संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का बारेमा सही जानकारी नहुँदा मानिसहरु डरमा बाँचिरहेका छन् । केही मानिस अझ अनावश्यक सतर्कता पनि अपनाइरहेका छन्, जो आवश्यक छैन । जस्तो, विना रुघाखोकीमा पनि एन ९५ मास्क लगाएर घुम्नु, सामान्य ज्वरो आउँदा कोभिड १९ को खतरा महसुस गर्नु । मानिसहरूको मनमा कोभिड–१९बारे उत्पन्न विभिन्न प्रश्नलाई जवाफ दिन अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) भोपालका निर्देशक तथा सिईओ सरमन सिंहसँग दैनिक भाष्करले ७ प्रश्न सोधेको छ :
१. मैले जुन कपडा सधैं लगाइरहेको हुन्छु, के त्यसबाट पनि संक्रमण हुन सक्छ ?
एकदमै सक्छ । तपाईं जुन कपडा लगाएर घरबाट बाहिर निस्कनुहुन्छ, त्यसलाई घर आएर तुरुन्त राम्रोसँग धुनुहोस् । किनभने हामी बाहिर निस्कदा कयौं मानिसहरुसँग ठोक्किन्छौं । यस्तोमा जो कोहीबाट संक्रमण कपडासम्म आउन सक्छ । कपडामा लगाएको हात मुख वा नाकको सम्पर्कमा आउँदा तपाई संक्रमित हुन सक्नुहुन्छ ।
२. के जुत्ता, चप्पल र घडीबाट पनि संक्रमण फैलन सक्छ ?
जुत्ता–चप्पलबाट संक्रमण फैलदैन । घडी लगाउनुहुन्छ भने त्यसलाई सेनिटाइज गरिरहनुहोस्, किनभने संक्रमित छिटाबाट घडिसम्म पनि संक्रमण आउन सक्छ ।
३. के मोबाइल, कम्प्युटर र ल्यापटपबाट पनि संक्रमण हुन सक्छ ?
एकदमै । यी सबै ग्याजेटको सेनिटाइज गर्न जरुरी छ । किबोर्डको सेनिटाइज गर्दै रहनुहोस् । मोबाइल स्क्रिनको पनि सेनिटाइज गर्नुहोस् । तर, यसबाट संक्रमण त्यतिबेला हुन सक्छ, जतिबेला कोही संक्रमित यस्ता वस्तुको आसपास रहन्छ । संक्रमण आफै पैदा हुँदैन्, कहीँ न कहीँबाट प्रसारित हुन्छ ।
४. के यो भाइरस हावामा पनि रहन्छ ?
एकदमै रहन सक्छ । हावाबाट विस्तारै–विस्तारै सतहमा आउँछ । हावामा केही मिनेटसम्म रहन्छ । यही कारण बाहिर ननिस्कन अपिल जारी गरिएको हो ।
५. कसैलाई संक्रमण छैन, तापनि उसँग दूरीमा बस्न जरूरी छ ?
हर व्यक्तिसँग दूरी जरूरी छ । घरमा हुँदा पनि परिवारका सदस्यसँग पनि कम्तिमा १ मिटरको दूरी बस्नुहोस् । कसैमार्फत पनि संक्रमण फैलिन सक्छ ।
६. के सबैले मास्क लगाउन जरूरी छ ?
जरूरी छैन । एन ९५ मास्क त विल्कुलै प्रयोग नगर्नुहोस् किनभने यो डाक्टर र नर्सका लागि हो । यदि तपाईंलाई रुघाखोकी लागिरहेको छ भनेचाहिँ मास्क लगाउनुहोस् ताकि अर्को व्यक्तिसम्म संक्रमण न पुगोस् । मानिसहरू विनाकारण पनि मास्क लगाइरहेका छन् । यसका कारण मास्कको कालोबजारी बढिरहेको छ ।
७. के डोर नबबाट पनि भाइरस संक्रमण हुन सक्छ ?
यसको संक्रमण ड्रपलेट (थोपा)बाट हुन्छ । यदि थोपा हावामा वा कुनै सतहमा भएमा तपार्ईंले त्यसमा हात राखेका कारण पनि संक्रमणको शिकार हुन सकिन्छ । जब तपाई त्यहाँ छोइएको हात मुख र नाकमा लगाउनुहुन्छ, त्यसपछि यसको संक्रमण तपाईको शरीरभित्र पुग्नेछ । यही कारण पटक–पटक हात धुने तथा हातलाई अनुहारमा नलग्ने अपिल गरिराखिएको छ ।