साप्ताहिक संवाददाता
अभिनेत्री आँचल शर्मा वैवाहिक जीवनमा बाँधिए लगत्तै उनको अनस्क्रिन जोडी पल शाहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा रोचक काम गरेका छन् । इन्स्टाग्राममा पललाई झन्डै डेढ लाख जनाले पछ्याएका छन् भने उनले जम्मा सात जनालाई मात्र पछ्याएका छन् । अघिल्लो वर्षसम्म उनले पछ्याउनेहरूको संख्या १० थियो, जसमा अभिनेत्री आँचल शर्मा पनि थिइन् ।
आँचलको विवाहका मिति निश्चित भएपछि पलले आँचललाई अनफलो गरिदिए । अरू त ठीकै हो, पलले आँचललाई नै अनफलो गर्दा चलचित्र क्षेत्रमा त्यसको चर्चा चल्न थालेको छ । विगतमा उनीहरू प्रेमसम्बन्धमा थिए भन्ने चर्चासमेत चलेको थियो, पछि ब्रेकअपको कुरा पनि बाहिरियो । यसैबीच, आँचलको विवाह पार्टीमा पल शाहलाई अधिकांशले खोजिरहेका थिए, तर उनी पार्टीमा उपस्थित भएनन् ।
पार्टीकै छेको पारेर पल शाह अभिनेत्री पूजा शर्मासहितको समूहसँग मुक्तिनाथ दर्शनका लागि निस्किए । आँचलको विवाहको भोलिपल्ट शुक्रबार काठमाडौं छाडेका पल र पूजाको समूह विवाह भोज (शनिबार) को भोलिपल्टमात्र काठमाडौं फर्किए । काठमाडौंमै रहेर आँचलको विवाह भोजमा उपस्थित नहुँदा राम्रो सन्देश नजाने भन्दै पल काठमाडौंबाट बाहिरिएको अनुमान गर्न खासै गाह्रो पर्दैन ।