हाम्रोमा राम्रो निर्देशक नै छैन 

- राजेश हमाल

चैत्र १०, २०७६

 

फिल्म मेकिङ अत्यन्तै सिर्जनात्मक काम हो । तसर्थ, निर्देशन स्वाभाविक रूपमा सिर्जनात्मक हुनुपर्छ । तर, हामीले निर्देशन पेसालाई त्यति गम्भीरतापूर्वक लिएनौं । सिनेमालाई विषयको गहिराइमा बुझ्ने स्तरको निर्देशक नेपाली चलचित्रले अहिले पनि ‘मिस’ गर्छ । हामीकहाँ राम्रा बनेका चलचित्र पनि निर्देशकको खुबी भएर बनेका होइनन् । जसरी धेरैजसो चलचित्र बनाउँदा–बनाउँदै नराम्रा बन्छन्, त्यसैगरी बनाउँदा–बनाउँदै राम्रा बनेका हुन् । सिनेमाको ड्राइभिङ सिटमा निर्देशक हुनुपर्ने हो, हामीकहाँ निर्माता हावी छन् । यो हाम्रो तीतो वास्तविकता हो । 

व्यावसायिक फिल्म बनाउने निर्माताहरू फिल्म कलाका लागि.भन्दा व्यापारका लागि मात्रै हो भनेर आउँछन् । उनीहरू लगानीको तीन गुना बढी नाफाको लोभ राख्छन् । चलेका भनिएका फिल्ममा जे–जे खुराक थिए, त्यो–त्यो राख्न निर्माताले निर्देशकलाई दबाब दिन्छन् । सिर्जनाको उनीहरूलाई कुनै मतलब हुँदैन । नाफा कमाएकै फिल्मको सोचमा किन जाने भन्ने प्रश्न गर्ने निर्देशक पनि हुन्छन् । तर, निर्माताहरू बजारमा टेस्ट भइसकेको काम गर्ने हो, चुनौती किन मोल्ने भन्ने तर्क गर्छन् । ‘खालि सिरियस सिनभयो, यहाँ हँसाउने राख, यहाँ रुवाउने राख’ भन्छन् । यसरी सिनेमामा व्यापार हावी भइरहेको हो । 

सिनेमा वितरणको प्रणालीमा राम्रो विकास भए सँगसँगै सिनेमा निर्माणको माग पनि तिलियो । तपाईंसँग सिनेमाको ज्ञान छ, सिनेमा कसरी बन्छ भन्ने थाहा छ र कलाकारसँग सहज पहुँचको अवस्था छ तर पुँजी छैन भने पनि निर्माता बन्न सक्ने अवस्था आयो । धेरै निर्माण नियन्त्रकहरूले यसरी नै निर्माता भए । यस्तै माहोलका कारण पनि मैले अत्यधिक सिनेमा गर्ने वातावरण बन्यो । 

मलाई कतिले सोध्छन्– झुर सिनेमा किन गरेको ?सिनेमा कसैले पनि झुर बनाउँछु भनेर योजनाबद्ध काम थाल्दैन । तर, झुर सिनेमा बनिदिन्छ । कोही पनि फिल्ममेकर मकहाँ ‘ल राजेशजी, एउटा झुर सिनेमा छ, बजारमा चल्दैन तर तपाईं आबद्ध भइदिनुपर्‍यो’ भन्ने प्रस्ताव लिएर आएको हुँदैन । जो पनि आएर भन्छ, ‘राजेशजी, तपाईंले अहिलेसम्म नगरेको चरित्रमा एकदमै अद्वितीय स्क्रिप्ट छ, पूरा कथा सुन्नुभयो भने तपाईं आफै जिल खानुहुन्छ ।’ तर बन्दै जाँदा फिल्म फम्र्याटमै पुग्थ्यो । त्यो बेलामा फम्र्याटबाहिर सिनेमा बनायो भने दर्शकले पनि ‘यो के बनायो’ भन्थे । त्यसैले फम्र्याट एउटै हुन्थ्यो– हिरो, हिरोइन, भिलेन, हिरोको विद्रोह, सामाजिक विषयवस्तु, गीत, फाइट...। 

म सिनेमामा आउने बेलामा निर्देशकहरू नै कहाँ थिए र ? नाम चलेका चार–पाँचजना थिए, ती पनि बूढा–बूढा । अब भने समाज हामीभन्दा एक खुड्किला माथि पुगिसक्यो, बाहिरको सिनेमाको हामीकहाँ सहज पहुँच भइसक्दा पनि हामीचाहिँ उही पुरानै ढर्रामा गइरह्यौं । सायद पुराना निर्माता/निर्देशकलाई एकैपल्ट सोचाइमा परिवर्तन ल्याउन पनि गाह्रो भयो । नयाँ प्रविधि अनुसारको जनशक्ति तयार हुन सकिरहेका थिएनन् । समयको रफ्तारलाई पकड्न नसक्नु नेपाली फिल्मको सबैभन्दा ठूलो विडम्बना हो । यस्तो विडम्बनाको कारण के भनेर मलाई सोध्नु हुन्छ भने म भन्छु–राम्रो निर्देशककै अभाव हो । मैले माथि पनि भनिसकें– हामीले निर्देशनलाई जति गम्भीरताका साथ लिनुपथ्र्यो, त्यसरी लिएनौं । दुई–चार अरु सिनेमा हेरेपछि त्यहीबाट आइडिया टिप्दा भइहाल्छ नि भन्ने ठान्यौं । 

