ओम, इमेलबाट
कम्प्युटर प्रयोग गर्नेहरूले सरसर्ती हेर्दा देखिने वस्तुहरूमा सीपीयू, मोनिटर, किबोर्ड, माउस, प्रिन्टर नै हुन् । कम्प्युटरको मुख्य कार्यगत अङ्ग भनेको सीपीयू हो । सीपीयूभित्र कम्प्युटर सञ्चालनका लागि आवश्यक सबै कुरा जस्तै मदरबोर्ड, प्रोसेसर, हार्ड डिस्क आदि राखिएको हुन्छ । यीमध्ये मोडेम पनि एउटा हो । जहाँसम्म मोडेमलाई सीपीयूभित्रै राख्न सकिन्छ अथवा सीपीयूभन्दा बाहिर बेग्लै पनि राख्न सकिन्छ । हिजोआज मोडेम जडान नगरी मदरबोर्डमा नै राख्न थालिएको छ । डिब्बाभित्र राखिने मोडेम सस्तो पर्छ भने बाहिर राखिने मोडेमको मोल केही बढी पर्छ । सूचनाहरू ढिलो वा चाँडो आदान-प्रदान गर्ने कुरो मोडेमको गतिको प्रकारमा भर पर्छ । मोडेमको अर्थ 'मोडुलेटर डिमोडुलेटर' हो ।
कम्प्युटरले छाप्न प्रयोग गर्ने यन्त्र प्रिन्टर कम्प्युटरमा जोडिन्छ र चलाइन्छ । अनि पहिले टाइप गरेर कम्प्युटरभित्र राखिएका अक्षरहरूलाई 'प्रिन्ट गरेर निकाल्नु' भन्ने आदेश दिइन्छ । त्यो आदेश लिने सफ्टवेयर प्रोग्रामले कम्प्युटरभित्र जम्मा भएका अक्षरहरू पालैपालो छाप्ने यन्त्र 'प्रिन्टर' मा पुर्याउँछ । प्रिन्टरले पनि आफ्नो छाप्ने मसी अक्षरजस्तै आकारमा सेता पानामा छर्किन्छ र हामीले छापेको अक्षर पानामा प्रिन्ट भएको पाउँछौं ।