिएपछि कोही पनि पुन: अनुभवहीनताको स्थितिमा पुग्न सक्दैन । बिर्सनुले पनि त्यो स्थितिमा पुगिन्न । त्यसैले सैद्धान्तिक रूपमा तपाईंले कौमार्यतालाई फर्काउन सक्नुहुन्न । 

सायद तपाईंले योनिच्छदलाई पुन: बनाउने कुरा गर्नुभएको होला । अहिले कतिपय देशमा यसको चलन छ । च्यातिसकिएको भए पनि शल्यक्रिया गरेर पुन: बनाइने (हाइमेनोराफी Hymenorrhaphy (हाइमेनोराफी) गरेको पनि पाइन्छ, जसले योनिच्छदलाई कुमारीत्वको आधार मान्ने कुरालाई थप जटिल र अमान्य बनाइदिएको छ । यो प्राकृतिक रूपमा आफैं पुरानै अवस्थामा फर्कने स्थिति हुँदैन । यसको अर्को पाटो पनि हेरौं, कतिपय महिलाको सन्दर्भमा कैयौं पटक यौनसम्पर्क राखिसकेपछि पनि योनिच्छद नच्यातिएको अवस्थामा भेटिएको छ । 

तपाईंको प्रश्न किन ? 

पहिलेको प्रेम तथा यौनसम्बन्धबारे चर्चा गरिएन भने तपाईं यस अवस्थाबाट गुज्रनुभएको होला भन्ने थाहा पाउन सजिलो छैन । महिला यौनअङ्गको बनावटबारेमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि कुनै एक व्यक्ति योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने त थाहा हुँदैन र यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो । कुमारीत्व योनिच्छद भए/नभएको कुरालाई आधार बनाउन नमिल्ने कुरा त तपाईंले बुझि नै सक्नुभयो ।

विचार गर्नुपर्ने कुरा के भने घर–परिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि नियालिरहेको हुन्छ र गोप्यता वा गोपनियताको कुरा वास्तवमा तुलनात्मक हुन सक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छ र अन्त्यमा थाहा नपाओस् भन्ने चाहना भएको व्यक्ति जस्तै कि श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुन सक्छ ।

तर तपाईंले यो प्रश्न किन सोध्नुभएको हो, सोको जानकारी पाउन पाएको भए तपाईंको जिज्ञासाको सही अर्थमा समाधानको कुरा गर्न सकिन्थ्यो ।

प्रकाशित :चैत्र ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×