मैले आफ्नो फिल्म करिअरमा छायांकनको लोकेसनमा गएर निर्देशकसँग छलफलै गरिनँ । मेरो हस्तक्षेप लगभग ‘जिरो’ नै हुन्थ्यो । स्क्रिप्टमा सहमत भएर स्पटमा गइसकेपछि त्यो निर्देशक तपाईंको नजरमा चाहे क्षमतावान् होस् या कमजोर, तपाईंले उसलाई स्वतन्त्रता दिनैपर्छ । पहिलोपल्ट फिल्म बनाइरहेको निर्देशकलाई पनि मैले यस्तै व्यवहार गर्थे । ‘बेनिफिट अफ डाउट’ दिनुपर्छ । सम्पूर्ण चलचित्रको ठेक्का लिएर बसेको व्यक्तिलाई एउटै पात्रको भूमिका निर्वाह गर्ने जिम्मेवारी लिएको व्यक्तिले बीचबीचमा हस्तक्षेप गर्नु ठीक होइन । फिल्म मेकिङमा निर्देशकमात्रै यस्तो व्यक्ति हो,जसले छायांकन हुनुभन्दा अगाडि आफ्नो दिमागमा सम्पूर्ण फिल्म हेरिसकेको हुन्छ । त्यसकारण त्यो ‘बेनिफिट’ निर्देशकलाई दिनुपर्छ । मैले त्यसै गरें ।

मलाई लाग्छ,अहिले नेपालले राम्रो फिल्म निर्देशक खोजिरहेको छ । सिनेमामा कलाकार भनेको मुख्यत:औजार हो । हामी औजार हौं । औजारबिना निर्माण हुँदैन । तपाईं जतिसुकै कुशल निर्माणकर्ता किन नहोस्, तपाईंसँग घर बनाउने सीप छ, फर्निचर बनाउने सीप छ तर औजार छैन भने त्यसको अर्थ हुँदैन । हो, हामी त्यस्तै औजार हौं, जो आफंै सञ्चालित हुँदैन । कसको हातमा परेको छ, त्यसमा निर्भर हुने हो । त्यही पानी, त्यही चियापत्ती मलाई दियो भने अर्कै किसिमको चिया बनाइदिन्छु, त्यही तपाईंलाई दियो भने तपाईं अर्कै किसिमको चिया बनाइदिनुहुन्छ । निर्देशकत्यस्तै हो । अभिनेता–अभिनेत्री भनेका हामी त्यस्तै औजार हौं । बनाउने मान्छेले हामीलाई सही सदुपयोग गर्‍यो अर्थात् औजारको क्षमताअनुसार प्रयोग गर्‍यो भने पक्कै राम्रो प्रतिफल निस्किन्छ । जस्तो, मोबाइलजान्नेको हातमापर्‍यो भने उसले त्यसभित्रको सबै कुरा खोतल्छ । तर, कमजान्ने मान्छे छ भने ऊ फेसबुक, इन्स्टा र फोन गर्नेमै रुमल्लिन्छ । 

नेपाली सिनेमाको अर्को तीतो वास्तविकता के छ भने फिल्मको ड्राइभिङ सिटमा निर्देशक होइन, निर्माता बसिदिन्छन् । व्यापार पक्ष फिल्ममा हावी छ । निर्माता विशुद्ध पैसा लिएर आएको हुन्छ । उसले विशुद्ध पैसा कमाउने नियत राखेको हुन्छ । ऊ राम्रो फिल्म बनायो भने पैसा रहेछ है भन्ने मानसकितासहित आएको हुन्छ । फिल्ममा लगानी गर्‍यो भने तीन गुणा बढी नाफा हुन्छ भन्ने ठान्छ ।त्यसपछि सुपरहिट भएका  फिल्ममा के–के खुराक थिए, त्यो हेर्छ अनि आफ्नो निर्देशकलाई त्यहीत्यही खुराक हालेर मेरो पैसालाई तीन गुणा बढाइदिनुपर्‍यो भन्दै दबाब दिन्छ । उसलाई सिर्जनाको कुनै मतलब हुँदैन उसले। निर्देशक नाफाको पछि मात्रै हिंड्ने नरहेछ भने पनि निर्माता मान्दैन । निर्माता चुनौती किन मोल्ने भन्ने तर्क गर्छ । त्यसकारण सिर्जना र व्यापार मिसिँदा सिनेमामा व्यापार हावी हुने सम्भावना सधैं हुन्छ ।

(कुराकानीमा आधारित)

प्रकाशित :चैत्र १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×