साप्ताहिक संवाददाता
कोरोना भाइरसको जोखिम बढ्ने देखेर भएको लकडाउनका कारण करिब दुई हप्तादेखि फिल्म क्षेत्रका सम्पुर्ण काम ठप्प भएका छन् । चलचित्र प्राविधिक संघका अनुसार योसँगै दैनिक ज्यालादारीमा काम गर्ने फिल्म प्राविधिक र उनीहरुको परिवारलाई जीवनायापनमा समस्या उत्पन्न भएको छ ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अहिले फिल्म क्षेत्रमा करिब ३ हजार ५ सय फिल्म प्राविधिक रहेका छन् । जसमध्ये १ हजार २ सय जना संघसंग आबद्ध छन् । ‘धेरै प्राविधिक साथीहरु लकडाउन हुुनुअघि नै गाउँ फर्किएको सुचना प्राप्त भएको छ,’ अध्यक्ष लामाले भने, ‘तर, स्पटब्वाय, कुक, लाइटम्यान, मेकअप आर्टिस्ट आदि गरेर करिब तीन सयजना काठमाडौंमै रहेको पाएका छौं । धेरैले आर्थिक समस्या उत्पन्न भएको बताइरहेका छन् । त्यसैले यो बेला हामीलाई फिल्मकर्मीको सहयोगको खाँचो छ ।’
लामाले केही दिनयता फिल्मकर्मीलाई लगातार सहयोगका लागि अनुरोध गरिरहेका थिए । आज शुक्रबार बिहानै कलाकार तथा निर्माता दीपकराज गिरीले सहयोगको घोषणा गरेका छन् । उनले प्राविधिकका लागि १ लाख १० हजार रुपैयाँ सहयोगको घोषणा गर्दै फेसबुकमा उनले लेखेका छन्, ‘चलचित्रकर्मी साथीहरु, हामीलाई सुटिङको समयमा भोक लाग्दा खाना खुुवाउने, गर्मी हुँदा छाता ओढाउने, राम्रो देखाउन गह्रुंगो लाइट उचाल्ने प्राविधिकहरुका लागि यो कठिन समयमा केही सहयोग गरौं ।’
एकमुष्ठ सहयोगको आग्रह गर्दै उनले लेखेका छन्, ‘चलचित्र क्षेत्रका इच्छुक साथीहरुले पनि इनबक्स गर्नुहोला ।’