आरिफ, इमेलबाट
युजरले मेल पठाउँदा प्राप्त गर्नेको मेलिंग ठेगाना टाइप गरेको हुन्छ। यसको अर्थ युजरको इमेल सिस्टमले ठेगाना उल्लेख भएको मेल प्राप्त गर्ने व्यक्तिको डोमेन र त्यसको मेल सर्भरको खोजी गर्छ। जब इ–मेल सिस्टमले मेल प्राप्त गर्ने व्यक्तिको मेल सर्भरसँग सम्पर्क गर्छ, पठाउन लागिएको इमेललाई सर्भरका माध्यमबाट जान दिने वा रोक्ने भन्ने मेल सर्भरले निर्धारण गर्छ। यदि मेल प्रापक व्यक्तिको सर्भरले मेल पठाउने व्यक्तिको ठेगानालाई अनावश्यक मेलिङ (स्प्यामिंग) को सूचीमा राखेको रहेछ वा त्यो ठेगानालाई ब्लक गरेको रहेछ भने सर्भरले त्यो म्यासेजलाई अस्वीकार गरिदिन्छ र अन्तत: पठाउने व्यक्तिको इन्बक्समा फर्केर आउँछ।
त्यस्तै जसले मेल प्राप्त गर्ने हो, उसको मेल सर्भर व्यस्त भई मेल पठाइएको समयमा इमेल रिसिभ गर्न सकेन भने पनि इमेल फिर्ता हुन्छ। यसरी प्रापकको मेल सर्भरले इमेल रिसिभ गर्न नपाईकनै फिर्ता भएको इमेललाई हार्ड बाउन्स भनिन्छ। प्रापकको मेल सर्भरले एकपटक स्वीकार गरिसकिएका इमेललाई पनि पुन: फिर्ता पठाउन सक्ने विभिन्न उपाय छन्। प्रापकको ठेगाना उल्लेख भएको मेल सर्भरले उक्त ठेगाना त्यस सिस्टममा चालू छ कि छैन खोजी गर्छ। यदि ठेगाना क्रियाशील भएमा पनि त्यसलाई इमेल प्राप्त गर्ने सुविधा दिने वा रोक्ने व्यवस्था गर्न सकिन्छ। ठेगाना चालू नभएको खण्डमा इमेल स्वत: फर्किहाल्छ। त्यसै गरी मेल पठाउंदा ठेगाना टाइप गर्दा गल्ती भए गलत ठेगानामा मेल जाने वा त्यो गलत ठेगाना पनि चालू नभएमा मेल फिर्ता आउँछ। टाइप गरिएको ठेगानालाई राम्रोसँग दोहोर्याएर जाँच्नु उचित हुन्छ। अत्यन्त गोप्य जानकारीसहितका इमेलहरू असावधानीवश अर्कै ठेगानामा पुगेका थुप्रै उदाहरण छन्। ठेगानाका स्पेलिङ र डट, ड्यास शुद्ध टाइप गरी अक्षरहरूबीच खाली ठाउँ नहुने गरी सबै अक्षरलाई स्मल लेटर मा टाइप गर्नुपर्छ भने असावधानीका कारण कुनै कोड वा ट्याग टाइप भएको छ कि ध्यान पुर्याउनुपर्छ।